तीन मिनेटमा खरानी भयो नाइट कल्ब

एजेन्सी– ब्राजिलको दक्षिणी शहर सान्ता मारियास्थित एउटा नाइट क्लबमा आइतबार भएको आगलागीमा दुई सय ४५ मारिएका छन्। उद्धारकार्य जारी भएकाले मृतक संख्या बढ्न सक्ने प्रहरीले बताएको छ। स्थानीय प्रहरी अधिकारीले त्यहाँको किस नाइट क्लबमा आइतबार सवेरै स्थानीय समय अनुसार करिब दुई बजे आगो लागेको थियो। आगलागी भएपछि एउटै मात्र निकास–द्वार भएका कारण भागदौड मच्चिँदा ठूलो संख्यामा घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। अधिकांश मृतक विश्वविद्यालयका छात्र भएको अनुमान स्थानीय प्रहरीले गरेको छ।
अधिकांशको कुल्चिएर मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्। नाइट क्लबबाट बाहिर निस्कने ढोका एउटै मात्र भएका कारण पनि धेरै मानिस मारिएको प्रहरीले अनुमान गरेको छ। अग्नि नियन्त्रण विभाग प्रमुख गुइडो डीमेलोले आगो लागेका कारण दर्शक डराएर भागेको बताए। डिमेलोले तत्काल मृतक संख्याबारे यकिन भन्न नसकिने बताए।
आतिसबाजी गर्दा क्लबमा आगो लागेको अनुमान छ। प्रहरीले आगलागीको कारणबारे छानबिन भइरहेको जनाएको छ। दुई हजार व्यक्ति अटाउने क्लबमा आगलागी हुँदा खचाखच भरिएको त्यहाँ उपस्थित एक स्थानीय पत्रकारले बताएका छन्। सोमबारदेखि कलेज लाग्ने भएकाले विश्वविद्यालयका विद्यार्थी क्लबमा रमाइलो गरिरहेको सरकारी अधिकारीले जनाएका छन्।
उद्धारकार्यमा संलग्न अधिकारीले क्लबबाट धुँवाको मुस्लो निस्केको बताए। सरकारी अधिकारीका अनुसार क्लबबाट मानिसको उद्धार गर्न क्लबको एउटा भित्ता नै भत्काउनु परेको थियो। आगलागी नियन्त्रण गरिसकिएको र मृतकका शवको खोजी भइरहेको सरकारी अधिकारीले जनाएका छन्।
चिलीको भ्रमणमा रहेकी ब्राजिली राष्ट्रपति डिल्मा रुसेफ आगलागीपछि भ्रमण छोट्याएर आइतबार नै स्वदेश फर्केकी छिन्। अर्को वर्ष ब्राजिलमा विश्व कप फुटबल प्रतियोगिता हुँदैछ। आगलागीमा ठूलो संख्यामा मानिस मारिएपछि ब्राजिलको आपतकालीन संकट व्यवस्थापन कुशलतामाथि पश्चिमी सञ्चारमाध्यमले प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published.