‘जेठको दोस्रो हप्ताभित्र निर्वाचन गराउन सहमतिमा जोड’

विराटनगर- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले मुलुकको राजनीतिक व्यवस्थापन राम्रो नभएका कारण सबै क्षेत्र प्रभावित हुन पुगेको बताएका छन्। मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मोरङद्वारा आइतबार कञ्चनबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक गरिब हुनाका दोषी अरु कोही नभइ राजनीतिक दल नै हुन् भन्दै प्रशस्त सम्भावना र स्रोत रहेर पनि विकास पूर्वाधार नबन्नु दुःखदायी भएको बताए। 
संविधान सभाको विघटनपछि मुलुकको राजनीतिक झन् बिग्रेको चर्चा गर्दै उनले नेपाली जनतालाई सङ्कटबाट मुक्त गरी अधिकारसम्पन्न गराउन संविधान सभाको निर्वाचन आवश्यक रहेकामा जोड दिए। उनले राजनीतिक सहमतिबिना निर्वाचन हुन सक्दैन भन्दै आगामी जेठको दोस्रो हप्ताभित्र निर्वाचन गराउन पनि सहमति आवश्यकता रहेको बताए।
नेपाली कांग्रेस र नेकपा (एमाले) सहमतिका अनेक विकल्पमा पनि सहमत हुन नसकेको बताउँदै उनले भने– नयाँ नेपाल निर्माण गर्न तथा विश्वका अन्य विकसित देशको दाँजोमा नेपाललाई लैजान पनि राजनीतिक दलका बीच एकता आवश्यक छ।

कार्यक्रममा सर्वहारा वर्ग माओवादी पार्टीका संयोजक राजेन्द्र मण्डलले पार्टी फोरम (लोकतान्त्रिक)मा मिलेको घोषणा गरेका थिए भने विभिन्न राजनीति दल परित्याग गरी पार्टीमा प्रवेश गर्ने १ सय ५० जना नवप्रवेशीलाई नेता गच्छदारले फूलमाला लगाई स्वागत गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.