बजेट निकासा नहुँदा अन्तरजातीय जोडीले प्रोत्साहन रकम पाएनन्

मोरङ- अन्तरजातीय विवाह गर्ने जोडीहरु रकम निकास नहुँदा सरकारले घोषणा गरेको प्रोत्साहन रकम पाउनबाट वञ्चित भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङमा प्रोत्साहन रकम लिन दिनहुँ धाउँदा पनि रकम निकास नभएको भन्ने जवाफ पाएर रित्तो हात फर्कन बाध्य भइरहेका छन्। तीन वर्षअघि सरकारले दलित र गैरदलित जोडीलाई जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गरेपछि हरेक जोडीलाई रु एकलाख प्रोत्साहन रकम दिने घोषणा गरेको थियो। तर रकम पाउन रित पुर्‍याएर निवेदन दिएको वर्ष बित्न लाग्दा पनि रकम पाउन नसकेपछि जोडीहरु निरास हुन थालेका छन्।
अन्तरजातीय विवाह गरेर रीतपूर्वक रकम पाउँ भनी गत वर्ष नै निवेदन दिएका मोरङ पथरी– १ का राजु विश्वकर्माले सरकारले सम्मान दिएको भनेर रकम लिन भनेर रीतपूर्वक निवेदन दिएपनि धाउँदाधाउँदै हैरान भएको बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको रकम पनि पाउन नसक्दा गरिब र दलित समुदायका लागि गरिने घोषणा घोषणा मै सीमित रहेको गुनासो गर्नुभयो।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार अझै मोरङमा १८ जोडीले प्रोत्साहन रकम पाउन सकेका छैनन्। उनीहरु रकम निकास भए,नभएको सोध्न सधैँ आउनेगरेको लेखा अधिकृत कृष्णप्रसाद कट्टेलले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय मोरङबाट हालसम्म २२ जोडीले मात्र प्रोत्साहन रकम लगिसकेका छन्। रासस

Leave a Reply

Your email address will not be published.