मुलुकभरका शिक्षण संस्था ठप्प

काठमाडौं- विद्यालयमा सङ्गठन खोल्ने विषयमा सञ्चालक र विद्यार्थी सङ्गठनबीचको विवादले आज मुलुकभरका शैक्षिक संस्था ठप्प भएका छन्। निजी शैक्षिक संस्थाको सञ्जाल एसोसिएसन फर प्राइभेट एजुकेसनल अफ नेपाल (अपिन) ले आज देशभरका निजी तथा सरकारी शैक्षिक संस्थामा गरेको बन्दले ७५ लाख विद्यार्थी प्रभावित भएका छन्।

अपिनले हालै अखिल क्रान्तिकारीद्वारा गोल्डेनगेट कलेजको बसमा भएको आगजनी तथा विद्यालयमा विभिन्न सङ्गठनको बारम्बारको चन्दा आतङ्क र धम्कीको विरोधमा शैक्षिक संस्था बन्द गराएको हो।
उच्चमाध्यमिक विद्यालय सङ्घ नेपालका उपाध्यक्ष रमेश शिलवालले निजी विद्यालयमाथि भइरहेको चन्दा आतङ्क, धम्की तथा हालै शिक्षा निर्देशनालयको निर्देशिकाविरुद्धमा बन्दको आह्वान गरिएको बताए।
उनले विद्यालयमा विभिन्न विद्यार्थी सङ्गठनले जबर्जस्ती स्ववियु खोल्न दबाब दिने गरेको तथा विद्यालयमा विभिन्न माग राखी गर्ने तालाबन्दीजस्ता विकृतिपूर्ण कार्यको विरोध स्वरुप बन्द गर्न बाध्य भएको बताए। रासस

Leave a Reply

Your email address will not be published.