मौका दिए सफल प्रधानमन्त्री बनेर देखाउँछु

काठमाडौं- उप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफूलाई मौका आए सफल प्रधानमन्त्री भएर देखाउने दाबी गरेका छन्। माघी पर्वको उपलक्ष्यमा टुँडिखेलमा आयोजित माघी थारु महोत्सव समारोहमा उनले एउटा थारुको छोरा सफल भए आफ्नो राजनीतिक भविष्य नै चौपट हुनसक्छ भनेर डराएर सानो छाती भएका ठूला दलका शीर्ष नेताको सङ्कीर्ण सोचले त्यो मौका नदिएको गुनासो गरे। 
मधेसी जनअधिकार फोरम लोकन्त्रिकका अध्यक्षसमेत रहेका मन्त्री गच्छदारले भने– ठूलो छाती र ठूलो कलेजो ठूला दलका शीर्ष नेताहरुमा छैन, थारुको छोरा सफल होला भनेर उनीहरु डराएका छन्।
ठूला भनिएका दलका कुनै पनि शीर्ष नेताहरुको भन्दा लोकतान्त्रिक आन्दोलनमा आफ्नो भूमिका कमजोर नरहेको दाबी गर्दै मन्त्री गच्छदारले भने— “अहिले आफूलाई प्राप्त भएको जिम्मेवारी कसैको निगाहबाट नभई आफ्नो बलबुताबाट पाएको हो।”
“प्राकृतिक, सामाजिक, धार्मिक, साँस्कृतिक हिसाबले समृद्ध भएर पनि ठूला राजनीतिक दलका नेताहरुका कारण अहिले मुलुकको राजनीति बिग्रिएको अवस्था छ, राजनीति बिग्रिएकाले विकास अवरुद्ध छ”— मन्त्री गच्छदारले भने।
“नेपालको राजनीतिकलाई बिगार्ने ठूला पार्टीका नेताहरु हुन्, नेपाल अब असफल मुलुक बन्ने अवस्थामा पुगेको छ, अब राजनीतिक दलहरुले एक ठाउँमा पुगेर सहमति गर्नैपर्छ”, उनले भने– यद्यपि प्राप्त लोकतन्त्र र गणतन्त्रलई कसैले चुनौती दिन सक्दैन।

सहमतिका लागि मधेसी मोर्चाले प्रयास गरिरहेको बताउँदै उहाँले सङ्घीयता नस्विकार्ने राजनीतिक दलबाट बाहिरिएर सङ्घीयता पक्षधरहरु गोलबन्ध हुनु अहिलेको आवश्यकता हो भने। सिँचाइ मन्त्री महेन्द्र यादवले धर्ती पुत्रका रुपमा रहेका थारु सांस्कृतिक हिसाबले अत्यन्तै धनी रहेको बताए।
उनले लोकतान्त्रिक आन्दोलनमा थारु समुदायको ठूलो योगदान भएपनि अझै पनि उनीहरुको भाषा र संस्कृतिमाथि आक्रमण भइरहेको उल्लेख गरे। आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, पूर्व जनप्रतिनिधि राजेन्द्र चौधरी, रुक्मिणी चौधरी तथा थारु उपत्यका समन्वय समितिका अध्यक्ष सत्यनारायण सुमन चौधरीलगायतले थारु संविधान सभाबाट संविधान जारी होला र ठूलो हर्षोल्लासका साथ यस वर्षको माघी महोत्सव मनाउँला भन्ने आफूहरुको इच्छामा ठूला दलको बेइमानीले तुषारापात गरेको उल्लेख गरे।
महोत्सवमा थारु समुदायका विशेष परिकारका खाना, वेशभूषा र रहनसहन झल्कने सामग्रीका ४० बिक्री कक्ष राखिएका थिए। थारु जातिले माघी पर्वमा खासगरी माछा, बङ्गुर, घुघी, गङ्गटोका मासुका विभिन्न परिकारका साथै तिलको लड्डु, अन्डी धानको भात, बगिया, तरुललगायतका परिकारहरु खाने गर्छन्।
महोत्सवको उपलक्ष्यमा थारु समुदायको कला सँस्कृतिसहितका झाँक्री, गीतसङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो। महोत्सवको आकर्षणको रुपमा नवलपरासीबाट ल्याइएको करिब ५० किलो तौल र १६५ सेन्टिमिटर गोला आकारको विडचा (पिरा) रहेको थियो। रासस

Leave a Reply

Your email address will not be published.