तनावपछि पाल्पाको रामपुरमा अनिश्चितकालीन कर्फ्यु

पाल्पा- पाल्पाको रामपुरमा २७ वर्षीय सोनु श्रेष्ठको हत्याको विषयमा तनाव भएको छ। आइतबार बिहानैदेखि स्थानीय र प्रहरीबीच भएको तनावमा १८ जना प्रहरी र तीनजना प्रदर्शनकारी घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले रामपुर बजारमा कर्फ्यु लगाएको छ। दिउसो तीनबजेदेखि देखि अनिश्चितकालका लागि कफ्यु लागाईएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

बिहानै देखि स्थानीयले प्रहरी कार्यालय घेरेर नियन्त्रणमा लिएका थिए। आक्रोशित स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेको प्रतिक्षालयमा आगजनी गरेका थिए। हजारौंको भीडलाइ नियन्त्रणमा लिन प्रहरीले ६५ राउण्ड हवाइ फायर गरेको छ भने अश्रुग्याँस समेत प्रहार गरेको प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले बताए। ‘स्थिति नियन्त्रणमा लिनका लागि अहिले कफ्यु लगाइएको छ,’ उनले भने।

स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय पाल्पा, क्षेत्रीय प्रहरी कार्यालय पोखरा र बुटवल प्रहरी कार्यालयबाट सयजना बढीको टोलि रामपुर पठाइएको छ। पोखराबाट एसपिको कमाण्डमा ५५ जनाको टोलि रामपुरतर्फ प्रस्थान गरेको पाण्डेले बताए।

हत्यारालाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा महिलाको संख्या उल्लेख्य छ। डेढ महिनाअघि बेपत्ता महिला सोनुको हत्यामा उनकै श्रीमान ओमबहादुर श्रेष्ठ संलग्न रहेको आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published.