दोदा नदीको भत्केको पुल चार वर्षसम्म बन्न सकेन

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र दोदा नदीमा चार वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न सकेको छैन। नदीमा पुल बन्न नसक्दा सर्वसाधारणलाई नदी तर्न निकै सास्ती व्यहोर्नु पर्ने भएको छ। शङ्करपुर कन्जस्थित नदीको पुललाई विसं २०६५ मा बाढीले भत्काएको थियो। 
जिल्ला विकास समितिले भत्केका पुलका सामग्री खोलेर दुई लाख रुपैयाँ खर्च गरेर ढुवानी गरी कार्यालयमा थन्क्याएको छ। स्थानीयवासीले पाँच वर्षदेखि पुल बनाउन पटकपटक माग गर्दै आएका छन्।
शङ्करपुर कन्जका बद्री रानाले पुल भत्केपछि पटकपटक जिल्ला विकासमा जाँदा पनि सुनुवाइ नगरिएको बताए। पुल भत्केपछि जिविस जान थालेका हौँ अहिलेसम्म सुनुवाइ गरिएको छैन उनले भने।
बाढीले पुल भत्काएपछि स्थानीय बासिन्दा नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनीहरु हिउँदमा काठे पुल र वर्षायाममा डुङ्गा प्रयोग गरी ओहोरदोहर गर्छन्। गत वर्ष डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको थियो।
युवा क्लबले हिउँदे याममा बनाएको अस्थायी पुलमा ओहोरदोहोर गर्न पनि शुल्क लिने गरिएको छ। पुल मर्मतका लागि साइलक र मोटरसाइबाट रु पाँचदेखि १० सम्म शुल्क लिने गरिएको छ।
शङ्करपुर, जिल्लाको सबैभन्दा पुरानो बस्ती हो। कन्जका नामबाट कञ्चनपुर जिल्लाको नामकरण गरिएको जानकारहरुको भनाइ छ। नदीमा पुल नहुँदा बर्खायाममा नदी पारी नौ वडाका बासिन्दा ओहोरदोहोर गर्न पाउँदैनन्।
सदरमुकाम आउने जाने र विद्यार्थी सबैभन्दा बढी मार्कामा पर्ने गरेको स्थानीय निर्मल रानाले बताए। ‘बर्खामा नौ वडाका बासिन्दा पारी जान सक्दैनौँ’ उनले भने।

दोदा नदीको बाढीले विस्थापित ४०० भन्दा बढी बासिन्दा लालझाडी जङ्गलमा अस्थायी छाप्रा बनाएर बसेका छन्। पुल बन्न ढिलाइ भएपछि त्यहाँका बासिन्दाले धनगढी हुँदै सदरमुकाम आउने वैकल्पिक बाटो बानाउन थालेका छन्। कन्ज नजिक वडा नालामा पुल बनाउन थालिएको छ। रानाले पुल बनेपछि आफूहरुलाई वर्षायाममा धनगढी हुँदै सदरमुकाम जान सहज हुने बताए।
झोलुङ्गे पुलका तार र लठ्ठाहरु जिविसमा थन्क्याइएका छन्। प्राविधिक कार्यालय पछाडि राखिएका तारमा खिया लागेको छ। जिल्ला विकास समितिले पुल निर्माणका लागि यस वर्ष बजेट छुट्याएको छ। समितिका योजना अधिकृत महेश बमले पुल बनाउन रु २० लाख छुट्याइएको बताए। रासस

Leave a Reply

Your email address will not be published.