विश्वकपको खुट्किला चढ्ने लक्ष्य

विनोद पाण्डे- थाइल्यान्डमा अर्को साता शुरु हुने एसिसी महिला च्याम्पियनसिपको अर्थ बेग्लै छ। यो विश्वकपमा पुग्ने पहिलो चरणको खाका हो। त्यसको अर्थ पहिलो पटक नेपाली महिला क्रिकेटले विश्वकप छनोट चरणमा सहभागिता जनाउन गइरहेका छन्। नेपालका लागि विश्वकपसम्मको यात्रा लामो छ, असम्भव भने छैन्।
जनवरी २३ देखि ३१ सम्म थाइल्यान्डका चियाङमाइमा हुने प्रतियोगिताको विजेताले अर्को चरणमा प्रवेश पाउनेछ। त्यसैले विश्वकपको छनोट यात्रा अगाडि बढाउन नेपालसँग उपाधि जित्नुबाहेक अर्को विकल्प नै छैन। थाइल्यान्डको विजेताले जुलाई–अगस्टमा आयरल्यान्डमा हुने आइसिसी महिला विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सो प्रतियोगितामा आयरल्यान्डसँगै पाकिस्तान, श्रीलंका, क्यानडा, जापान, नेदरल्यान्ड तथा एसिसी र अफ्रिकाको विजेता गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
आयरल्यान्डको विजेताले अर्को वर्ष बंगलादेशमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्नेछ। छनोट चरणबाट आउने एक टोलीबाहेक विश्वकपमा साविक विजेता अस्ट्रेलिया, भारत, बंगलादेश, न्युजील्यान्ड, इंग््ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्नेछन्। अक्टोबरमा चीनमा भएको एसिसी ट्वान्टी–२० एसिया कपमा आयोजक टोलीसँगै पराजित भएकाले नेपालका लागि एसिसी महिला च्याम्पियनसिप प्रमुख तगारो हुनसक्छ। अझ एसिसीका पछिल्ला ट्वान्टी–२० प्रतियोगितामा नेपाललाई हङकङ, थाइल्यान्डले नै मात दिएको छ।
‘चीनको प्रदर्शनलाई नै हेरेर हामीले टोलीमा निकै सुधार गरेका छौँ। रनिङ विट विन द विकेट अहिले पनि हाम्रो समस्या हो, त्यो सुधार भएको छ। फिटनेसमा राम्रो भएसँगै यो आफै सुधि्रने पक्ष हो,’ नेपाली टोलीका प्रशिक्षक जमिल अन्सारीले भने, ‘अलराउन्डर धेरै हुनु हाम्रो राम्रो पक्ष हो। लगभग ८० प्रतिशत खेलाडी अलराउन्डर छन्। त्यसैले प्रतियोगित जित्ने लक्ष्य हामीले राखेका छौँ।’ कुनै राष्ट्रलाई कमजोर नआँकेको बताउँछन् अन्सारी। भन्छन्, ‘हङकङ, चीन र थाइल्यान्ड बलियो टोली हुन् भन्ने पनि हामीले बुझेका छौँ।’
नेपालले कम्तीमा पनि दोस्रो चरणमा पुग्ने केही आधार छन्। नेपाली महिला टोलीले छ वर्षपछि पहिलो पटक २५ ओभरको खेलमा प्रतिस्पर्धा गर्दै छ। सन् २००७ मा नेपालले एसिसी महिला च्याम्पियनसिपमा सहभागिता जनाएको थियो। जुन नेपाली महिला क्रिकेट टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। त्यसयता नेपाली राष्ट्रिय टोलीले ट्वान्टी–२० मा मात्र प्रतिस्पर्धा गरेको छ। त्यसमा नेपाल सेमिफाइनलभन्दा माथि उक्लन सकेको छैन्। ट्वान्टी–२० मा महिला टोली अझै जम्न सकेको छैन। पुरुष टोलीलाई नै ट्वान्टी–२० शैली पछ्याउन समय लागेकाले महिलाको प्रदर्शनलाई जायज मानिएको छ।
मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिपमा नेपाल पहिलो प्रयासमै फाइनलमा पुगेको थियो। सो टोलीका नेरी थापा (कप्तान), मधु थापा, नीरा राजोपाध्याय, सीता रानामगर, ममता थापा, तृष्णा सिंह अहिले थाइल्यान्ड जाने टोलीमा छन्। ममता वर्तमान टोलीकी उपकप्तान हुन्। नेरी १२ विकेट लिँदै नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट बलर चुनिएकी थिइन्। यो प्रदर्शनले उनलाई एसिसीको इमर्जिङ युवा महिला खेलाडीको अवार्डसमेत दिलाएको थियो।
अहिले नेपाली टोलीको नेतृत्व रुबिना क्षेत्रीले गर्दै छिन्। गत वर्ष कुवेतमा भएको एसिसी यु–१९ च्याम्पियनसिपमा रुबिनाकै कप्तानीमा नेपालले प्रतियोगिता जितेर ह्याटि्रक गरेको थियो। एसिसी यु–१९ को पहिलो दुई प्रतियोगिता नेपालले नेरीको कप्तानीमा जितेको थियो। ह्याटि्रक गर्ने क्रममा रुबिना फाइनलको उत्कृष्ट खेलाडी बन्नुका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि बनेकी थिइन्। त्यसपछि एसिसी ट्वान्टी–२० कपमा रुबिनालाई नेपाली टोलीको जिम्मेवारी दिइएको थियो।
यस पटकको टोली धेरै राम्रो रहेको रुबिना बताउँछिन्। लामो समयसम्म अभ्यास गर्न पाइएकोले सकारात्मक नतिजाको अपेक्षा उनले गरेकी छिन्। ‘केटाहरूको यु–१६ टोलीसँग दुई अभ्यास खेल खेल्यौँ र एक खेल हामीले जित्यौँ। त्यसैले हामीले सकारात्मक नतिजाको अपेक्षा गरेका छौँ,’ रुबिना भन्छिन।
विगतमा बढीमा तीन हप्ता प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने नेपाली टोली अहिले पाँच हप्तासम्मको लामो प्रशिक्षणमा छ। पुरुष राष्ट्रिय टोलीका प्रशिक्षकद्वय पुबुदु दासानायके र जगत टमाटाबाट प्रशिक्षण पाउँदा महिला क्रिकेटर निकै उत्साहित भएको रुबिना बताउँछिन्। भन्छिन्, ‘एसिसी ट्वान्टी–२० एसिया कपमा हामीले यस्तो प्रशिक्षण पाएको भए चीनमा श्रीलंकालाई नै हराउथ्यौँ, चीन त केही पनि होइन्।’ महिला क्रिकेटमा विजयको मन्त्र हाल्ने पहिला प्रशिक्षक हुन् जमिल अन्सारी। नेपालले थाइल्यान्डमा जितेको एसिसी यु–१९ पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। अहिले पनि टोली थाइल्यान्डको चियाङमाईमा नै खेल्न गइरहेको छ, विश्वकपको खुड्किला चढ्ने उद्देश्यका साथ।

Leave a Reply

Your email address will not be published.