निर्वाचन गराउने हैसियत यो सरकारको छैन : देउवा

इटहरी- नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाबुराम भट्टराई नेतृत्वको सरकारसँग नयाँ जनादेशका लागि हुने संविधानसभाको निर्वाचन गराउने कुनै हैसियत नै नभएको बताएका छन्। उनले प्रश्न गरे – संवैधानिक निकायहरु खाली बनेको अवस्थामा यो सरकारले कसरी संविधानसभाको निर्वाचन गर्न सक्छ?
नेपाली काँग्रेस हाँसपोसाले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले सबै संवैधानिक निकाय खाली बनाएर मुलुकलाई अरु सङ्कटमा पारेर असफल राष्ट्र बनाउने यो सरकारलाई नेपाली जनताले एकछिन पनि राख्न नहुने जिकिरसमेत गरे।

संविधान नै बनाउन नचाहने वर्तमान सरकारले नै संविधानसभा विघटन गरेर मुलुकलाई अन्योलग्रस्त बनाएको दाबी गर्दै उनले मुलुकमा सिर्जना गरिएको विद्यमान सङ्कट समाधानका लागि सम्पूर्ण राजनीतिक दल सहभागी रहेको राष्ट्रिय सहमतिको सरकार आवश्यक भएकोमा जोड दिए।

राष्ट्रिय सहमतिको सरकारले मात्र संविधानसभाको निर्वाचन गर्न सक्ने ठोकुवा गर्दै नेता देउवाले त्यसैका लागि नेपाली काँग्रेससहित अन्य विपक्षी दलहरुले वर्तमान सरकारको बहिर्गमनका लागि आन्दोलन थालेको बताए। रासस

Leave a Reply

Your email address will not be published.