हेटौंडामा एमाओवादीको महाधिवेशन उद्‍‍‍घाटन

रमेश लम्साल, हेटौंडा- मकवानपुरको हेटौंडामा भोलि (शनिबार)देखि सुरु हुने एकीकृत नेकपा (माओवादी)को सातौं महाधिवेशनको तयारी पूरा भएको छ। पार्टी जीवनको २२ वर्षपछि हुन लागेको महाधिवेशनलाई सफल पार्न सो पार्टीले गरेको तयारी र अन्य कामकारबाही हेर्दा लाग्छ एउटा क्रान्तिकारी उत्सवको तयारी गरिँदैछ। चार हजारभन्दा बढी मानिसको छ दिनसम्म हुने जमघटले हेटौंडामा उत्साहको लहर छाएको अनुभूति भइरहेको छ। दस वर्षे जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश गरेपछि पटक पटक महाधिवेशनको चर्चा चलेपनि यस पटक भने त्यसले साकार रुप पाउन लागेको छ। महाधिवेशन आयोजनास्थल हेटौंडाको औद्योगिक क्षेत्रमा आवश्यक तयारी द्रुततर गतिमा अन्तिम चरणमा पुगेको छ भने देशव्यापीरुपमा जिल्ला सम्मेलन पनि प्रायः सम्पन्न भइरहेका छन्।

एमाओवादी केन्द्रीय कार्यालयका अनुसार आजसम्म ७० जिल्लाको जिल्ला सम्मेलन सम्पन्न भइसकेको छ भने गैरभौगोलिक जिल्ला समितिको समेत जिल्ला सम्मेलन सम्पन्न भइसकेको छ। बाँकी जिल्लाका सम्मेलन पनि महाअधिवेशन अगावै सम्पन्न हुँदैछन्।
महाधिवेशनको उद्घाटन मकवानपुरको हुप्रेचौरमा हुने तयारी गरिएको छ भने बन्दसत्रलगायतका कार्यक्रम भने औद्योगिक क्षेत्रभित्र गर्ने गरी तयारी गरिएको छ। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन सँगसँगै पार्टीलाई नयाँरुपमा जनतामा स्थापित गर्ने लक्ष्य लिइएको छ।
महाधिवेशनका लागि ‘क्रान्तिकारी कार्यदिशालाई नयाँ उचाइमा विकास गरौं, एकताको सातौं राष्ट्रिय महाधिवेशनलाई सफल पारौं” भन्ने मूल नारा तय गरिएको छ। त्यस्तै ‘सबै खाले प्रतिक्रियावादका विरुद्ध सङ्घर्ष गरौं दक्षिणपन्थी एवम् जडसुत्रीय संशोधनवादको भण्डाफोर गरौँ र वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनको अन्त्य गरौँ र नयाँ नेपाल निर्माणका निम्ति नयाँ राष्ट्रिय एकता हासिल गरौं’ भन्ने सहायक नाराहरु समेत तय गरिएका छन्।

यो २२ वर्षको अवधिमा पार्टीको महाधिवेशन भने हुन सकेको थिएन। यो बीचमा एकता केन्द्रलगायत अन्य छरिएर रहेका केही कम्युनिस्ट घटकहरुसँग पार्टी एकीकरण गर्ने काम भयो भने पार्टीको नाम एकीकृत नेकपा (माओवादी) राख्ने काम भयो। त्यस्तै विगतमा मान्दै आएको माक्सवाद, लेनिनवाद र माओवादको पथप्रर्दशक सिद्धान्तमा माओवादी विचारधारा राखियो।
कस्तो छ तयारी

एमाओवादीले महाधिवेशनलाई क्रान्तिकारीका लागि निरन्तरको क्रान्ति उत्सव पनि हो भन्ने मान्यतालाई आत्मसात् गर्दै तयारीलाई तीव्ररुपमा अगाडि बढाएको छ। महाधिवेशन आयोजक समितिले हेटौंडामा आवश्यक तयारीका लागि जिल्ला पार्टीको अगुवाइमा विशेष टोली नै परिचालन गरेको छ। स्वयम्सेवक परिचालन समितिका सदस्य एवम् वाइसियलका केन्द्रीय संयोजक गणेशमान पुन भन्छन्, ‘महाधिवेशनको तयारी भव्यताका साथ गरिएको छ।’

महाधिवेशनको सुरक्षाका लागि करिब ६०० को सङ्ख्यामा वाइसियल परिचालन गरिएको छ भने उद्‍घाटनका दिन करिब तीन हजार ५ सय वाइसियल परिचालन गरिने भएको छ। बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीलाई परिचालन गरिने छ भने समाचार सम्प्रषेणका लागि सुविधा सम्पन्न मिडिया सेन्टरको पनि व्यवस्था गरिएको छ।

