घुम्न जाऔं ठाकुरद्वारा (फोटो फिचर)

अमृत भादगाउँले (शब्द/तस्बिर)- बिहान जंगल सफारीमा जानुपर्छ। मोबाइल फोनमा अर्लाम सेट गर्नै पर्छ। तर, त्यसले निन्द्रा बिथोलिदिन्छ। निन्द्रा पुगेकै हुन्न, उठ्न हतार भइहाल्छ। त्यहाँको शान्त वातावरणमा मुड फ्रेस हुन्छ। मिठो निन्द्रा पर्छ। त्यसैले व्यस्त दैनिकी पन्छाएर हयाङ आउट हुन बर्दियाको ठाकुरद्वारा प्रकृतिको उपहारै हो। मलाई विश्वास छ, ओच्छ्यान फेरिएपछि निन्द्रा लाग्दैन भन्नेहरु पनि ठाकुरद्वारा पुगे भने मज्जाले निदाउनेछन्! ०६६ मंसिर यता म ५ पटक त्यहाँ पुगें, ४ पटक रात बिताएँ। चारै पटक भुसुक्कै निदाएँ। बिहान उठ्न गाह्रो भयो।   
thakurdaar- bardiya-1गत फागुन २८ को बिहानी पनि त्यस्तै भयो। अर्लाम बजेपछि म उठेर नुवाइधुवाइ गरिसक्दा समेत साथी तुफान न्यौपाने बेडमै घुरिरहेका थिए। आखिर निन्द्रा जति मिठो अरु के छ र! ब्रेकफास्टपछि हात्ती चढ्ने योजना पूरा भएन। बर्दिया राष्ट्रिय निकुञ्जका १७ हात्तीमध्ये १२ वटामा जंगल सफारी गराइन्छ। अघिल्लो दिन पाहुनाको हुलले हात्ती बुक गरिसकेकाले हामीले बिहान हात्ती सफारीको अवसर पाएनौं। हात्ती अघिल्लो दिनै  बुक गर्नुपर्छ।
हामी जिपमा बस्यौं। पर्यटनकर्मी साथी मोहन थारुले हाँके। हात्तीसारहुँदै डल्ला गाउँ पुग्यौं। बीच बाटोमा नेचर गाइड रामबहादुर शाही थपिए। नेपाल पंछीविद् संघका मध्य र सुदूरपश्चिम संयोजक रहेछन् उनी। जंगल घुम्दा गाइड लान बिर्सनुहुँदैन। उनीहरुबाट धेरै बु‰न सकिन्छ। डल्ला गाउँहुँदै हामी शिव सामुदायिक वन पुग्यौं। जब जिपबाट ओर्लियौं, तब थाहा पायौं, हामी जंगल ड्राइभमा होइन, वाकमा पो आएका रहेछौं। मोहनजीले गैंडा देखाउन ल्याएका। वन कर्मचारीसँगै लौरो बोकेर जंगल छिर्‍यौं। जंगलमा उज्याला रंगका कपडा लाउनु हुँदैन भन्ने बिर्सेछु। म उज्यालो रङको सर्टमा थिएँ। ‘गैंडा, हात्तीजस्ता जनावर चम्किला कपडातिर आर्कषित हुन्छन्। खतरा हुन्छ,’ नेचर गाइड शाहीले भने ‘जंगल घुम्दा हरियो रङको कपडा लाउनुपर्छ।’ thakurdaar- bardiya-2
आई त हालें फर्किने कुरा भएन, डराइडराई हिँडें। चराको स्वर्ग भन्न मिल्ने रहेछ वनलाई। थरीथरीका चरा देखिए। शाही एक–एक गरी तीनको नाउँ र आनीबानी बताउन थाले। यहाँ ४ सय ६७ प्रजातिका चरा छन्। विदेसी हप्तौंसम्म यतै बसेर बर्ड वाचिङ गर्छन्। नेपालीहरु चरामा त्यति रुचि दिँदैनन्। गैंडा देख्न पाए रमाउँछन्।
हामी पनि गैंडा खोज्न निस्केका। दुई घन्टा डुलिसक्दा पनि देखिएन। बरु जंगली हात्तीले हाँगाबिँगा भाँचेको आवाज सुनियो। त्यतै लाग्यौं। सुस्तरी आवाज पच्छयायौं। पर हात्तीको हुल देखियो। हात्तीले आक्रमण गर्न सक्छ। मनभित्रको डरलाई फोटो खिच्ने लोभले जित्यो। मोहन र वन कर्मचारी यतै बसे। हामी गाइड पछि लाग्यौं। करिब २५ मिटर दुरीबाट रुखको छेल परेर तस्बिर खिचें। जंगलभित्र फोटो राम्रो आएन तर, नजिकैबाट हात्ती हेर्न पाउँदा ठूलै बाजी जिते झैं भयो।
