थारु बस्तीमा संघीयता बुझाइ

नीरा भगत थारु– एक नेपाली कविले लाक्षाणिक भावमा भनेका छन् कि : 

‘सोझा जति काठ सब काटिदिन्छन्,
बाङ्गा जति काठ सब छोडिदिन्छन्।’
मानवीय आचरण, विचार र स्वभाव यस्तै छ। बाङ्गा–टिङ्गा, टाठा–बाठाहरु प्रयोगमा ल्याइँदैनन्, सिधासादा र सरल व्यक्ति नै सबैको प्रयोगको तारो हुन्छ। सोझो काठ हसियाँ, कुटो कोदालाको बिँडदेखि घर–चोक जताततै प्रयोग हुन्छ तर बाङ्गो काठ जङ्गलमै जिवित रहन्छ। कसैको तारो बन्नुपर्दैन। यही अवस्था नेपालका थारु समुदायको राजनीतिक छायाचित्रमा देखिन्छ।
नेपालका थारु समुदायहरु संघीयताका बारेमा के चाहन्छन्? भन्ने स्वयम् थारु नेताहरु थारुका नामबाट स्थापित गैरसरकारी संस्थासमेतले थारु समुदायको मनोभावना बुझेको पाइँदैन। थारु समुदायको मनोभावना थारु नेताहरुको भाषण हो कि? थारु समुदायको नामबाट खुलेका गैरसरकारी संस्थाको वक्तव्य हो कि? यसबारेमा वास्तविकता बु‰ने चेष्टा कसैबाट भए–गरिएको देखिएन।
थारु समुदायको धारणा बुझ्नुअघि उसको प्राकृतिक स्वभाव, रहनसहन, पेसा व्यवसाय आदि बुझ्नु जरुरी रहेको हुन्छ। साथै थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक अवस्थाका बारेमा पनि विश्लेषण गर्नु जरुरी रहन्छ।
थारु जातिको स्वभाव सरल, उपकारी, गुणी, स्वभिमानी भएकै कारण अन्य जुनसुकै जातिसँग पनि यो जाति स्वाभाविक रुपले घुलमिल भएको हुन्छ। प्रकृतिपूजक थारु जातिले यस वर्षको जनगणनाताका विवरण टिपाउँदा ‘बौद्ध’ धर्म लेखाउन आम थारु समुदायलाई थारु कल्याणकारिणी सभालगायतका संस्थाले सार्वजनिक आह्वान नै गरेका थिए। तर, जनगणनाका बेला अधिकतर थारु परिवारले आफूहरु सनातनी हिन्दू नै भएको विवरण लेखाएको पाइयो। यसरी हिन्दू धर्म–संस्कृतिप्रति आस्थावान पनि थारु जातिले अन्य धर्मावलम्बीप्रति जहिले पनि आदरभाव राखेका हुन्छन्। थारु जातिका मानिसहरु पहाडी समुदायका व्यक्तिसँग जसरी घुलमिल र भातृत्वको भावनासहित सन्निकट हुन सफल छन्, त्यसरी नै उनीहरुले मधेसी समुदायका अन्य जातिको पनि मन र विश्वास जितेको पाइन्छ। कतिपय अवस्था र स्थानमा मधेसी समुदाय र पहाडी समुदाय, हिन्दू समुदाय र मुस्लिम एवम् बौद्ध धर्मका बीच यसले पुलको काम पनि गरेको पाइन्छ।
विद्यालय व्यवस्थापन समितिदेखि सिचाइँ उपभोक्ता समितिसम्मको गठन प्रक्रियामा अन्य जाति, समुदायकाबीच सहमति हुन नसक्दा थारु समुदायका व्यक्तिको हकमा सर्वसम्मत वा बहुमत भएका घटना क्रमले थारु समुदाय स्थानीयस्तरका आफ्ना गाउँबस्तीमा रहेका सबै जातिका छिमेकीहरुसँग असल सम्बन्ध राख्न सकेको कुरा स्थापित हुन्छ।
