विवाहको बस दुर्घटना हुँदा बीस घाइते

झापा- जन्ती बोकेर पश्चिमतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। बिहीबार बिहान ५ बजे झापाको दमकतर्फबाट पश्चिमतर्फ आउँदै गरेको को१झ ३५३९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत डाँगीहाट–४ भाउन्नेमा दुर्घटना हुँदा २० जना घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार टायर पन्चर भएर राजमार्गमा रोकिराखेको उखु बोकेको ट्रकसँग बाक्लो हुस्सुले गर्दा पश्चिमतर्फ आउँदै गरेको जन्तीबस ठोक्किन पुग्दा सो दुर्घटना भएको हो।
दुर्घटनामा पर्ने धेरैजसो भारतीय रहेको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार घाइतेको विराटनगरस्थित न्युरो अस्पताल र सुनसरी धरानस्थित विपी स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ। बस र ट्रक दुवै प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.