त्यहाँबाट फर्कियौं। डल्लामा आमा समूह फूलमाला लिएर बसेको रहेछ। उनीहरुका आङमा परम्परागत पहिरन सुहाएको थियो। हामीलाई होमस्टे व्यवस्थापन समितिका सचिव सालिकराम थारुले होमस्टेबारे बताए। अर्कोपटक होमस्टेमै बस्ने बाचा गर्दै हामी त्यहाँबाट बिदा भयौं। चितवनमा जंगली जनावर हेर्न स्वदेशी/विदेशीको ओइरो लाग्छ। बर्दियामा थोरैमात्र आइपुग्छन्। बर्दियामा ३४ वटा वयस्क पाटे बाघ, २४ वटा एकसिंगे गैंडा लगायत जनावर छन्। गोही प्रजनन केन्द्रमा घडियाल र मगर गोही हेर्न पाइन्छ। ठाकुरद्वाराको निकुञ्ज कार्यालयमा थारु संग्रहालय छ। त्यहीँ छन् टुहुरा नील गाई र गैंडा पनि।  thakurdaar- bardiya-3
ठाकुरद्वारामा ठाकुर बाबा (विष्णु) मन्दिर छ। बाबा बहिरा छन्, जोडजोडले चिच्याएर वर माग्नुपर्छ भन्ने भनाइ छ। बाबाको दर्शनले प्रमोसन हुने, प्रेममा सफलता मिल्ने र सन्तान प्राप्ति हुने जनविश्वास। मन्दिरमा माघीमा मेला लाग्छ।
ठाकुरद्वारामा दुई रात बस्न ४ हजार रुपैयाँ बोके पुग्छ। यसले बस्न, डिनर, लन्च, ब्रेकफास्ट, हात्ती सफारी र साँस्कृतिक कार्यक्रमलाई तिर्न पुग्छ। त्यहाँसम्म पुग्ने गाडी भाडा छुट्टै बोक्नुपर्छ। अम्बासाबाट जान सजिलो छैन। रिसोर्टका गाडीको भर पर्नुपर्छ।
ठाकुरद्वारामा खान, बस्न दुःख छैन। त्यहाँ २० वटा रिसोर्ट छन् भने बजेट पर्यटकका लागि डल्लामा होमस्टे छ।
बर्दियाको राम्रो मार्केटिङ भइसकेको छैन। पर्यटनकर्मीले धनगढी, महेन्द्रनगर, नेपालगन्ज र सुर्खेतसम्मका नेपाली तान्ने अभियान चलाउन सके पनि ठूलै उपलब्धि हुन्छ। सरकारले सडक, खानेपानी, बिजुली जस्ता आधारभूत पूर्वाधार विकासमा ध्यान दिनुपर्ने पर्यटनकर्मी भीमबहादुर शाही बताउँछन्।
‘पर्यटन बोर्ड र सकारले प्राथमिकतासाथ विदेशमा बर्दियाको मार्केटिङ गर्नुपर्‍यो,’ शाही  भन्छन्, ‘नेपाली भिœयाउन हामी स्वदेशमा पहल गर्नेछौं।’
बर्दियामा बाघ देख्न पाइन्छ। टाइटनिक फिल्मका नायक लियोनार्दो डि क्याप्रियोले २०६५ जेठमा एउटै फ्रेमभित्र पाँच बाघ खिचेका थिए। मलाई पनि मन छ बाघ र गैंडा हेर्न। चैत–वैशाखमा तीनको दर्शन मिल्न सक्छ। त्यतिबेला ठाकुरद्वारामा फेरि मिठो निन्द्रा निदाउन पाइनेछ।
कसरी पुग्ने?
नेपालगन्जबाट पश्चिम पूर्वपश्चिम राजमार्गको अम्बासाबाट दक्षिणपश्चिम १३ किमिमा ठाकुरद्वारा। काठमाडौंको गोंगबुबाट बर्दिया निकुञ्जको हेडक्वार्टर ठाकुरद्वारासम्म बस जान्छ। नेपालगन्जबाट दिउसो १:३५, २:२० र ३:१० बजे बस छुट्छन्। तिनले अढाइ घन्टामा पुर्‍याउँछन्। thakurdaar- bardiya-4

