राष्ट्रपतिको भारत भ्रमण

काठमाडौं- राष्ट्रपति रामवरण यादव भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा यही पुस ९ गते सोमबार भारतको औपचारिक भ्रमण सुरु गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार राष्ट्रपति डा यादव पुस १० गते बनारस हिन्दु विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति मुखर्जीका साथ अतिथिका रुपमा सरिक हुनुहुने कार्यक्रम छ। 
बनारस हिन्दु विश्वविद्यालका संरक्षक एवम् शिक्षाविद् पण्डित मदन मोहन मालाभियाको १५० औँ जन्मजयन्तीका अवसरमा यो दीक्षान्त कार्यक्रम आयोजना गर्न लागिएको हो। राष्ट्रपति डा यादवले सो विश्वविद्यालयले प्रदान गर्ने मानार्थ विद्यावारिधि उपाधि ग्रहण गर्नुहुनेछ।
पुस ११ गते राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री डा मनमोहन सिंहसँग पनि भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री सिंहले आयोजना गर्नुहुने रात्रिभोजमा पनि उहाँ सरिक हुनुहुनेछ।
राष्ट्रपति यादवले भारतीय उपराष्ट्रपति, वरिष्ठ मन्त्रीहरु, युनाइटेड प्रोगेसिभ एलाइन्सका अध्यक्ष, विपक्षी दलका नेता तथा पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले बताएको छ।
भ्रमणका क्रममा राष्ट्रपति डा यादवले मध्यदिल्लीस्थित अल इन्डिया इन्स्टिचयूट अफ मेडिकल साइन्समा नियमित स्वास्थ्य परीक्षण गराउनु हुनेछ। साथै नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजना हुने समारोहमा राष्ट्रपति सहभागी हुनुहुनेछ।
राष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी सुपुत्री अनिता यादव, मन्त्री मेहन्द्र यादव, सल्लाहकारद्वय राजेन्द्र दाहाल र हरि शर्मा, निजी सचिव ललित बस्नेत, राष्ट्रपति कार्यालयका सचिव, शिष्टाचार महापाल र अन्य वरिष्ठ अधिकारी पनि सामेल हुनुहुन्छ। राष्ट्रपति डा यादव पुस १४ गते शनिबार स्वदेश फर्कनु हुनेछ। रासस

Leave a Reply

Your email address will not be published.