एपिएफलाई भलिबलको उपाधि, सरस्वती चौधरी उत्कृष्ट

तस्बिर सौजन्य : विकास कार्की/नागरिकन्युज
तस्बिर सौजन्य : विकास कार्की/नागरिकन्युज

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक प्रथम राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले न्यु डाइमन्ड स्पोर्टस क्लबलाई ३–२ ले पराजित गरेको हो। खेलको सुरुआती सेट २६–२४ ले न्यु डाइमन्डले जिते पनि  दोस्रो सेट भने एपिएफको पक्षमा रह्यो। एपिएफले २५–११ को फराकिलो सेटले पराजित गर्‍यो।

यस्तै खेलको तेस्रो सेट न्यु डाइमन्डले २५–२२ ले जित्दै उपाधि नजिक पुगे तापनि चौथो र पाँचौं सेटमा भने हार भोग्न बाध्य बन्यो। यस्तै एपिएफले चौथो सेट २५–२२ र पाँचौँ सेट १५–१२ ले हराउँदै उपाधिमाथि कब्जा जमायो।

एपिएफले उपाधिसहित ट्रफी र रु दुई लाख ५० हजार तथा दोस्रो भएको न्यु डाइमन्डले रु एक लाख २५ हजार पायो। एपिएफ सेमिफाइलन खेलमा नेपाल प्रहरी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको तथा न्यु डाइमन्ड पश्चिमाञ्चल विकास क्षेत्रलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

यस्तै तेस्रो उपाधिका लागि आजै भएको अर्को खेलमा पश्चिमाञ्चल विकास क्षेत्रले नेपाल प्रहरी क्लबलाई २५–१८, २५–२६ र २५–११ को सोझो सेटमा पाखा लगाउँदै तेस्रो स्थानमा चित्त बुझायो। पश्चिमाञ्चलले रु ५० हजार प्राप्त गर्‍यो।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि एपिएफकी सरस्वती चौधरीले प्राप्त गरिन्। धनगढीकी सरस्वती यसअघि पश्चिमाञ्चल विकास क्षेत्रबाट खेल्दै आएकी थिइन्। उनले उपाधिसहित एक थान स्कुटर प्राप्त गरिन्।

यसैगरी उत्कृष्ट सर्भरको उपाधि न्यु डाइमन्डकी कृपा अधिकारी, उत्कृष्ट ब्लकर पश्चिमाञ्चलकी अरुणा शाही, उतकृष्ट स्पाइकर न्यु डायमन्डकी रमिला तण्डुकार,  उत्कृष्ट डिफेन्स एपिएफकी ज्योति चौधरी र उत्कृष्ट सेटरको उपाधि एपिएफकी विनिता बुढाथोकीले पाए।

उत्कृष्ट खेलाडीले जनही रु तीन हजार प्राप्त गरे। यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकको उपाधि एपिएफका कपिलकिशोर श्रेष्ठले प्राप्त गरे।  विजेता एवम् उत्कृष्ट खेलाडी एवम प्रशिक्षकलाई सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त र  एपिएफका केन्द्रीय खेलकुद समितिका अध्यक्ष दुर्जकुमार राईले प्रदान गर्नुभयो। प्रतियोगिता यही असोज १६ गतेदेखि सञ्चालन भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.