प्रम र महान्यायाधिवक्तालाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं- दैलेखका पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तको अनुसन्धान रोक्न निर्देशन दिने प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई ७ दिनभित्र अदालतमा बयानका लागि स्वयं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सुशिला कार्कीको एकल इजलासले अदालतको अवहेलना गरी हत्याका अभियुक्तको अनुसन्धान रोक्न लगाउने प्रधानमन्त्री र महान्यायाधिवक्तालाई बयान लिन बोलाएको हो।

गत मंगलबार डेमोक्रेटिक लयर्स एशोसियसनका तर्फबाट कमल इटनी तथा नेपाल प्रेस युनियनका तर्फबाट सचिव सन्तोष न्यौपाने सहितले सुर्खेत पुनरावेदन अदालतले थापा हत्याका आरोपीलाई अनुसन्धान नगरेको बारे दैलेख प्रहरी र सरकारी वकिललाई कारण सोधेर प्रहरीले अनुसन्धान तीब्र बनाएपछि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेका थिए।

त्यही मुद्दाको पहिलो सुनुवाईमा सर्वोच्चले प्रधानमन्त्री भट्टराई र महान्यायाधिवक्ता प्रधानलाई बयान दिन बोलाएको हो। प्रधानमन्त्री भट्टराईले सार्वजनिक कार्यक्रममार्फत् द्वन्द्वकालका मुद्दा चलाउन नहुने बताएका थिए। त्यस्तै प्रधानले दैलेखका सरकारी वकिललाई मुद्दा अनुसन्धान र अभियोजन रोक्न लिखित पत्र पठाएका थिए ।

Leave a Reply

Your email address will not be published.