रहेनन् ह्युगो चाभेज

VENEZUELA-CHAVEZ-OBIT-FILEकाराकास एजेन्सी-  भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको मंगलबार राजधानीको काराकास अस्पतालमा निधन भएको छ। उपराष्ट्रपति निकलस मदुरोले चाभेजको निधन भएको घोषणा टेलिभिजनमार्फत गरेका छन्। क्यान्सरबाट पीडित उनी ५८ वर्षका थिए। उनले दुई वर्षयता क्यान्सर निको पार्न चारपल्ट सल्यक्रिया गराएका थिए। मदुरोले चाभेज क्यान्सरग्रस्त भएकोमा कुनै शंका नरहे पनि मृत्युमा भने भेनेजुएलाका शत्रुकोहात रहेको आरोप लगाए। अमेरिकाले तुरुन्तै मदुरोको आरोपलाई हास्यास्पद भन्दै अस्विकार गरेको छ। मदुरोले वैज्ञानिकको एउटा टोलीले चाभेज क्यान्सरग्रस्त हुनुमा शत्रुको हात रहे नरहेको अनुसन्धान गर्ने बताएका छन्। उनले देशको सेनाबारे जासुसी गरेकाले दुई अमेरिकी कूटनीतिज्ञलाई देशनिकाला गरिएको बताए।
राष्ट्रपति चाभेजको निधनपछि भेनेजुएलामा एक साता लामो शोक घोषणा गरिएको छ। उनको शव राजधानी काराकासस्थित अस्पतालबाट सैनिक एकेडेमी लगिएको छ। शुक्रबार उनको राजकीय अन्त्येष्टी गरिनेछ। उनको सम्मानमा सेनाले २१ तोपको सलामी दिएको थियो। उनको अन्त्येष्टी नहुन्जेलसम्म सेनाले हरेक घन्टा तोप पड्काउने जनाएको छ। त्यहाँका सबै शैक्षिक संस्था एक सातासम्म बन्द रहनेछन्। क्यान्सरका कारण गत अक्टोबरमा चौथोपल्ट राष्ट्रपति निर्वाचित उनले शपथग्रहण समेत गर्न पाएका थिएनन्।
चाभेजको निधन भएको घोषणा गर्दै मंगलबार उपराष्ट्रपति मदुरोले देशवासीलाई एकजुट हुन आह्वान गरेका छन्। उनले भने, …हामी कमजोर नबनौं, देशमा हिंसा नहोस्, आपसमा घृणा नहोस् र हामी सबैका हृदयमा एउटा मात्र भाव प्रेम भाव रहोस्।’ मदुरोले शोकको घडीमा देशमा शान्ति कायम राख्न प्रहरी र सेनालाई देशव्यापी तैनाथ गरिने बताए।
सेनाले विज्ञप्ती जारी गरि उपराष्ट्रपति र संसदप्रति वफादार रहने जनाएको छ। विज्ञप्तीमा सेनाले सर्वसाधारणलाई शान्त रहन र धैर्य धारण गर्न अनुरोध गरेको छ। चाभेजका हजारौं समर्थक काराकास अस्पतालबाहिर भेला भई …हामी सबै चाभेज हौं’ नारा लगाएका थिए।
राष्ट्रपतिको निधनपछि त्यहाँ छिटपुट हिंसा भएको समाचार आएका छन्। चाभेजको निधनबारे विस्तृत जानकारी माग्ने विद्यार्थीमाथि आक्रमण गरिएको थियो। आक्रमणमा कोही पनि घाइते नभएको जनाइएको छ।
राष्ट्रपतिका लागि निर्वाचन नहुन्जेलसम्म उपराष्ट्रपति मदुरोले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्। भेनेजुएलाको संवैधानिक प्रावधान अनुसार ३० दिनभित्र राष्ट्रपतिको निर्वाचन गराउनु पर्छ। चाभेजले शल्यक्रिया गर्न क्युबा जानुअघि नै उपराष्ट्रपति मदुरोलाई आफ्नो उत्तराधिकारी घोषणा गरेका थिए।
चाभेजको निधनबारे औपचारिक घोषणा गर्दा उपराष्ट्रपति मदुरो निकै भावुक देखिएका थिए। विदेशमन्त्री एलियास जउले चुनावमा सत्तारुढ युनाइटेड सोसलिस्ट पार्टीबाट मदुरो राष्ट्रपतिमा उठ्ने बताए।
गएको अक्टोबरमा राष्ट्रपति निर्वाचनमा हारेका विपक्षी नेता हेनरिक क्याप्रिलेसले सरकारसँग संवैधानिक प्रावधान अनुसार काम गर्न आग्रह गरेका छन्। उनले चाभेजका परिवारप्रति समवेदना व्यक्त गर्दै आफू चाभेजको शत्रु नभएर विपक्षी मात्र भएको बताए। विपक्षी पार्टीले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार घोषणा गर्न बाँकी छ। विपक्षी पार्टीका तर्फबाट राष्ट्रपति निर्वाचनमा फेरि क्याप्रिलेस नै उठ्न सक्ने अनुमान छ।
राजनीतिक विश्लेषकले मदुरो राष्ट्रपतिमा विजयी हुनसक्ने अन्दाज गरेका छन्। तर करिस्मेटिक नेता चाभेजले जस्तै मदुरोले भेनेजुएलालाई नेतृŒव दिनेमा भने शंका गरिन्छ।
चाभेजको क्यान्सरबारे औपचारिक रुपमा विवरण बाहिर आएनन्। तथ्य सार्वजनिक नभएकाले र चुनावपछि उतिसारो सार्वजनिक नभएका उनको स्वास्थ्य स्थितिबारे अनेकौं अड्कलबाजी हुने गरेको थियो। गत मेमा चाभेजले सन् २०११ मा शल्यक्रिया र केमोथेरापी गरेपछि आफू क्यान्सरमुक्त भएको बताएका थिए। उनले पोहोर फेब्रुअरीमा समेत फेरि शल्यक्रिया गराएका थिए। क्यान्सरग्रस्त हुँदाहुँदै पनि उनी सन् २०१२ अक्टोबरमा चौथोपल्ट छ वर्षका लागि राष्ट्रपतिमा विजयी भएका थिए।
अन्तर्राष्ट्रिय जगतमा चाभेज अमेरिकाको नीतिका कट्टर आलोचक थिए। सन् २००२ मा उनीविरुद्ध भएको असफल विद्रोहमा अमेरिकाको हात रहेको उनले आरोप लगाउने गर्थे। अमेरिका विरोधी अन्तर्राष्ट्रिय लबिका चाभेज बलिया खम्बा थिए। चाभेजले चिली, बोलिभिया, अर्जेन्टिनालगायत दक्षिण अमेरिकी देशलाई अमेरिकी नीतिको विरोधमा लामबद्ध गरेका थिए। चाभेजको निधनपछि अमेरिकाले आफू अनुकूल नेतृŒव स्थापित गर्न दक्षिण अमेरिकी देशमा फेरि सिआइएको चलखेल बढ्ने अनुमान विश्लेषकले गरेका छन्।

