पाकिस्तान फर्किए मुसर्रफ

Pakistan Musharrafमिरान्साह, एएफप- पाँच वर्षदेखि स्वघोषित निर्वासनमा रहेका पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रफको पाकिस्तान फर्कदैछन्।
मुसर्रफले केही दिनअघिमात्र पाकिस्तान फर्किने घोषणा गरेलगत्तै तालिवानीले स्वदेश फर्किए उनको हत्या गर्ने धम्की दिएका थिए । पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा भाग लिन स्वदेश फर्कने घोषणा गरेका ६९ वर्षीय मुसर्रफले आफू जुनसुकै खतरा सामना गर्न तयार भएको बताएका छन्।
यदि उनी स्वदेश फर्किएमा र निर्वाचनमा सहभागी भएमा उनको हत्यागर्ने धम्की तालिवानीले शनिबार सार्वजनिक गरेका थिए।
यसअघि पनि उनी पाकिस्तानमा रहँदा सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा रहेका कट्टरपन्थी मुस्लिमले तीनपटकसम्म आक्रमण गरेका थिए। हरेक आक्रमणबाट उनी बचेका थिए।
राष्ट्रपति रहँदा उनले अमेरिकी योजनाअनुसार आतंकवादविरुद्धको कारबाहीका क्रममा अमेरिकी सेनालाई सघाएको भन्दै त्यसबेला मुसर्रफलाई आक्रमण गरिएको थियो।

मुसर्रफले सन् १९९९ मा रक्तपातविहीन तरीकाले सैनिक कूबाट शासन आफ्नो हातमा लिएका थिए। सन् २००८ अगस्टमा असिफ अलि जर्दारी राष्ट्रपतिमा निवार्चित भएपछि उनले सत्ता छाडेका थिए। त्यसपछि उनी पाँच वर्षदेखि निर्वासनमा थिए।
मुसर्रफले आफ्नो गृहनगर कराँचीमा फर्कने जनाएका छन्। अशान्त बन्दै गएको पाकिस्तानमा तुलनात्मक रूपमा कराँची खतरनाक सहरका रूपमा चिनिन्छ। पाकिस्तानको आर्थिक सहरसमेत भनेर चिनिने कराँचीमा हत्या र आक्रमणका कैयौं घटना भइरहेका छन्।

 

Leave a Reply

Your email address will not be published.