समलिंगी बिहेविरुद्ध प्रदर्शन

पेरिस, एजेन्सी– फ्रान्समा समलिंगीलाई बिहे गर्ने र धर्मपुत्र राख्न नदिन राजधानी पेरिसमा व्यापक विरोध प्रदर्शन भएको छ। फ्रान्समा राष्ट्रपति फ्राँस्वा होल्यान्ड नेतृत्वको समाजवादी सरकारले समलिंगीलाई बिहे गर्ने र धर्मपुत्र राख्न पाउने कानुनी अधिकार दिने प्रस्ताव गरेको छ। सरकारी प्रस्तावविरुद्धको विरोधमा आइतबार लाखौं प्रदर्शनकारी राजधानी पेरिसका सडकमा उत्रिएका थिए।
प्रदर्शनकारीलाई त्यहाँको क्याथोलिक चर्च र दक्षिणपन्थी विपक्षी पार्टीले समर्थन गरेका छन्। प्रदर्शनकारीको भनाइमा कानुन परिवर्तन गरि समलिंगी बिहे र धर्मपुत्र राख्न पाउने अधिकार दिए समाजको आधारभूत संरचना नै तहसनहस हुन्छ। हातमा ब्यानर र पोस्टर बोकेका प्रदर्शनकारी फ्रान्सका विभिन्न ठाउँबाट रेल र बसबाट पेरिस पुगेका थिए। आयोजकले विरोध प्रदर्शनमा आठ लाख सहभागी भएको बताए।
प्रदर्शनकारीले बोकेका पोस्टरमा ‘हामीलाई तिम्रो कानुन चाहिएन, फ्राँस्वा होल्यान्ड’ र ‘नागरिक संहिता हेरफेर नगर’जस्ता नारा लेखिएका थिए। प्रहरीले प्रदर्शनकारीको संख्या एक लाख २० हजार बतायो भने एक मन्त्रीले प्रदर्शनकारीको संख्या आयोजकको अनुमानभन्दा निकै कम भएको बताए। गएको नोभेम्बरमा समेत एक लाख फ्रान्सेलीले समलिंगीलाई अधिकार दिने प्रस्तावित कानुनको विरोधमा प्रदर्शन गरेका थिए।
फ्रान्समा समलिंगी बिहेविरुद्ध मात्र प्रदर्शन नभएर समर्थनमा समेत केही व्यक्तिले प्रदर्शन गरे। फ्रान्समा समलिंगी जोडीलाई सँगै बस्ने कानुनी अधिकार दिइएको छ। राष्ट्रपति होल्यान्डले चुनावताका समलिंगीलाई थप कानुनी अधिकार दिने वचन दिएका थिए।
दक्षिणपन्थी पार्टी युएमपीका अध्यक्ष जँ फ्राँस्वा कोपले विरोध प्रदर्शन राष्ट्रपति होल्यान्डका लागि अग्निपरीक्षा भएको बताए। उनले समलिंगी अधिकार बारे गरिन लागेको हेरफेरबाट लाखौं फ्रान्सेली चिन्तित भएको बताए।
उग्र दक्षिणपन्थी नेसनल फ्रन्ट समेत कानुनमा गरिन लागेको परिवर्तनको विरोधमा छ। फ्रन्टका नेता मेरिन ले पेनले भने प्रदर्शनबाट आफूलाई अलग राख्दै फ्रान्सका वास्तविक समस्याबाट अन्यत्र ध्यान मोड्न नेताहरु यो मुद्दा उठाइरहेको आरोप लगाए।
क्याथोलिक चर्च र दक्षिणपन्थी पार्टीबाट पाएको समर्थनका वावजुद पनि आयोजकहरू भने आन्दोलन गैर राजनीतिक, गैर धार्मिक र समलिंगी विरोधी नभएको बताइरहेका छन्।

Leave a Reply

Your email address will not be published.