टिभी धेरै हेर्नेको स्पर्म काउन्ट घट्दो

sukrakitलन्डन, एजेन्सी– के तपाईं टेलिभिजन अत्यधिक हेर्नुहुन्छ? हेर्नुहुन्छ भने बेलैमा सावधान भइहाल्नुस् र टेलिभिजनको साटो मर्निङ वाक वा जिम जान थाल्नु भए हुन्छ। टेलिभिजन अत्यधिक हेर्नाले तपाईंको वंश मासिने सम्भावना बढ्ने पाइएको छ। वैज्ञानिकको एक समूहले गरेको अनुसन्धानमा टेलिभिजन कम हेर्ने पुरुषको तुलनामा सातामा २० घन्टाभन्दा बढी टेलिभिजन हेर्ने पुरुषको स्पर्म काउन्ट आधा मात्र पाइयो। सातामा २० घन्टाभन्दा बढी टेलिभिजन हेर्ने पुरुषको स्पर्म काउन्ट (वीर्यमा सुक्रकीट संख्या) घटिरहेको अनुसन्धानले देखाएको छ।
यसको ठिक विपरित धेरै शारीरिक व्यायाम गर्ने पुरुषको स्पर्म काउन्ट व्यायाम नगर्ने पुरुषको भन्दा बढी हुने अनुसन्धानले देखाएको छ। सातामा १५ घन्टा व्यायाम गर्नेको स्पर्म काउन्ट व्यायाम नगर्ने पुरुषको तुलनामा ७३ प्रतिशत धेरै पाइएको ब्रिटिश जर्नल अफ स्पोटेर्स मेडिसिनमा छापिएको छ। पुरुषको स्पर्म काउन्ट घट्दा सन्तान नहुने सम्भावना बढ्छ।
बेलायती वैज्ञानिकको अनुसन्धान भारतीय पुरुषका लागि खतराको घन्टी भएको छ।स्पर्म काउन्ट घट्ने समस्याबाट अहिले भारतीय पुरुष पिरोलिएका छन्। चिकित्सकहरूका अनुसार ३० वर्षअघि एक भारतीय वयस्कको स्पर्म काउन्ट छ करोड प्रति मिलीलिटर थियो भने अहिले घटेर दुई करोड प्रति मिलीलिटर मात्र छ। भारतमा वर्षेनी १.२ देखि १.८ करोड दम्पतिमा इनफर्टिलिटी समस्या देखिने गरेको छ। भारतमा लगभग ७९ प्रतिशत पुरुष र ८३ प्रतिशत महिला शारीरिक रुपमा निस्त्रि्कय छन् अर्थात उनीहरू शारीरिक व्यायाम गर्दैनन् वा अत्यन्त थोरै मात्र गर्छन्। त्यसमाथि ५१ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला फ्याटको उच्च मात्रायुक्त भोजन गर्छन्।
धेरै समय बसेर गरिने कामका कारण स्पर्म काउन्टमा पर्ने असर पत्ता लगाउन हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले सन् २००९–१० मा एक अध्ययन गरेका थिए। उनीहरूले अमेरिकी शहर न्युयोर्कका १८ देखि २२ वर्षका एक सय ८९ यस्ता पुरुषको स्पर्म काउन्ट गरेका थिए। ती पुरुषलाई बितेका तीन महिनायता हरेक साता कति घन्टा व्यायाम गरेका र कति घन्टा टेलिभिजन हेरेका थिए सोधिएको थियो। यसबाहेक स्पर्म काउन्ट र क्वालिटीमा असर गर्ने अन्य कुराबारे समेत उनीहरूसँग सोधिएको थियो। ती पुरुषसँग उनीहरूको भोजन, तनाव, धुमपानलगायत मेडिकल र यौन समस्याबारे समेत जानकारी लिइयो।
ती सबैको तथ्यांक अध्ययनपछि उनीहरूले एक सातामा औसत चार घन्टादेखि १४ घन्टासम्म व्यायाम गरेको र चार घन्टादेखि २० घन्टासम्म टेलिभिजन हेरेको पाइयो। शारीरिक रुपमा सक्रिय पुरुषको भोजन टेलिभिजन धेरै समय हेर्नेका तुलनामा बढी थियो। अध्ययनमा शारीरिक रुपमा सक्रिय पुरुषको स्पर्म काउन्ट अरु पुरुषको भन्दा ७३ प्रतिशत बढी देखियो। यसको ठिक विपरित धेरै समय टेलिभिजन हेर्ने पुरुषको स्पर्म काउन्ट थोरै समय टेलिभिजन हेर्नेको तुलनामा ४४ प्रतिशत कम थियो।
केही विशेषज्ञले सन्तानका रहर भएका पुरुषले शुक्रकीटको हानी गर्ने खेलबाट टाढै बस्नुपर्ने सल्लाह दिएका छन्। केही अन्य अध्ययनबाट धेरै वर्ष मोटरसाइकल कुदाउनु र कसिएका पहिरनमा दौडनु शुक्रकीटका लागि हानीकारक हुने नतिजा आएका छन्। यसैगरी कसिएको भित्रीवस्त्र लगाउनाले समेत स्पर्म काउन्ट घट्ने पाइएको छ।
यद्यपी, जर्नलमा प्रकाशित अनुसन्धानमा स्पर्म काउन्ट कम हुनुको अर्थ पुरुष नपुंसक नै हो भन्ने होइन भनि उल्लेख छ। तै पनि अध्ययनले शारीरिक रुपमा सक्रिय पुरुषको वीर्यको क्वालिटी राम्रो हुने प्रष्ट पारेको छ। अनुसन्धानकर्ताले प्रजनन क्षमता सुधार्न चाहने पुरुषका लागि शारीरिक व्यायाम गर्न सुझाव दिएका छन्। अनुसन्धानकर्ताले स्पर्म काउन्ट घट्ने सम्भावित कारण पत्ता लगाउन विस्तृत अनुसन्धानको खाँचो औंल्याएका छन्।

 

Leave a Reply

Your email address will not be published.