डल्लामा स्वागत  
पारिवारिक वातावरणमा घुमफिर गर्न बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित डल्लामा बास बस्नु बेस हुन्छ। सूर्यपटुवा–४ को यो थारु गाउँमा सस्तोमा खानपिन गर्न पाइन्छ।
जंगली जनावर नेपाल र भारत आउजाउ गर्ने सदियौं पुरानो ‘खाता जैविक मार्ग’को डल्लाका २१ घरमा होमस्टे सुविधा छ। थारुका २० र कुमालको १ घरमा। वाइल्ड लाइफ अवलोकन र जैविक विविधतासँगै थारु जीवनशैली बु‰न पाइन्छ।
गाउँमा १०५ धुरीमध्ये ८० घर थारुका। बाँकी अरुका। सफा बस्ती। चिटिक्क होमस्टे। खर, काठ र माटोले बनेको। छाना पनि खरकै। कोठामा दुई बेड। सफा ओढ्ने–ओच्छयाउने। लोकल खाना र मायालु व्यवहार। शिव सामुदायिक वनका उपभोक्ताले संरक्षणसँगै पर्यटनबाट कमाइ गर्न होमस्टे चलाएका। वनका अध्यक्ष मंगलनाथ योगी थारु भन्छन्, ‘होमस्टेले गाउँमा चहलपहल बढाएको छ। दुई–चार पैसा आम्दानी हुन थालेको छ।’
पाहुना स्वागत गर्न सिपालु छन् उनीहरु। पाहुनालाई फूलमाला र अबिर लगाइदिन्छन्। सर्बत–पानी खुवाउँछन्। अनि गाउँको ब्रिफिङ गर्छन्। thakurdaar- bardiya-5
होमस्टेमा आफू खुसी बस्न पाइँदैन। होमस्टे व्यवस्थापन समितिले बस्ने घर टुँगो गर्छ। उनीहरुको भान्छामा दालभात, तरकारी, अचारदेखि थारु खाना घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी लगायत परिकार पाइन्छ। साँझ साँस्कृतिक कार्यक्रम देखाइन्छ। प्याकेजमा ४ वटा नाच हुन्छ। झुमरा, लठ्ठी, सखिया र छोकरा नाच। रंगीचंगी पोसाक लाएका युवतीले कम्मर मर्काएको हेर्दा नाचुँ नाचुँ लाग्छ।
समितिका सचिव सालिकराम योगी थारुका अनुसार नेचर गाइडको सहयोगमा पाहुनालाई जंगल वाक गराइन्छ। हात्तीसारदेखि शिव सामुदायिक वनसम्म ४ किमि जलयात्रा गराइन्छ। गाडामा बसाएर गाउँ घुमाइन्छ। निकुञ्जभित्र हात्ती सफारी त छँदैछ।
होमस्टेमा ११ हजार पाहुनाले रात बिताइसकेका छन्। तीनमा ५ सय विदेशी छन्। होमस्टे सुरु भएको धेरै भएको छैन। विश्व वन्यजन्तु कोषको तराई भुपरिधि कार्यक्रम ‘ताल’को सहयोगमा २०६७ फागुन १७ गते ११ घरबाट सुरु गरिएकामा अहिले २१ घरमा होमस्टे फैलिसकेको छ। खेतीमा निर्भर छन् गाउँले। होमस्टे पर्यटनले उनीहरुमा आशाको दियो जलाएको छ।
thakurdaar- bardiya-6
डल्ला होमस्टे मेनु
विवरण परिमाण रुपैयाँ
भेज खाना पेटभरि  ८०
मासुभात पेटभरि  १६०
नास्ता  सेट  ५५
रक्सी  बोतल  ५०
मुसाको सेकुवा प्लेट ८०
घोंगी  प्लेट  ८०
कोठा  डबल  २००
सम्पर्क :  ९८४८०१५१८१ (शालिकराम)

