भारतमा लिङ्ग पहिचान, नेपालमा गर्भपतन

वीरेन्द्र कर्ण, जनकपुरधाम- धनुषा यदुकुहाकी दुलारी सदायले जनकपुरको एक अस्पतालमा हालै दोस्रो पटक गर्भपतन गराइन्। गर्भमा छोरी देखिनासाथ गर्भपतन गराएकी उनको स्वास्थ्यमा अहिले असर देखिन थालेको छ। गर्भमा छोरी भएकै कारण गर्भपतन गराउने उनी एक्ली महिला होइनन्। गर्भमा छोरी रहेको थाहा पाउनासाथ गर्भपतन गराउनेहरुको सङ्ख्या अत्यधिक रहेको चिकित्सकहरु बताउँछन्।
लिङ्ग पहिचान गरी गर्भपतन गराउनु गैरकानुनी कार्य हो भन्ने थाहा पाएकाहरु पनि त्यसको बेवास्ता गरी गर्भपतन गराइरहेका र त्यो सङ्ख्या बढ्दो छ। परिस्थिति यहीरुपमा अगाडि बढे आउँदा दिनहरुमा छोरीको सङ्ख्या एकदमै कम हुने अड्कल यहाँका विज्ञहरुले गरेका छन्।
सरकारी अस्पतालभन्दा निजी अस्पतालहरु तथा क्लिनिकमा अत्यधिक मात्रामा कानुन विपरीत गर्भपतन गराउने गरेको पाइएको छ। एक आङ्कडाअनुसार जनकपुरमा मात्र प्रत्येक दिन २० भन्दा बढी गर्भपतन हुने गरेका छन्।
नेपालमा १२ हप्ता अर्थात् तीन महिनासम्मको गर्भको लिङ्गको पहिचान गर्न कठिन र महङ्गो रहेको छ। बाह्र हप्तापछिको गर्भपतन गराउनु स्वास्थ्यका लागि असुरक्षित मानिन्छ जुन कानुनीरुपमा अवैधानिक हुने जनकपुरको एक स्त्रीरोग विशेषज्ञले बताए।
परम्परागत सोचका कारण छोराको आशामा गर्भपतन गराउँदा धनुषा जिल्लामा बर्सेनि सयौँ महिलाले ज्यान गुमाउनु परेको छ। तर पनि महिलाहरुमा सचेतना भने बढेको छैन।
भारतको जयनगर, सीतामढी, दरभङ्गा, पटनालगायत स्थानमा लिङ्ग पहिचान गरी नेपालमा गर्भपतन गराउने महिलाको सङ्ख्या अत्यधिक छ। त्यतिमात्र नभएर अवैधरुपमा गर्भधारण गरेका युवती तथा महिलाहरुले सीमापरी भारतीय अस्पताल, जनकपुरका निजी क्लिनिकहरुमा बढी रकम तिरेर गर्भपतन गराउने गरेको पाइएको छ।
गत आर्थिक वर्ष २०६८/०६९ मा जनकपुर अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या २३१ रहेको छ।

“प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरुको कमाइ नै गर्भपतन गराउनेहरुबाट हुने भएकाले उनीहरु दलाल मार्फत गर्भपतन गराउने स्त्रीहरुको खोजी गर्ने गरेका छन्,” जनकपुर अञ्चल अस्पतालका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए। रासस

Leave a Reply

Your email address will not be published.