एमाओवादीको महाधिवेशनलाई जनताले पनि अत्यन्तै चासोका साथ हेरेकाले जनताले पनि आवश्यक सहयोग गरिराखेका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य समेत रहनुभएका वाइसियलका संयोजक पुनले जानकारी दिए। यस्तै केन्द्रीय कार्यालयका मुख्य सचिव हीतराज पाण्डे भन्छन्, ‘महाधिवेशनको आवश्यक तयारी तीव्रतर रुपमा अगाडि बढिरहेको छ, यसमा जनता, पार्टीका सर्मथक, पार्टी कार्यकर्ता सबै तह र तप्काले आवश्यक मात्रामा सहयोग र सर्मथन गरिरहेको कारण हाम्रो पार्टीको महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुने छ।’ उनका अनुसार महाधिवेशनका लागि पार्टीको केन्द्रीय कार्यालय नै हेटौंडामा खडा गरिएको छ भन्दा हुन्छ।

एक घर एक सुझाव अभियान
एमाओवादीले महाधिवेशनका सर्न्दभ पारेर जनतासँग जोडिने र जनताका सुझावलाई पनि पार्टीको राजनीतिक दस्तावेजमा समावेश गर्ने उद्देश्यका साथ एक घर एक सुझाव अभियान सञ्चालन गरेको छ। यो अभियान अन्तरगत एमाओवादीका नेता तथा कार्यकर्ता जनताका घर दैलोमा पुगेर एमाओवादीले आगामी दिनमा अङ्गाल्नुपर्ने नीति योजना तथा रणनीतिका बारेमा जनतासँग सुझाव लिइने छ। एमाओवादीका प्रवक्ता अग्नि सापकोटा भन्छन्, ‘एक घर एक सुझाव अभियान जनतासँग जोडिने र जनतालाई महाधिवेशनमा समाहित गर्ने योजनाअनुसार नै सञ्चालनमा ल्याइएको हो।’
यो अभियानमा एमाओवादीले विगतमा दिनमा गरेका कमजोरी तथा गल्ती र त्यसलाई सच्याउने उपायहरु, आगामी दिनमा अङ्गाल्नुपर्ने नीति तथा योजनाका बारेमा जनताकै मुखबाट सुझाव लिइने छ। जनताबाट प्राप्त भएका सुझावलाई एमाओवादीले महाधिवेशनमा विचारको मन्थन गरिने र ठोस निष्कर्ष निकाल्ने लक्ष्य लिइएको छ। सुझाव लिने काम पनि सुरु भइसकेको छ।
केन्द्रीय प्रचार व्यूरोका सदस्य एवम् क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजक गोविन्द आचार्य जनताबाट सुझाव सङ्कलन गर्ने कुरा नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाको रुपमा लिनु पर्ने बताउनुहुन्छ। सो अभियानमा जनताबाट लिइएका सुझावलाई पार्टीले अङ्गिकार गर्ने र जनतालाई पनि एमाओवादी पार्टी जनताको पार्टी हो भन्ने अनुभव गराउन र जनताप्रति एमाओवादी जिम्मेवार छ भन्ने अनुभव गराउन पनि सुझाव अभियान जायज रहेको उहाँ बताउनुहुन्छ । जनताबाट प्राप्त सुझावलाई पार्टीले राजनीतिक प्रतिवेदनमा लिपीवद्ध गर्ने समेत बताएको छ।

युद्धस्तरमा तयारी समिति
एमाओवादीको गत मङ्सिर २२ गते बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठक र मङ्सिर २४ गतेको केन्द्रीय कार्यालयको बैठकले पार्टीको महाधिवेशनलाई एकताको सातौं महाधिवेशनको रुपमा चित्रण गर्दै विभिन्न १३ वटा समिति गठन गरेको थियो।

जसमा अध्यक्ष प्रचण्डको संयोजकत्वमा निरीक्षण तथा अनुगमन समिति गठन गरेको थियो, जसका सदस्यहरुमा उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटी रहनुभएको छ। यस्तै सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा गठित आर्थिक समितिमा टोपबहादुर रायमाझी, वर्षमान पुन, दीनानाथ शर्मालगायत ३४ जना पार्टी नेताहरु रहेका छन्।
यस्तै अमिक शेरचनको संयोजकत्वमा अनुशासन तथा आचारसंहिता समिति गठन गरिएको छ भने गिरिराजमणि पोखरेलले स्वास्थ्य तथा सरसफाइ, लीलामणि पोरखेलले अतिथि सत्कार, अग्नि सापकोटाले प्रचार प्रसार समितिको जिम्मा लिनुभएको छ।

यसैगरी जर्नादन शर्माले यातायात व्यवस्थापन, नन्दकिशोर पुनले सुरक्षा तथा स्वयम् सेवक परिचालन, निनु चापागाईले सांस्कृतिक कार्यक्रम, देवेन्द्र पौडेलले समारोह व्यवस्थापन, हिसिला यमीले बालबालिका तथा अपाङ्ग रेखदेश, हितराज पाण्डेले व्यवस्थापन र राम कार्कीले अन्तर्राष्ट्रिय सम्बन्धबारे आ–आफ्नो नेतृत्वमा गठित समितिहरु तोकिएको जिम्मेवारीअनुरुप महाधिवेशन सफल पार्न क्रियाशील छन्।

देशमा लामो समयदेखि व्याप्त राजनीतिक अन्यौलको बादललाई पन्छाउन एनेकपा माओवादीको महाधिवेशनले ऐतिहासिक योगदान दिन सक्ला कि भन्ने अपेक्षा सर्वसाधारण जनताले लिएका छन्। रासस

 

Leave a Reply

Your email address will not be published.