चाभेजको निधनप्रति विश्वका नेताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। अमेरिकाले पनि उनको निधनमा दुःख व्यक्त गरेको छ। अमेरिकाले चाभेजको निधनपछि भेनेजुएला नयाँ युगमा प्रवेश गरेको जनाएको छ। अमेरिकाले आफू सधैँ भेनेजुएलावासीका पक्षमा रहेको बताएको छ।
त्यसैगरी ब्राजिलले चाभेजको निधनप्रति दुःख व्यक्त गरेको छ। ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफले उनको निधनले दक्षिण अमेरिकामा नै ठूलो शोक परेको बताएकी छिन्। उनले चाभेज दक्षिण अमेरिकाका सशक्त र प्रभावशाली नेता भएको बताइन्। शोक वक्तव्यमा उनले चाभेजको निधनबाट दक्षिण अमेरिकाले सशक्त नेता गुमाएको बताएकी छिन्।
छिमेकी राष्ट्र क्युबाले नेता चाभेजको निधनप्रति दुःख व्यक्त गर्दै बुधबारदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। लामो समयसम्म चाभेजको उपचार क्युवामा भएको थियो। त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शोक व्यक्त गर्दै चाभेज एक वरिष्ठ नेता भएको टिप्पणी गरेका छन्। पुटिनले चाभेजलाई एक असाधारण व्यक्तित्व बताउँदै उनका कारण भेनेजुएला र रुसको सम्बन्ध राम्रो बनेको सम्झना गरेका छन्।
त्यसैगरी चीनले चाभेज वर्तमान युगका ठूला नेता र चिनियाँ जनताका शुभचिन्तक रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

ह्युगो र्‍याफेल चाभेज फ्रियास सन् १९५४ जुलाई २८ मा भेनेजुएलाको बरिनास राज्यको साबानेटामा जन्मिएका थिए। उनका पिता शिक्षक थिए। चाभेजले सन् १९७५ मा भेनेजुएलाको एकेडेमी अफ मिलिटरी साइन्समा स्नातक गरे। सेनाको प्याराट्रुपर उनले सन् १९९२ मा तत्कालिन राष्ट्रपति कार्लोस आन्द्रेस पेरेजलाई सत्ताच्युत गर्न असफल प्रयास गरेका थिए। असफल कुपछि उनी दुई वर्ष कैद भए। आम माफी पाएपछि उनले सन् १९९४ मा मुभमेन्ट अफ द फिफ्थ रिपब्लिकका रुपमा आफ्नो पार्टीको पुनर्गठन गरे। सन् १९९८ मा निर्वाचन जितेपछि सन् १९९९ देखि लगातार १४ वर्षसम्म उनले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको राष्ट्रपतिका रुपमा शासन गरे।
सर्वसाधारणका आधारभूत आवश्यकता पुरा गर्न धेरै काम गरेका उनी भेनेजुएलावासीमाझ लोकप्रिय थिए। विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले लिएका नीतिले त्यहाँ राम्रो प्रभाव पारेको छ। राष्ट्रपति चाभेजले सन् १९९८ डिसेम्बरमा पहिलो पटक भेनेजुएलाको राष्ट्रपतिमा विजयी भएका थिए। त्यसपछि उनी लगातार राष्ट्रपति निर्वाचित भएका थिए। उनले दक्षिण अमेरिकी राष्ट्रलाई बजार मूल्यभन्दा सस्तो मोलमा तेल विक्री गरेका थिए। पछिल्लो निर्वाचनमा उनले ५६ प्रतिशत मत पाएका थिए। सन् १९९९ मा संविधान परिवर्तनका लागि भएको निर्वाचनमा ६० प्रतिशत मतले उनी जितेका थिए।

Leave a Reply

Your email address will not be published.