कठिनाइमा नेपाल

cricketविनोद पाण्डे- हङकङसँग घरेलु समर्थकका अगाडि पाएको पराजयले नेपाल पुनः अप्ठ्यारो स्थितिमा पुगेको छ। प्रतियोगिताको दोस्रो दिनको खेलमा सजिलै ६ विकेटले पराजित भएपछि ट्वान्टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाललाई एसीसी ट्वान्टी–२० को समूह चरण पार गर्नै कठिन हुने देखिएको छ।
अफगानिस्तान एकदिवसीय मान्यता प्राप्त राष्ट्र हो। त्यसबाहेक यूएईले नोभेम्बरमा विश्व ट्वान्टी–२० को छनोट चरण आयोजना गर्दैछ। एसीसी ट्वान्टी–२० मा अफगानिस्तान र यूएईबाहेक शीर्ष दुई टोली विश्व ट्वान्टी–२० छनोटमा पुग्नेछन्। तसर्थ नेपाललाई कम्तीमा एसीसी ट्वान्टी–२० को सेमिफाइनल पुग्न आवश्यक हुन्छ।
नेपालले शनिवार मलेसियासँग र आइतवार सिंगापुरसँग खेल्नेछ। मलेसियाका प्रशिक्षक रोय डायस हुनाले नेपाललाई त्यति सजिलो नहुन सक्छ। डायस झन्डै १० वर्ष नेपालको प्रशिक्षक रही २०१० को समाप्तिसँगै फर्किएका थिए। पछिल्लो पटक उनी ओमानको प्रशिक्षक भएर आउँदा नेपाललाई पराजित गरेका थिए। नेपाललाई सेमिफाइनलमा पुग्न कति अप्ठ्यारो छ? हङकङसँगको खेलमा पराजय भएपछि नेपालका प्रशिक्षक पुबुदु दासानायकेले सहज रूपमा भने, ‘बाँकी दुई खेल जित्यो भने हामी सेमिफाइनल पुग्छौँ।’
यथार्थमा हङकङसँगको जस्तो खेल खेलेमा नेपाललाई बाँकी दुई खेल निकै कठिन हुनेछ। राम्रो सुरुआत गर्न नसक्नु नेपालको पुरानै समस्या बन्यो। माल्दिभ्ससँगको खेलमा पावर प्लेमा विनाक्षति ८० रन बनाएको नेपालले हङकङसँग १ विकेट गुमाई ३२ मात्र बनाउन सक्यो। त्यसमा मध्यपंक्तिले कमजोर सुरुआतलाई तान्न सकेनन्।
प्रदीप ऐरीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ७६ रनले पराजित गरेको थियो। प्रदीपले २१ बलमै अर्धशतक बनाएपछि टस हारेर ब्याटिङ गर्न आएको नेपालले ५ विकेट गुमाई १ सय ७१ रन बनायो। जवाफमा माल्दिभ्सलाई ७ विकेटमा ९५ रनमात्र बनाउन दियो। ट्वान्टी–२० मा नेपालको यो दोस्रो उच्च स्कोर हो। सन् २०११ को पछिल्लो संस्करणमा नेपालले साउदी अरेबियाविरुद्ध बनाएको १ सय ८३ रन उच्च स्कोर थियो।
प्रदीपको अर्धशतक नेपाली खेलाडीको दोस्रो छिटो बनेको अर्धशतक थियो। दुई वर्षअघि महबुब आलमले साउदी अरेबियाविरुद्ध २० बलमै अर्धशतक बनाएका थिए। प्रदीपले २६ बलमै ५९ रन बनाए। उनले ८ चौका र ४ छक्का प्रहार गरे। गत वर्ष दुबईमा विश्व ट्वान्टी–२० छनोटमा ओपनरका रूपमा खेल्दै डेनमार्कविरुद्ध आफ्नो पहिलो अर्धशतक बनाएका प्रदीप अस्ट्रेलियामा भएको आईसीसी यु–१९ विश्वकपमा प्रारम्भिक ब्याटिङमा जम्न नसकेपछि उनले मध्यक्रममा खेल्न सुरु गरेका थिए।
हङकङसँग पनि प्रदीपले २१ रन बनाए। ज्ञानेन्द्र मल्लले ३८ रन बनाए पनि बाँकी नेपाली ब्याट्सम्यान फिका देखिए। पछिल्ला दुई ट्वान्टी–२० र एसीसी ट्रफी एलिटमा हङकङलाई नेपालले पराजित गरेको थियो। त्यसबाहेक विश्व ट्वान्टी–२० लाई यसअघि नै छनोट भइसकेको युएई र अफगानिस्तानले पहिलो रोजाइका केही खेलाडीलाई आराम दिएकाले नेपाललाई दाबेदार मानिएको थियो। हङकङसँगको पराजयले अहिले सेमिफाइनलमा पुग्नु नै नेपालको मुख्य लक्ष्य भएको छ।
पारसको एक सय विकेट
माल्दिभ्स कमजोर प्रतिद्वन्द्वी भए पनि प्रदीपको इनिङलाई पन्छाउन नमिल्ने बताउँछन्, पारस खड्का। प्रदीपको सानदार इनिङबाहेक माल्दिभ्ससँगको खेल पारसकेन्द्रित रहयो। राष्ट्रिय टोलीबाट १ सय खेल्दै पारसले १ सय विकेट पनि पूरा गर्दै दोहोरो कोसेढुंगा पार गरेका हुन्। माल्दिभ्सको पहिलो विकेट लिँदै उनले आफ्नो विकेट संख्या १ सय पुर्‍याए। पारसले ६० एकदिवसीयमा ६३, ११ तीनदिवसीयमा १३ र २९ ट्वान्टी–२० मा २५ विकेट लिइसकेका छन्। मध्यम गतिको बलिङ गर्ने पारस आवश्यकताअनुसार अफ स्पिन पनि बलिङ गर्छन्।

Leave a Reply

Your email address will not be published.