अमेरिका हान्न उत्तर कोरियाली सेनालाई अनुमति

NKOREA-SKOREA-US-MILITARY-MISSILE-FILESसोल, एजेन्सी- उत्तर कोरियाले आफ्नो सेनालाई अमेरिकामाथि आणविक आक्रमण गर्ने अनुमति दिएको बिहीबार जनाएको छ। उत्तर कोरियाले आक्रमणको अनुमति दिएको बताइरहँदा अमेरिकाले भने कोरियाली क्षेत्रमा सुरक्षा सशक्त बनाउन मिसाइल रक्षा प्रणाली ग्वाम पठाएको छ। उत्तर कोरियाली सेनाले जारी गरेको वक्तव्यमा अमेरिकाको आक्रामक नीति र आणविक खतरा निमिट्यान्न पार्न ‘निर्मम अभियानको अनुमति दिइएको’ उल्लेख छ। उत्तर कोरियाली सेनाले कोरियाली प्रायद्विपमा ‘आज वा भोली’ नै युद्ध सुरु हुने जनाएको छ।

उत्तर कोरियाले मुसुडान मिसाइल रेलबाट समुद्र तटतर्फ लगेको छ। उत्तर कोरियाले मिसाइल प्रक्षेपण केन्द्र उत्तरपूर्वी समुद्र तटमा निर्माण गरेको छ। उक्त प्रक्षेपण केन्द्रबाट उसले लामो दूरिका रकेट परीक्षण गर्दै आएको छ। तर योनहाप न्युज एजेन्सीले ती मुसुडान मिसाइल प्रक्षेपण केन्द्रमा लगेनलगेको उल्लेख गरेको छैन। जापानको आसाही सिम्बुन दैनिकका अनुसार बिहीबार उत्तर कोरियाले लामो दूरीका जस्तो देखिने मिसाइल पूर्वी समुद्र तटतर्फ लगेको जनाएको छ।
अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषदकी प्रवक्ता क्याटलिन हेडनले उत्तर कोरियाको उत्तेजक भनाईबाट तनाव साम्य हुनु साटो अझै चर्काउने बताइन्। यसैगरी दक्षिण कोरियाली राजधानी सोलबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियासँग अमेरिकामाथि प्रहार गर्नसक्ने रकेट वा हतियार भएको जनाएका छन्।
उत्तर कोरियाले आफ्नो मिसाइल प्रणालीलाई आक्रमणका लागि तम्तयार रहन आदेश जारी गरेको छ। प्रशान्त महासागरस्थित टापु ग्वाममा अमेरिकाले अत्याधुनिक मिसाइल रक्षा प्रणाली तैनाथ गरेको बताएपछि उत्तर कोरियाले आफ्नो मिसाइल प्रणालीलाई तम्तयार रहन आदेश दिएको हो। केही दिनअघि मात्र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले केही साताभित्र उत्तर कोरियाली आक्रमणको खतरा निस्तेज पार्न थाड(ब्यालेस्टिक टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स सिस्टम) ग्वाममा तैनाथ गर्ने जनाएको थियो।
उत्तर कोरियाले फेब्रुअरीमा सफलतापूर्वक तेस्रो आणविक परीक्षण गरेको थियो। परीक्षणलगत्तै संयुक्त राष्ट्र संघले उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाएको थियो। उत्तर कोरियाको बढ्दो सामरिक क्रियाकलापबाट सशंकित दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक अभ्यास गरेका थिइए। सैनिक अभ्यासबाट चिढिएको उत्तर कोरियाले दुई साताअघि दक्षिण कोरिया र एक साताअघि मात्र अमेरिकामा आक्रमण गर्ने धम्की दिएको थियो। उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ने धम्की दिएलगत्तै दक्षिण कोरियासँगको सैनिक हटलाइन टेलिफोन सम्पर्क युद्धको स्थिति रहेको भन्दै विच्छेद गरेको थियो।
दक्षिण कोरियासँग संयुक्त सञ्चालन गरेको केसाङ औद्योगिक क्षेत्रमा दक्षिण कोरियाली मजदुरलाई उत्तर कोरियाले बुधबार प्रवेश गर्न दिएको थिएन। दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त रुपमा सीमानजिकै स्थापित औद्योगिक क्षेत्र सन् २००० देखि सञ्चालनमा छ। औद्योगिक क्षेत्रमा एक सय २३ कम्पनीमा ५० हजार उत्तर कोरियाली कामदारले रोजगारि पाएका छन्। उक्त औद्योगिक क्षेत्रमा सस्ता सामान उत्पादन गरिन्छ।

अमेरिकी प्रतिक्रिया
उता पेन्टागनले उत्तर कोरियाली धम्कीलाई ध्यानमा राख्दै अमेरिका पूर्णतया सतर्क रहेको, आफ्नो भूभाग र राष्ट्रिय हित तथा सहयोगी देशको रक्षा गर्न तयार रहेको जनाएको छ। केही दिनयता उत्तर कोरियाले प्रशान्त महासागरीय क्षेत्रको अमेरिकी टापु ग्वामस्थित अमेरिकी सैनिक अखडा र हवाई राज्यमाथि आक्रमणको धम्की दिँदै आएको छ। अमेरिकी रक्षामन्त्री चक हेगेलले उत्तर कोरियाका कारण अमेरिकालगायत दक्षिण कोरिया र जापानका लागि खतरा उत्पन्न भएको बुधबार बताएका थिए।
गएको महिना अमेरिकी रक्षामन्त्री हेगेलले उत्तर कोरियाली आक्रमणको सम्भावना ध्यानमा राखी अलास्कामा १४ मिसाइलरोधी प्रक्षेपास्त्र र मिसाइल रक्षा राडार प्रणाली जापानमा तैनाथ गर्न पेन्टागनको तयारीबारे बताएका थिए।
तर ती मिसाइल प्रहारका लागि प्रक्षेपास्त्रमा जडान गरेनगरेको प्रस्ट छैन। साथै उत्तर कोरियाले ती मिसाइल आक्रमणका लागि वा धम्काउनका लागि समुद्र तटतर्फ लगेको समेत प्रष्ट नभएको योनहापले दक्षिण कोरियाली अधिकारीलाई उधृत गर्दै जनाएको छ।
उत्तर कोरियाली मुसुडान मिसाइलले तीन हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ। उक्त मिसाइलले दक्षिण कोरिया र जापानलाई आफ्नो निसाना बनाउन सक्छ। साथै उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी सैन्य अखडा ग्वाममा समेत प्रहार गर्न सक्छ। स्वतन्त्र पर्यवेक्षकले अहिलेसम्म उत्तर कोरियाले मध्यम दूरिका मिसाइल परीक्षण नगरेको बताउँदै आएका थिए। दक्षिण कोरियाको रक्षा मन्त्रालयले यसबारे कुनै टिप्पणी गर्न अस्विकार गर्‍यो

Leave a Reply

Your email address will not be published.