सिरहाका उत्तरी गाविसमा खानेपानीको हाहाकार

लहान- सिरहाको उत्तरी क्षेत्रमा पर्ने करिब आधादर्जन गाविसमा खानेपानीको हाहाकार भएपछि स्थानीयबासिन्दाले सकस झेल्नु परेको छ। गर्मीयाम सुरु हुनुअगावै चुरेक्षेत्रसँगै जोडिएका जमदह, धनगढी, अयोध्यानगर, चन्द्रलालपुर, चन्द्रोदयपुर, विष्णुपुरकट्टीलगायतका गाविसका विभिन्न गाउँमा इनार, कलजस्ता पानीका स्रोत सुक्न थालेपछि पानीको हाहाकार भएको हो। पानीका स्रोत सुक्न थालेपछि चिन्ताले पिरोलिन थालेका छन्, स्थानीय गाउँलेहरु। विष्णुपुरकट्टी गाविसको वडा नं. २ र ७ नं. वडाका गाउँमा पानीको मुख्य स्रोतको रुपमा रहेको इनार सुक्न थालेपछि पानीको अभाव भएको स्थानीय गाउँलेहरु बताउँछन्।

उक्त गाविसको वडा नं. २ मा रहेका सातवटा इनारमध्ये चारवटामा पहिलेदेखि नै पानी नआउने र बाँकी तीनमध्ये दुईवटा इनारबाट पनि राम्ररी पानी नआउँदा स्थानीयले कष्ट झेल्नु परेको स्थानीय गीता काफ्लेले जानकारी दिए। सो गाविसको वडा नं. २ र ७ का राम टोल, थटिया, ढुङ्गाना टोल, यादव टोल, गुँडी टोलका बासिन्दाले पानीको स्रोतको रुपमा रहेको इनार सुकेपछि समस्या भोग्नु परिरहेको स्थानीय सूर्यनाथ यादवले बताए।
पानीको समस्या खेप्न नसकेपछि गाउँका दुई घरपरिवार बसाइँसमेत हिँडेका छन्। स्थानीय धनिकलाल यादव गाउँ छोडेर परिवारसहित महदेवा गोठ र बिल्टु यादव सप्तरीको कमलपुर बसाइँ हिँडेको डावरका रुद्रबहादुर ठकुरीले सुनाए।
स्थानीय गाउँलेका अनुसार भौतिक योजना तथा निर्माण मन्त्रालयको फन्ड बोर्डमार्फत भवानी एकीकृत विकास केन्द्रद्वारा विभिन्न वार्डमा खनिएका इनारहरु इनारको रुपमा मात्र रहेका छन् तर पानीको थोपा पनि आउँदैन। विष्णुपुरकट्टी (भुल्के) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत वडा नं. १, २ र ४ मा वितरण गरिएका १७५ वटाभन्दा बढी धारामा पनि पानी आउन छोडेको छ।

पानीको मुहान सुक्दै जान थालेपछि अचेल दिन बिराएर एकपटक पानी वितरण गरिएको समितिका अध्यक्ष सूर्यमान तामाङले जानकारी दिनुभयो। गाउँमा पानीको अभाव भएपछि वडा नं. ४ मा रहेको डावर पोखरी वस्तुभाउलाई पानी खुवाउने, भाँडावर्तन माझ्ने, कपडा धुने, नुहाउनका लागि उपयोग भइरहेको छ।

त्यसैगरी, धनगढी गाविसका प्रायः सबै वडाका इनार, कलहरु सुक्न थालेपछि गाउँलेहरु पानीका लागि रातभर जाग्राम बस्ने गरेको धनगढी– ८ मुसहर्नियाका शरुण लामाले बताउनुभयो। ‘मध्यरातदेखि ३ बजेसम्म मात्र केही सङ्लो पानी आउँछ’ लामाले भन्नुभयो ‘त्यसपछि पानी भर्नेहरुको चाप बढ्न थालेपछि लेदो मिसिएको पानी तानेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।’ पोखरी, तलाउ सुक्न थालेपछि स्थानीय गाउँलेले घरमा पालेका वस्तुभाउलाई पानी खुवाउन पनि समस्या भएको छ।

पानीको स्रोत सुकेर समस्या भएपछि धनगढी गाविसको गाउँ परिषद्ले आर्थिक वर्ष २०६९/७० को लक्षित समूहको रकम छुट्याएर पुँजीगत खर्च अनुदानको करिब रु छ लाख खानेपानीको लागि विनियोजन गरेको छ।

खासगरी, अयोध्यानगरको चियाबारी, कसहा, जमदहको मुसहर्निया, पानथरी, पुरानडिही, तेतरिया, सङ्ग्रामपुर, चन्द्रलालपुरको धर्मपुर, घुर्मी, डन्डाटोल, चन्द्रोदयपुरको मगर टोलमा इनार र कल सुकेका छन्। रासस

Leave a Reply

Your email address will not be published.