सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनलमा

parash khdkaकाठमाडौं- नेपालले आउँदो नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी-२० कपको छनौट खेल्ने भएको छ। आजको खेलमा सिंगापुरलाई १२१ रनको विशाल अन्तरले पराजित गरेर सेमिफाइनल प्रवेश गरेसँगै नेपालले यो मौका पाएको हो। काठमाडौँमा भइरहेको एसिसी ट्वान्टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत शीर्ष दुई टिमले विश्व ट्वान्टी-२० मा खेल्ने मौका पाउँछ। अफगानिस्तान एक दिवसीय खेल खेल्न पाउने राष्ट्र भएको र युएई आयोजक राष्ट्र भएकोले यसअघि नै विश्व ट्वान्टी-२० मा सीधै खेल्न पाउँछ। त्यसबाहेक सेमिफाइनलमा पुग्ने हङकङसहित नेपालले छनौट खेल्न पाउने भएको हो।
त्रिभुवन विश्वविद्यालय मैदानमा भएको आजको खेलमा सिंगापुरलाई १२१ रनले हराउँदा रन अन्तरमा नेपालको ट्वान्टी २० मा यो सबैभन्दा ठूलो विजय थियो। नेपालले सिंगापुरलाई निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २११ रनको लक्ष्य दिएको थियो। यो यस प्रतियोगिताकै विशाल लक्ष्य थियो।
विनोद भण्डारीको अर्धशतकसँगै कप्तान पारस खड्काको ४४, उपकप्तान ज्ञानेन्द्र मल्लको ११ बलमै चार छक्का र १ चौकासहित ३० रनको आक्रामक पारी, शरद भेषावकरको ११ बलमा ३ छक्कासहित २६ रन अनि प्रदीप ऐरीको ३० रनको मद्धतले नेपालले ठूलो स्कोर खडा गर्न सकेको हो।
सुरुवाती ब्याट्सम्यान सुवास खकुरेल पाँच रनमा आउट भएका थिए। तर उनी पछिका ब्याट्सम्यानहरुले नेपाली पारीलाई धर्मराउन दिएनन्। फलस्वरुप नेपालले विशाल स्कोर खडा गरी सिंगापुरलाई मैदानमा उत्रनु अघि नै रक्षात्मक स्थितिमा पुर्‍याइदियो।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर १५.१ ओभरमा ८९ रनमै समेटिन बाध्य बनाए नेपाली बलरहरुले। बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए भने शक्ति गौचनले २ र चन्द्र साउद, पारस खड्का, पृथु बाँस्कोटा र सागर पुनले एक-एक विकेट लिए। आजको खेलको लाइभ अपडेट नागरिकन्युजले त्रिवि क्रिकेट मैदानबाट गरेको थियो।
नेपालले युएइ वा अफगानिस्तानमध्ये एकसँग मंगलबार सेमिफाइनल खेल्नेछ। समूह बी को उपविजेता बनेको नेपालले मंगलबार हुने सेमिफाइनलमा युएइको सामना गर्ने सम्भावना बलियो छ। यसअघि ३ वटै खेल जीतेको युएईले आज कमजोर बहराइनलाई सजिलै हराउने अनुमान गरिएकोले नेपालको युएईसँगको भेट लगभग पक्का देखिएको छ।

Leave a Reply

Your email address will not be published.