पश्चिमाञ्चलका उच्च प्रशासक सम्मानित

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीले पश्चिमाञ्चल विकास मञ्चको वार्षिक साधारणसभाका अवसरमा सरकारी निकायको उपल्लो तहमा हालै नियुक्त पाएका तथा बढुवा भएका सो विकास क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरे। सम्मानित हुनेहरुमा गरिबी निवारण कोषका उपाध्यक्ष युवराज पाण्डे, निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगु, सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक आत्माराम पाण्डे, स्थानीय विकास मन्त्रालयका शन्तबहादुर श्रेष्ठ र सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक ऋषवदेव भट्टराई छन्।
उनीहरु केही समय अघि उल्लेखित जिम्मेवारीमा नियुक्त एको र यसले पश्चिमाञ्चलको गौरव बढाएको मञ्चले जनाएको छ। प्रधानन्यायाधीश रेग्मीले सम्मानपत्र प्रदान र मञ्चका अध्यक्ष रामकाजी कोनेले खादा ओढाएर उनीहरुलाई सम्मान गरे। कार्यक्रममा प्रधानन्यायाधीश रेग्मीले मञ्चको स्मारिका पनि लोकार्पण गरे।

समाजको समुचित विकासका लागि समाजका सबै क्षेत्रको उत्तिकै भूमिका हुने उल्लेख गर्दै उनले मञ्चले सञ्चालन गरेका सामाजिक कार्यको सफलताको कामना गरे। मञ्चले आदिकवि भानुभक्त आचार्यको जन्मघरको निर्माण र प्रचारप्रसारका लागि पनि विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।

मञ्चमा लुम्बिनी, धौलागिरि र गण्डकी अञ्चलका २२ जिल्लाबाट उपत्यका आई विभिन्न सेवा/व्यवसायमा रहेका व्यक्तिहरु आबद्ध छन्। रासस

Leave a Reply

Your email address will not be published.