गन्त्ब्य बर्दिया
भीम बहादुर शाही
प्रबन्ध निर्देशक, नेपाल वाइल्ड लाइफ रिसोर्ट
ठाकुरद्वारामा धेरै खालका नेपाली आउँछन्। सेमिनार गर्न, जनावर हेर्न, जंगल घुम्न र टेन्सन भगाउन। आन्तरिक पर्यटकबाट मात्र दिगो पर्यटन संभव छ। त्यसैले हामी नेपालीलाई प्राथमिकता दिन्छौं। विदेशीलाई भन्दा सस्तोमा खान/बस्न सुविधा दिन्छौं।

मंगलनाथ योगी थारु
अध्यक्ष, शिव सामुदायिक वन
होमस्टेले डल्ला गाउँ चिनिएको छ। संरक्षणसँगै पर्यटन विकास हुँदैछ। सरसफाइमा ध्यान पुगेको छ। साँस्कृतिक जागरण भित्रिएको छ। गाउँका महिला/पुरुष नहिच्किचाई बोल्न सक्ने भएका छन्। केही आम्दानी पनि भएको छ।

राम बहादुर शाही
सदस्य, नेपाल पंछीविद् संघ
बर्दियामा ४ सय ६७ प्रजातिका चरा पाइन्छ। संरक्षित सूचिका ६ थरि चरा कालो गरुड, सेतो गरुड, सानो खर मयुर, ठूलो खर मयूर र राज धनेश पनि यहिँ पाइन्छ। त्यसैले बर्दियामा चरा पर्यटन फस्टाउन सक्छ।

मोहन थारु
प्रबन्ध निर्देशक, थारु होम रिसोर्ट
नेपालीमा घुम्ने संस्कार बस्दैछ। बर्दियामा पनि आन्तरिक पर्यटक संख्या बढीरहेको छ। विदेशीले भन्दा नेपालीले बढी खर्च गर्छन। यहाँको शान्त वातावरणमा हयाङ आउट हुन कम्तिमा दुई रात बस्नेगरि ठाकुरद्वारा आउनु राम्रो हुन्छ।       thakurdaar- bardiya-9thakurdaar- bardiya-8

thakurdaar- bardiya-7

One thought on “घुम्न जाऔं ठाकुरद्वारा (फोटो फिचर)

  1. सब से पहिले मई थारुवान थारु साइड किहीं धन्यबाद कर्तु वा अस्ताही के हमार जौन बर्दिया किहीन अभिन पर्चार पर्सर कर्ना बहुत जरूरी ब अस्ताही के और पर्चार कार्ति रहबी वा अगे बह्रैबी कहना मोर आशा ब !!!!!!!!!!!!!!!
    मई जगत राम चौधरी बानियाभर ४ गौरीपारा !!!!!!!!!

Leave a Reply

Your email address will not be published.