थारु नागरिक समाजको प्रश्न- ‘टीकापुरमा थारुको घरमा लुटपाट र आगजनी गर्ने खोइ पक्राउ परेको?’

टीकपुर घटनालाई लिएर अहिले भइरहेको टीकाटीप्पणीप्रति थारु नागरिक समाज कैलालीले ध्यानाकर्षण जनाएको छ। संयोजक दिलबहादुर चौधरीद्वारा जारी विज्ञप्तीमा टीकापुरमा प्रहरीको ज्यान जानु र मधेस आन्दोलनमा ६० जना निर्दोष नागरिकको ज्यान जानु दुःखद भएको उल्लेख छ।

‘०७२ भदौ ७ गते टीकापुरमा घटेको उक्त घटनाका आरोपित थारुहरु अदालतको फैसलाबेगर नै २ वर्ष ९ मिहना करागारको सजाय भोगिसकेका छन्। मधेसी नागरिकका हत्यारालाई कुनै कारबाही भएको छैन। भदौ ८ गते टीकापुरका थारुहरुको घरमा भएको लुटपाट र आगजनीका आरोपितहरुलाई सरकारले पक्राउसमेत गर्न सकेको छैन। यो अवस्थामा देशको मानवअधिकार संरुक्षकको रुपमा रहेको राष्ट्रिय मानवअधिकार आयोगले निष्पक्षरुपमा बोल्नुपर्थ्यो, पक्राउको सिफारिस र सुझाज दिन सक्नुपर्थ्यो तर त्यसो भएको देखिएन। आयोगको यो कार्यले आयोग कसको हकहितको लागि हो भन्ने प्रश्न खडा भएको छ,’ विज्ञप्तीमा उल्लेख छ।

सय अपराधी छुटुन तर निरपराधी जेल नपरुन् भन्ने फौजदारी न्यायको सिद्धान्त रहेको उल्लेख गर्दै थारुहरुले शान्तिपूर्ण नाराजुलुस गर्दा प्रहरीले रोक्ने तर अखण्ड नामधारी आन्दोलनकारीलाई पूरा छुट दिने प्रहरीको कार्य राष्ट्रिय मानवअधिकार आयोगको नजरबाट नछिपेको आरोप समाजको छ।

‘टीकापुरको घटना आन्दोलनको क्रममा दिउँदै भएको घटना हो। राति राति लुकेर योजनाबद्ध हिसाबले गरिएको छापामार युद्ध होइन। न त सामन्तहरुको टाउको काट्ने युद्ध नै हो। यो आन्दोलनकारीमाथि राज्यले गरेको बर्बर दमनको तत्कालीन उपजमात्रै हो। जसलाई सरकारले राजनीतिक घटनाको रुपमा स्वीकार गरेको छ, थारु नागरिक समाज कैलाली उक्त निर्णयको स्वागत गर्दै सबैलाई संयमित हुन अनुरोध गर्छ,’ विज्ञप्तीमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published.