प्रधानमन्त्रीले भने- बाटो बदलेपनि जनयुद्धको लक्ष्य छाडेको छैन

baburam bhattaraiकाठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले जनयुद्ध त्यागे पनि उद्देश्य प्राप्तिका लागि बाटो मात्र बदलेको बताएका छन्। ‘हो हामीले बाटो बद्‌लेको हो’, खुलामञ्चमा आयोजित घोषणासभालाई सम्बोधन गर्दै उनले भने- ‘तर जनयुद्धको लक्ष्य छाडेको हैन।’ जनयुद्धलाई अवमूल्यन नगर्न विपक्षीहरुलाई चेतावनी दिँदै उनले जनयुद्धलाई नेपाली जनताले युगौं युगसम्म सम्झिइरहने बताए। गणतन्त्र, समावेशी, धर्मनिरपेक्षता, संघीयता लगायतका उपलब्धि जनयुद्धकै आधारमा हाँसिल भएको दाबी उनले गरे। जनयुद्धलाई केही व्यक्तिहरुले अवमूल्यन गरेको भन्दै कटाक्ष गरेका प्रधानमन्त्री भट्टराईले त्यसो नगर्न चेतावनी समेत दिए। ‘महान जनयुद्धको अवमूल्यन् कहीँ कतैबाट नगरियोस् म सबैलाई सचेत गराउन चाहन्छु’, उनले भने।

नेपाली समाजको बदलिएको उल्लेख गर्दै उनले सोही अनुसार क्रान्तिको नयाँ कार्यभार पनि बदलिएको बताए। ‘निर्माण र उत्पादनको कामलाई केन्द्रमा राखेर पुँजिवादी विकास अबको लक्ष्य भएको उनको भनाइ थियो। हेटौंडा महाधिवेशनले सबै विवाद साम्य पार्दै पार्टी नयाँ उर्जाबाट एकीकृत भएको उनले बताए। ‘एकअर्कामा हामीलाई छुट्याउनै नसक्ने गरी एकताबद्ध भएर आएका छौं’, अध्यक्ष पुष्पकमल दाहालतर्फ संकेत गर्दै उनले भने।

सेना समायोजनलाई सरकारको मुख्य उपलब्धिको रुपमा व्याख्या गर्दै प्रधानमन्त्री भट्टराईले भने- ‘एक किसिमले भूतले खाजा खाने बेलामा हामी सरकारमा आइपुगेका थियौं।’ सरकार भ्रष्टाचारमुक्त नरहेको उनले स्वीकार गरे। ‘फोहोर सफा गर्दा केही फोहोरी हामी पनि भएका छौं’, प्रधानमन्त्रीले भने।

शक्ति पृथकीकरणको कुरा उठाएर प्रधानन्यायाधीशलाइ प्रधानमन्त्री बनाउनु नहुने भनेर कानुन व्यवसायीले कुतर्क गरिरहेको आरोप उनले लगाए। संविधानअनुसार अर्को सरकार गठन हुन नसक्ने भन्दै दलीय सहमतिमा सरकार गठन हुनुपर्ने उनको जोड थियो। ‘यो सरकारको विकल्पमा संविधानको कुन धारा अन्तर्गत अर्को सरकार गठन हुन्छ ?’, प्रधानमन्त्रीले प्रश्न गरे। अन्तरिम संविधानको निर्माता समेत आफू भएको भन्दै उनले यस विषयमा बहस गर्न आउन संविधानविद्‌हरुलाई चुनौती दिए।

Leave a Reply

Your email address will not be published.