एपीएफलाई केएनपीको उपाधि, सरस्वती चौधरी बेस्ट प्लेयर घोषित

न्युडायमण्ड एकेडेमीलाई हराउँदै एपीएफले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपीएफले न्युडायमण्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जित्न सफल भयो ।

एपीएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएपनि न्युडायमण्डले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरेको थियो । एपीएफले पहिलो २५–२२ र दोस्रो २५–१८ ले आफ्नो पक्षमा पारेको थियो ।

तर त्यसपछि न्युडायमण्डले तेस्रो २५–१८ र चौथो पनि २५–१८ ले आफ्नो पक्षमा पार्दै सेटमा २–२ को बराबरी ग¥यो । यद्यपी निर्णायक एवम् पाँचौ सेट एपीएफले १५–८ ले जित निकालेपछि उपाधि रक्षा गर्न सफल भयो ।

विजेता एपीएफले ट्रफिसँगै क्वायरटफ म्याट्रेसले प्रायोजन गरेको एक लाख ५० हजार रुपैयाँ प्राप्त ग-यो । उपविजेतामै सिमित न्युडायमण्डले ट्रफि र नगद एक लाख रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको बेस्ट प्लेयर एपीएफकी सरस्वती चौधरी चुनिइन् । सरस्वतीले जेम फ्लोरिङले प्रायोजन गरेको नगद १५ हजार र ट्रफिका साथै एयर एसियाबाट प्रायोजन भएको काठमाडौ–मलेसिया–काठमाडौँको एयर टिकट प्राप्त गरिन् ।

शेर बहादुर खड्का स्मृति स्पेशल अवार्डबाट न्युडायमण्डकी प्रतिभा मालीले सम्मानित भइन् । मालीले जेम फ्लोरिङ नै प्रायोजन गरेको नगद १० हजार रुपैयाँ हात पारिन ।

प्रतिभाले प्यारागन ट्राभल्स एण्ड टुर्सका कार्यकारी निर्देशक प्रकाश सिंह कार्कीद्धारा प्रायोजन भएको माउण्टेन फ्लाईटको टिकट समेत प्राप्त गरिन् ।

 

Leave a Reply

Your email address will not be published.