एमालेले प्रधानन्यायाधीश नेतृत्‍वको सरकार नमान्ने

काठमाडौं- नेकपा एमालेले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर नयाँ निर्वाचनमा जान नसकिने धारणा सार्वजनिक गरेको छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको प्रमुख एउटै व्यक्तिलाई बनाउँदा शक्ति पृथकीकरणको सिद्वान्त विपरीत हुने उसको धारणा छ। उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको आज बल्खुमा बसेको अनौपचारिक बैठकले सो धारणा सार्वजनिक गरेको पार्टीका महासचिव ईश्वर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए। 
उनले शक्ति पृथकीकरणको सिद्वान्त, अन्तरिम संविधान र विश्वव्यापी प्रचलित मूल्य मान्यता विपरीत गएर एमालेले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जान सकिँदैन भने।
पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा बसेको सो अनौपचारिक बैठकमा पछिल्लो समयमा एनेकपा माओवादीबाट आएको प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जाने प्रस्तावबारे केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए।
न्यायपालिकालाई विवादरहित बनाउनुपर्ने धारणा रहेको र प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा न्यायालय विवादित हुने महासचिव पोखरेलले बताए। सो बैठकमा अध्यक्ष खनालले पार्टीहरुका बीचमा पछिल्लो समयमा भएका छलफलका बारेमा जानकारी गराएका थिए। रासस

Leave a Reply

Your email address will not be published.