कञ्चनपुरका थारु गाँउमा चरई पूजा

कञ्चनपुर- कञ्चनपुरका दङ्गाली थारु समुदायले आज चरई पूजाको आयोजना गरेका छन्। प्रत्येक वर्षको चैत महिनाको यसै सोमबार गाँउका सबै थारु समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई चरई पूजाको आयोजना गर्दै आएका छन्। वर्षभरीका लागि अन्न खान पुगोस, गाँउमा रोगको महामारी नहोस भनेर पूजाको आयोजना गरिदै आएको पिपलाडीका नरेन्द्र चौधरीले बताए। पूजाका लागि गाँउका घर घरबाट एक जना पुरुष र एक जना महिलाको अनिवार्य उपस्थिति रहने चलन रहेको उनले बताए।
घरमा पाक्ने अन्नका पकवान, तरकारी, सिद्रा माछा, बङ्गुर, कुखुराको मासु, ढिक्री र मदिरालगायत सामग्रीले गाँउका गुरुवा पूजा लगाउने गर्छन्। पूजा लगाइसकेपछि बचेको पकवान पूजामा सहभागीले प्रसादका रुपमा ग्रहण गरी साँझ घर फर्कने गर्छन्। परम्परादेखि नै यो पूजाको आयोजन हुँदै आएको थारु बुढापाकाहरू बताउँछन्। रासस

Leave a Reply

Your email address will not be published.