कम्बोको कहानी

compदश वर्षअघि कम्प्युटरमा सीडी रोम प्लेयरबाट सीडी राइटरमा अपग्रेड हुनु नै अनौठो मानिन्थ्यो। त्यसपछि आयो डीभीडी। डीभीडी प्लेयर र सीडी राइटर कम्प्युटरमा जोड्नु प्रतिष्ठाको विषय हुन थालेको थियो। कम्प्युटरमा कम्बो भन्ने शब्द नेपाली समाजमा यहीबाट सुरु हुन्छ। कम्बो अर्थात् कम्बिनेसन। एउटै डिभाइसलाई बहुआयामिक तरिकाले प्रयोग गराउन सक्नु नै कम्बोको विशेषता हो। सीडी राइटर र डीभीडी प्लेयरबाट लोकप्रिय हुन सुरु गरेको कम्बो ग्याजेट्स प्रयोगकर्ताका लागि अहिले सामान्य भइसकेको छ। प्रविधिको विकासमा कम्बिनेसनविना कुनै कुरा सम्भव छैन अब। मोबाइलमा क्यामरा, क्यामरामा थ्रीजी, स्टिल क्यामरामा भिडियो, कम्प्युटरमै क्यामरा अनि यस्तैखाले थुप्रै विशेषता! यी सबै एकै डिभाइसमा समेटिन थालेका छन्।
कम्बोको यो शृंखलामा पछिल्ला ग्याजेटहरू नसमेटिने त कुरै भएन। हो, तपार्इंको हातमा आइसकेको अथवा अब आउने क्रममा रहेको कुनै पनि ग्याजेट कम्बोरहित हुन सक्दैन। ट्याब्लोइड यसको पछिल्लो पुस्ता बन्न पुगेको छ। पुरानो कम्प्युटर र नयाँ ट्याब्लोइड पनि जोडिएर आएको छ अहिले। यसै साता डेलले ब्याट्री पावर्ड अल इन वन सार्वजनिक गरेको छ।
डेलले ल्याएको एक्सपीएस १८ सोनी, लेनेभो र असुसकै वर्गमा उभिएको छ– अल इन वन। यो ल्यापटप हो। यो ट्याब्लोइड हो। विश्लेषकहरूले यसलाई हाइब्रिड ट्याब्लोइडका रूपमा व्याख्या गरेका छन्। हुन पनि यी सबै डिभाइसले ठूलो कम्प्युटरबाट गर्न सकिने सबै काम गर्छ र हातमा लिएर औँला डुलाउने ट्याब्लोइडको काम पनि पूरै भ्याउँछ। अब सबै काम एउटै डिभाइसबाट पूरा हुनसक्छ किन धेरै डिभाइसमा पैसा खर्चने? राख्ने ठाउँको झन्झट किन बेहोर्ने? यी सबै कम्बो डिभाइस प्रयोग हुँदा ब्याट्री, विन्डोज ८ र टचस्त्रि्कनको सुविधा दिन सकिन्छ। सोनी भायो ट्याप २० र डेलको यो डिभाइसबीच धेरै समानता भेटिन्छन्।
डेलले गरेको दाबीअनुसार यो डिभाइसमा प्रयोग भएको ब्याट्रीले पाँच घण्टा पूरै कम्प्युटर चलाउन सकिन्छ। फिल्म हेर्नुहुन्छ? त्यसो हो भने तीन घण्टा ३० मिनेटसम्म यसको मजा लिन सक्नुहुन्छ।
तपाईंले लेनेभोको के ८०० बारे थाहा पाउनुभएको होला। यो अर्को नमुना हो कम्बोको। पहिलो इन्टेल मोडिफाइड फोन एन्ड्रोइडमात्र होइन, १३ मेगा पिक्सेल क्यामराका लागि पनि चर्चित रह्यो। दुई जीबी प्रोसेसर रहेको यो मोबाइलको प्रमुख उद्देश्य कुराकानीभन्दा पनि राम्रा तस्बिर खिच्नु थियो।
स्मार्टफोन कति स्मार्ट हुने? प्रतिस्पर्धा स्मार्टफोनमा मात्र रहेन। मतलब मोबाइलमा क्यामरा हुनु ठूलो कुरा होइन अहिले। दश वर्षको अन्तराललाई बिर्सने हो भने यो अद्भूत विकास हुने थियो। तर, अब स्मार्ट डिभाइस फोनबाट अरूतिर पनि सर्दै गएका छन्। उदाहरणका लागि सामसुङ ग्यालेक्सी क्यामरा। १६ मेगापिक्सेल क्षमताको यो क्यामरा एन्ड्रोइड फोनभन्दा कम छैन। वाइफाई सुविधासहितको यो ग्याजेटमा युट्युब भिडियो चलाउन सकिन्छ। गुगल प्ले स्टोरसमेत उपलब्ध हुने यो डिभाइसमा इमेल हेर्न, नेटफिक्स फिल्म हेर्न सकिन्छ। गुगलको क्रोम ब्राउजरका रूपमा प्रयोग गर्न सकिने भएकाले यो कम्बोको गतिलो उदाहरण बनेको छ। फेसबुक, पिकासा वा फ्िलकरका लागि पनि यसको प्रयोग हुनसक्छ।
पोइन्ट एन्ड क्लिक क्यामरामात्र होइन, डिएसएलआर क्यामरा पनि स्मार्ट हुने क्रम सुरु भइसकेको छ। क्याननले मार्क २ ल्याउँदा इन्टिग्रेटेड भिडियोलाई उच्च प्राथमिकता दियो। यसअघि आएका डीएसएलआरले पनि भिडियोलाई प्राथमिकता दिन थालेका थिए। स्टिल क्यामराबाट उच्चस्तरीय भिडियो खिच्न सकिने भएपछि आहिले धेरैखाले सिनेमा र डकुमेन्ट्रीहरूमा यसको प्रयोग बढ्न थालेको छ।
कम्बो हुने क्रममा डिभाइसले मानिसको जीवनमा धेरैखाले सहजता थप्दै लगेको छ। समयदेखि लगानी र स्पेसको बचत यसको विशेषता बनेको छ। साना चिप्समा समेटिने कन्टेन्टहरूको गुणस्तरमा कमी हुनुको साटो झन् बढ्दै गएका छन्। कुनै समय कम्बो ग्याजेट छ भन्दा गौरव गर्नुपर्ने दिन अनौठो बनेको छ। हुन पनि कम्बोविनाका कुरा चाहिँ के होला र?

Leave a Reply

Your email address will not be published.