यो जाति सोझो सिधा हुनुको साथै अशिक्षा, गरिबी, एवम् चेतनाको कमीका कारण पिछडिएको जाति एवम् समुदायभित्र पर्छ। मुलतः तराईमा गर्ने यो जाति समुदायका मानिससँग दुई दशकअघिसम्म पनि निकै जग्गाजमिन भएको देखिन्थ्यो। तर, कालान्तरमा यिनीहरुको सोझोपनको फाइदा उठाएर अन्य जातिका मानिसले क्रमशः थारुहरुको जग्गा आफ्नो पार्दै लगे। सोझोपनका कारणले हुने ठगीबाट जोगाउन पञ्चायतकालसम्म पनि ४० वर्ष नकटेका थारुले जग्गा रजिस्ट्रेशन गर्दा मालपोत कार्यालयले भरपर्दो साक्षी ल्याउन लगाउँथ्यो भनिन्छ।
जमिनमा स्वामित्व घट्दै गए पनि थारु जतिको मुल पेसा कृषि नै हो। त्यसमा पनि परम्परागत कृषि व्यवसायमा लागेका कारण आर्थिक उन्नतिमा सबल हुन सकेका छैनन्। आफ्ना उत्पादनहरु अथवा कृषि उपजका रुपमा रहेका तरकारी, फलफूल र खाद्यान्न गाउँबाट सहरसम्म ल्याई बेचेर नुन, तेल, लत्ता, कपडा किनी पुनः घर फर्कनेबाहेक ठूला व्यापारमा थारु समुदायको हालसम्म पहुँच हुन सकेको छैन। व्यापारमा ज्ञान–सीपको अभाव, पुँजीको कमी र न्यून सङ्ख्यामा मात्र सहरमा बसी अत्यधिक व्यक्ति गाउँमै रहने हुँदा पनि स्वाभाविक रुपमा व्यापारमा थारु समुदायको पकड हुन सकेको छैन। प्राविधिक शिक्षा र उच्चशिक्षा लिई विद्यालयहरु शिक्षकशिक्षिका हुनेहरुको सानो सङ्ख्या हाल देखिन थालेको पाइन्छ। अपवादबाहेक थारु समुदायबाट निजामतीक्षेत्रको उच्च पदमा पुग्न सकेका छैनन्।
थारु समुदायको व्यक्ति जतिसुकै गरिब भए पनि, जस्तोसुकै प्राकृतिक एवम् दैवीविपत्ति परे पनि ऊ कहिल्यै मागेर खाँदैन बरु जतिसुकै कडा र खतरायुक्त काम गर्न तयार हुन्छ। थारु समुदायको पर्यायवाची अर्को नाम परिश्रमी व्यक्ति पनि हो।
यो जातिको राजनीतिमा प्रभाव र अन्य जातिसँग उसले गरेको प्रतिस्पर्धा पनि उल्लेख्य छ। भनिन्छ, राजनीतिमा साम, दाम, दण्ड, भेद गरी चार कुरा अपरिहार्य हुन्छ। नेपालमा हालैका दिनमा देखिने गरेको राजनीतिक ताण्डव नाच हेर्दा अरु दुई कुरा पनि थपिएको छ, त्यो हो, मनि र मसल। यस परिस्थितिमा सिधासाधा तर गरिब र मेहनती थारु समुदायको व्यक्ति अन्य जातिका चतुर, टाठाबाठा र छुट्टु व्यक्तिका हुलमा हराउँछन्। उनीहरुलाई भोट बैंकका रुपमा नेता, गैरसरकारी संस्थाका सञ्चालक, भोट बैंकका ठेकेदारहरुले उपयोग गरेको पाइन्छ। गाउँमा अन्य जाति वा समुदायका व्यक्तिले मितेरी साइनो जोडेर पनि थारु भेट तानेका हुन्छन्। तर, थारु स्वयम्ले मेरो समुदायलाई यो कुराले हित गर्छ भनी आफ्नो भनाइ र वर्चश्व अन्य जाति, समुदायसम्म पुर्‍याई आफ्नो हितमा ध्यान केन्द्रित गराउन सकेको पाइँदैन। थारु समुदायको आवाज राज्यशक्तिसम्म पुर्‍याउन सकेको पाइँदैन। त्यसकारण पनि थारु समुदाय अन्य जातिका व्यक्तिसँगको राजनीतिक प्रतिस्पर्धामा कमजोर देखिँदै आएको छ।
