वर्तमान सरकारलाई शासन गर्ने अधिकार छैन : सापकोटा

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारलाई निर्वाचन गर्ने मात्रै कार्यादेश भएको उल्लेख गर्दै अरु विषयमा चासो राख्ने कुनै पनि अधिकार नभएको बताएका छन्। एमाओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नियमित प्रवक्ता–सञ्चारकर्मी भेटका क्रममा उहाँले निर्वाचन प्रयोजनका लागि गठन गरिएको सरकारले मुख्य कामलाई पर सारेर अरु विषयमा अल्झनु कुनै पनि हिसाबले ग्राह्‍य नहुने बताए। 
अन्तरिम चुनावी परिषद्लाई शासन गर्ने कुनै पनि कार्यादेश नभएको बताउँदै प्रवक्ता सापकोटाले भन्नुभयो, “विशेष परिस्थितिमा निर्वाचन गर्ने प्रयोजनका लागि मात्रै गठन भएको सरकार शासन गर्न उद्यत देखिएको छ। यसले कोही कसैलाई पनि राम्रो गर्दैन।”

प्रमुख राजनीतिक दलहरूबीच आगामी असारमै संविधान सभाको निर्वाचन गर्ने सहमति भएको दोहोर्‍याउँदै प्रवक्ता सापकोटाले प्रतिक्रियाको राजनीति भएकै कारण असारमा त्यो सम्भव नभएको बताए। मुलुकलाई शासन गर्ने र जनताको असली प्रतिनिधि राजनीतिक दल नै भएकाले जति सक्दो चाँडो संविधान सभाको निर्वाचन गरेर अगाडि बढ्नु नै आजको प्रमुख आवश्यकता भएकोमा जोड दिँदै उनले आगामी कात्तिकको अन्तिम साता वा मङ्सिरको पहिलो साताभित्रै जसरी भए पनि निर्वाचन गर्नुपर्ने बताए।
सरकार र निर्वाचन आयोगले अपरिवर्तनीय मिति तोक्ने भन्दै रकमी कुरा गरिरहेको टिप्पणी गर्दै प्रवक्ता सापकोटाले तत्काल निर्वाचनको मिति तोक्नुपर्नेमा जोड दिए। आगामी असारमा संविधानसभाको नयाँ निर्वाचन किन हुन नसकेको हो, त्यसबारेमा वर्तमान अन्तरिम चुनावी परिषद्ले स्पष्टरुपमा जनतालाई जानकारी दिनुपर्ने उहाँको भनाइ थियो।

एमाओवादी अध्यक्ष प्रदाहालले गर्नुभएको चीन भ्रमणको बृहत् ऐतिहासिक महत्व भएको बताउँदै प्रवक्ता सापकोटाले चीनमा हालै भएको नेतृत्व परिवर्तनपछि एसियाकै पहिलो नेताका रुपमा उहाँको भ्रमण हुनु नेपाल र नेपाली जनताका लागि खुसीको कुरा भएको बताए।
नेपाल र चीनबीच नयाँ अध्यायको सुरु भएको जानकारी दिँदै उहाँले भ्रमणका क्रममा नेपालको जलविद्युत्, उद्योग व्यवसाय, सडक सञ्जाल, विमानस्थललगायतमा लगानी गर्न चीन सरकारलाई अनुरोध गरिएको र उनीहरूले पनि सो प्रस्तावलाई सकारात्मक रुपमा लिएको उल्लेख गरे।
एमाओवादी अध्यक्ष प्रचण्डको भ्रमण अपेक्षा गरेभन्दा धेरै सफल भएको दाबी गर्दै प्रवक्ता सापकोटाले चीन सरकारले नेपालको आर्थिक विकास र उन्नतिका लागि देखाएको चासो अत्यन्तै सकारात्मक भएको बताए।
उच्चस्तरीय राजनीतिक समितिको संयोजकको हैसियतले नै अध्यक्ष प्रचण्डले चीनको भ्रमण गर्नुभएको बताउँदै उनले हरेक विषयलाई नकारात्मक रुपमा हेर्ने प्रवृत्ति नै खराब भएको उल्लेख गरे। रासस

Leave a Reply

Your email address will not be published.