आक्रमण धम्कीबारे अमेरिका गम्भिर

039_28M_KOREAN ARMY PHOTOSHOP.1वासिङटन, एजेन्सी– अमेरिकाले प्रशान्त महासागर क्षेत्रस्थित अमेरिकी सैनिक अखडामा आक्रमण गर्ने उत्तर कोरियाली धम्कीबारे गम्भिर भएको बुधबार जनाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जर्ज लिटलले अमेरिका कुनै पनि आपतकालीन स्थिति सामना गर्न तयारी अवस्थामा रहेको बुधबार बताएका छन्। उनले उत्तर कोरियालाई आक्रमणको धम्की नदिन आग्रह समेत गरे। प्रवक्ता लिटलका अनुसार उत्तर कोरियाको व्यवहारबाट उसैको अहित भइरहेको छ।
प्रवक्ता लिटलले तनाव बढाउने र अरुलाई उत्तेजित पार्ने योजना अनुसार उत्तर कोरियाले उत्तेजक व्यवहार र धम्की दिइरहेको आरोप लगाए। लिटलका अनुसार उत्तर कोरियाका यस्ता उत्तेजक व्यवहार र धम्कीबाट उसले कुनै उपलब्धि हासिल नगर्ने समेत उल्लेख गरे। यस्तो व्यवहारबाट विश्वमा उत्तर कोरिया अझै अलग्गिँदै जाने लिटलले जनाए। उनले यस्तो व्यवहारबाट पूर्वोत्तर एसियामा अशान्ति र अस्थिरता आउने प्रष्ट पारे।
यसअघि उत्तर कोरियाली सरकारले मिसाइल, रकेटलगायत लामो दूरिसम्म प्रहार गर्ने हतियार हाई एलर्टमा राखेको जनाएको थियो। उत्तर कोरियाले प्रशान्त महासागर क्षेत्रस्थित अमेरिकाका रणनीतिक महत्वका सैनिक अखडामा सम्भावित आक्रमणका लागिसेना र हतियार उच्च सतर्कताको स्थितिमा राखेको बताएको थियो।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले सेनालाई हवाई, ग्वामलगायत अमेरिकामा आक्रमणका लागि तयार रहन आदेश दिएको उल्लेख गरेको छ। केही दिनयता उत्तर कोरियाद्वारा भइरहेको उत्तेजक व्यवहार र भनाइपछि उसको ताजा भनाई सार्वजनिक भएको हो।
गएको महिना उत्तर कोरियाले तेस्रो आणविक परीक्षण गरेको थियो। उसको लगातारको आणविक परीक्षण र सैनिक अभ्यासपछि कोरियाली प्रायद्विपमा दक्षिण कोरियासहित जापानमा तनाव बढेको छ। आणविक परीक्षणपछि संयुक्त राष्ट्र संघले समेत उत्तर कोरियाविरुद्ध कडा नाकाबन्दी लगाएको छ।
आक्रमणको धम्कीपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक अभ्यास गरेका कारण क्रुद्ध उत्तर कोरिया उत्तेजक भनाइ सार्वजनिक गर्दै आएको छ। उसले गएको साता अमेरिका र जापानमा रहेका अमेरिकी सैनिक अखडामा आक्रमण गर्ने धम्की दिएको थियो।
उत्तर कोरियासँग अमेरिकासम्म प्रहार गर्ने आणविक र अन्य हतियार नभए पनि मध्यम दूरिका मिसाइलबाट प्रशान्त क्षेत्रस्थित अमेरिकी सैनिक अखडामा प्रहार गर्न सक्षम रहेको पर्यवेक्षकको अनुमान छ। उत्तर कोरियाली धम्कीपछि अमेरिकाले मिसाइल प्रतिरक्षा प्रणाली बलियो बनाउन थप १४ मिसाइल तैनाथ गर्ने गएको साता जनाएको थियो।

Leave a Reply

Your email address will not be published.