‘अतिति देवो भव’ लाई मुल मन्त्र र धर्म मान्ने थारु समुदायको कुनै गरिब परिवारमा बास बस्न अन्य समुदायको व्यक्ति पुगेमा उनीहरु आफूले ओछ्याएको सुकुल र एउटा कम्बल पनि पाहुनालाई दिन्छन्। आफू भुइँमा सुत्ने, आफू भोको भएर पनि अरुलाई भोजन गराउने थारु समुदायको सामान्य धर्म हो। अर्को जाति, समुदायप्रति यति त्याग गर्ने संस्कृति अरु कुनै जातिमा छ? मैले हालसम्म अर्को समुदायमा त्यत्रो उदार भावना भएको पाएको छैन। यत्रो विशाल छाति र उदार हृदय भएका थारु समुदाय साम्प्रदायिक हुनै सक्दैनन्। ‘थारु–थारु एक हौँ, अरु जाति सम्प्रदायलाई भगाऔँ’ भन्ने कुभावना थारु समुदायको हृदयमा कहिल्यै पलाउनै सक्दैन। थारु समुदाय वचन, आचरण, व्यवहार र धर्मले कहिल्यै साम्प्रदायिक बन्न सक्दैनन्। पहाडबाट बसाइँ झरेका भोका, नाङ्गा, पहाडी समुदायका व्यक्ति हुन वा भारतबाट कामको खोजीमा आएका गरिब जनता वा मधेसबाटै मधेसमा बसाइँ सरेका मधेसी समुदायका व्यक्ति सबैको सहारा र पहिलो गन्तव्य एवम् सुरक्षा कवच थारु समुदाय नै थिए, छन्। यसरी आफैँले संरक्षण, सुरक्षा र साथ एवम् शरण दिएका व्यक्तिलाई आफैँ उठीबास लगाउने सोचमा थारु समुदायले पाल्नै सक्दैन।
चाहे संघीयताको कुरामा होस् वा संविधान निर्माणमा थारु समुदायले हामीलाई यो नामको राज्य चाहियो भनेर अरुलेजस्तो हलो अड्काएर गोरु चुट्ने काम गरेका छैनन्। एकल पहिचानको वकालतभित्र थारु समुदायको अस्तित्व हराउनु भएन। सबै समुदायको उन्नतिमा थारु समुदायलाई पछि नपारियोस्। अरु समुदायका बच्चा स्कूल जाँदा यो समुदायको बच्चा गोठालो जान नपरोस्, अरु समुदायका व्यक्ति बिरामी भई विशेषज्ञ चिकित्सकको सेवा लिइरहँदा थारु समुदायको व्यक्ति बिरामी हुदाँ धामीको घर जाने बाटो सोध्दै हिँड्न नपरोस्। अरुले दिनहुँ रोस्ट चपाइरहँदा थारु समुदायका मानिसले पेटभरि खान दसैँ, माघी वा सिरुवा पर्व पर्खनुनपरोस् अनि अन्याय पर्दा आँसु पिएर आफ्नै भाग्यलाई दोष दिनुनपरोस् भन्ने थारु समुदायको माग हो। के यति कुराको माग र आशा राज्यसँग राख्दा थारु समुदाय साम्प्रदायिक हुन्छ? अन्य जातिको अधिकार खोस्न लागेको वा खोसिएको हुन्छ? थारु समुदायले कहिल्यै अरुलाई नदेऊ, हामीलाई मात्र देऊ भनेको छ? अरुलाई दिए जति नै हामीलाई पनि देऊ भन्दा थारुले अरु जातिप्रति विभेद र अन्याय गरेको हुँदैन।
थारु समुदाय जन्मजात वा वंशजरुपमा उसको गुण हेर्दा नेपालको माटो, ढुङ्गा भएको जमिनको भू–भागमा मात्र होइन, हरेक नेपालीको मन मास्तिकमा अटाएको र छरिएको पाइन्छ। त्यसैगरी हरेक समुदायका नेपालीहरुलाई थारु समुदायका हृदय, मन मस्तिकमा सजाएको पाइन्छ। यस अवस्थामा थारु समुदायले केवल समुच्चा नेपाल र नेपालीको हित हुँदा आफ्नो पनि हित हुनुपर्‍यो भन्ने माग राखेकाले संघीयताको मामिलामा यिनीहरु बहुपहिचानका पक्षमा उभिएको प्रष्ट हुन्छ। वर्तमान नेपालको राष्ट्रगानमा परेका शब्द ‘सय थुङ्गा फूलका हामी एउटै माला नेपाली’ले थारु समुदायको भावना समेटेजस्तो लाग्छ।

नागरिक पुर्वेलीबाट साभार

Leave a Reply

Your email address will not be published.