देउथान भत्काएर सांस्कृतिक महोत्सव सञ्चालन

मुकेश टेंर्रा, कैलाली- सुदूरपश्चिम साहित्य समाजले बृहत साहित्यिक सांस्कृतिक महोत्सव आयोजना गर्न थारू ठन्व्हा (देउथान) भत्काएको खुलासा भएको छ। धनगढी नगरपालिका–५ हसनपुरको चकमेली बजारमा रहेको देउथान भत्काएर समाजले महोत्सव सञ्चालन गर्न मैदान बनाएको हो। सो मैदान बनाउने क्रममा समाजले हसनपुरका थारू समुदायको ‘दुलुवा देउता’ उखेलेर फालेको हसनपुरबासीले जनाएका छन्।

हसनपुरका बुद्धि चौधरीले होली भन्दा केही दिन अघि समाजले डोजर लगाएर आफूहरुको देउता उखेलेर फालेको बताए। थारूको देउथान भत्काएर सांस्कृतिक महोत्सव सञ्चालन गर्न मैदान बनाउने समाजले महोत्सव सञ्चालन गर्ने क्रममा सो देउथान पर्दा लगाएर ढाकेको छ।
अर्काको सांस्कृतिक धरोधर ओझेलमा पारेर आफ्नो संस्कृति मात्रै देखाउन समाजले सांस्कृतिक महोत्सव आयोजना गरेको हसनपुरबासीले आरोप लगाएका छन्। उनीहरुले देउथानबाट देउता उखेर फाल्नु र देउथान पर्दा लगाएर छोपीदिनुले आफूहरुको संस्कृति ओझेलमा पारेको जनाएका छन्।
’देउथान भत्काएर र पर्दाले छोपेर कसरी संस्कृति संरक्षण हुन्छ?“ बुद्धि चौधरीले भने, ’हाम्रो संस्कृति ओझेलमा पारेर पहाडे संस्कृति मात्रै देखाउन खोजिएको छ। साँच्चै सबैको संस्कृति संरक्षण गर्ने उद्देश्य भए हाम्रो देउता उखेलिने थिएन। पर्दाले छेकिनु हुँदैन।“Deuthan
समाजले सो देउथान संरक्षण गर्दै आफ्नो कार्यालय सञ्चालन गर्ने सहमति गरेको भए पनि कार्यक्रम गर्दा भत्काएपछि हसनपुरबासीले प्रज्ञा प्रतिष्ठानलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले आफूले देउथानका रुपमा परापूर्वकालदेखि चर्चेको जमीन प्रतिष्ठानले आफ्नो नाममा गराई साहित्य समाजलाई भाडामा दिएपछि देउथान संरक्षणमा बाधा पुगेको जनाएका छन्। प्रतिष्ठानले सो जमीन हसनपुरबासीलाई फिर्ता दिनुपर्ने माग गरेका छन्।

हसनपुरबासीले साहित्य समाजले भवन बनाउन थालेपछि मात्रै आफूहरुलाई सो जमीन प्रतिष्ठानले आफ्नो नाममा गराइसकेको थाहा भएको जनाएका छन्। आदिवासी जनजाति थारू समुदायको जमीन आफ्नो नाममा गराएर प्रतिष्ठानले अन्याय गरेको हसनपुरका भल्मन्सा बेदप्रसाद चौधरीले बताए। उनले अन्तराष्ट्रिय श्रम संगठनको महासन्धी १६९ ले दिएको अधिकारको आधारमा सो जमीन आफूहरुले फिर्ता पाउनुपर्ने बताए।

साहित्य समाजले भवन बनाउ“दा मिलेर सञ्चालन गर्ने सहमति गरेपनि त्यहाँ विभिन्न क्रियाकलाप गर्दा आफूहरुलाई कहिल्यै नसोधेको र एकलौटी ढंगले गर्ने गरेको स्थानीय बुद्धि चौधरीले बताए। उनले साहित्य समाजले एकलौटी रुपमा काम गर्ने क्रममा आफूहरुको देउता उखेलेको जनाए।
निःशुल्क बैठक हल दिने, देउथान संरक्षण गर्न आर्थिक सहयोग गर्ने, एउटा कोठा देउथानका लागि दिने सहमतिमा साहित्य समाज र हसनपुरबासीको जमीन विवाद टुंगिएको थियो। समाजले देउथान भत्काएपछि पुनः सो जमीनको विवाद शुरु भएको हो। समाजले सहमति अनुसार अझैसम्म आफूहरुले कुनै सहयोग नगरेको र उल्टै देउथानमाथि धाबा बोलेको हसनपुरबासीको आरोप छ। उनीहरुले क्षतिपूर्ति सहित जमीन फिर्ता पाउनुपर्ने माग गरेका छन्।
सुदूरपश्चिमको साहित्य र संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यका साथ साहित्य समाजले नवनिर्मित भवन उद्घाटनको अवसरमा शनिबारदेखि बृहत साहित्यिक सांस्कृति महोत्सव आयोजना गरेको छ। महोत्सव सोमबार सम्पन्न हुँदैछ।

Leave a Reply

Your email address will not be published.