प्रकाश तिमल्सिना- राष्ट्रिय टोलीको प्रशिक्षक नेपाली फुटबलको सबैभन्दा अस्थायी र अस्थिर पद हो। कोही टिक्न सक्दैनन्। कोहीलाई टिक्न दिइदैन। नेपाली फुटबलको नियति यही हो। स्वदेशी प्रशिक्षक ‘आफू पटके हुँ’ भन्ने थाहा पाउँदापाउँदै जिम्मेवारी लिन तयार हुन्छन्। विदेशीको हकमा भने प्रशिक्षण अवधि केही लामो पनि हुनसक्छ। पछिल्लो एक दशकमा सबैभन्दा लामो समय राष्ट्रिय टोली सम्हाल्ने भाग्यमानी बेलायती ग्राहम रोबर्टस मात्रै हुन्। २०६७ पुस देखि २०६८ फागुन अन्त्यसम्म उनले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए। बहाना जे भए पनि रोबर्टस् पनि सम्झौता सकिनुअघि नै स्वदेश फर्केका थिए।
अहिले फेरि नयाँ प्रशिक्षक राष्ट्रिय टोलीको कमान सम्हाल्न आइपुगेका छन्। उनी आउँदो एक वर्ष नेपालमा रहने बताइएको छ। नेपाली टोलीलाई प्रशिक्षण दिन पोल्यान्डका ज्याक स्टेफानोस्की एक वर्षको सम्झौताका साथ यसै साता नेपाल आइपुगेका छन्। यसपटक प्रशिक्षक नियुक्ति प्रक्रिया विगतको भन्दा भिन्न रहेकोले सम्भवतः पोल्यान्डका स्टेफानोस्कीले आउने एक वर्ष नेपाली टोलीलाई तिखार्नेछन्। यसपटकको प्रशिक्षक नियुक्तिमा अखिल नेपाल फुटबल संघ (एन्फा) को एक्लो भूमिका छैन। नेपाली फुटबलको नयाँ प्रायोजक अमेरिकी फुटबल किट्स उत्पादक कम्पनी प्लस वान र एन्फाको आपसी सहमतिमा नयाँ प्रशिक्षक नियुक्ति भएकाले उनले आफ्नो कार्यकाल पूरा गर्ने अपेक्षा गर्न सकिन्छ। उनको मासिक ८ हजार अमेरिकी डलर पारिश्रमिकमध्ये प्लस वानले ६० र एन्फाले ४० प्रतिशत बेर्होने छ। प्लस वानले ६ वर्षका लागि एन्फालाई २७ लाख अमेरिकी डलर बराबरको फुटबल सामग्री उपलब्ध गराउने जनाइएको छ। त्यसकारण पनि नयाँ प्रशिक्षक तोकिएको अवधिसम्म बस्ने अनुमान गर्न सकिन्छ।
झन्डै दश महिनापछि नेपाली फुटबलले नयाँ विदेशी प्रशिक्षक पाएको छ। करिब १४ महिनाको आफ्नो कार्यकाल पूरा गरी बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्स पछिल्लो चैतमा स्वदेश फर्केपछि नेपाली टोली प्रशिक्षकविहीन थियो। यद्यपि दशँैअघि भारतमा सम्पन्न नेहरू कपमा छोटो समयका लागि कृष्ण थापाले टोलीको नेतृत्व गरेका थिए। त्यसो त नेपालले यो बीचमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपरेको छैन।
यसपटक मुख्य मात्र होइन सहायक प्रशिक्षक पनि विदेशी नै छन्। सहायक प्रशिक्षक रिचार्ड ओर्लो, स्टेफानोस्कीसँगै काठमाडौँ आएका छन्। नेपाली फुटबलमा मुख्य र सहायक दुवै प्रशिक्षक विदेशी नियुक्त गरिएको यो पहिलो हो। ओर्लोको मासिक तीन हजार अमेरिकी डलर प्लस वानले नै बेर्होने एन्फाले जनाएको छ।
पूर्व प्रशिक्षक रोबर्ट्स र उनका उत्तराधिकारी बनेका स्टेफानोस्कीको नेपाल आगमनमा केही समानता पनि छ। रोबटर््स २०६७ माघको शुरुवातमा नेपाल आइपुग्दा जस्तै अहिले पनि नेपाल एएफसी च्यालेन्जकप छनोट चरणको तयारीमा जुट्ने बेला भएको छ। तयारीका लागि त्यति बेलाभन्दा अझै कम समय बाँकी छ।
स्वभावले कडा मिजासका रोबटर््स नेपाल बसुन्जेल फुटबल प्रेमीबीच लोकप्रियमात्र रहनेनन्, नेपाली टोली पनि वर्षभर चर्चामा रह्यो। नेपाली टोलीले च्यालेन्जकपको समूह चरण पार, विश्वकप छनोटको पहिलो चरणमा सानदार जित, विश्वकप छनोटकै दोस्रो चरणको दोस्रो लेगमा जोडर््नसँग १–१ को बराबरी, १२ वर्षपछि पहिलो पटक साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्नु रोबर्ट्सको कार्यकालका सुखद पक्ष हुन्। यद्यपि घरेलु मैदानमै आयोजना भएको च्यालेन्जकपको अन्तिम चरणमा तीनै खेल हारेपछि रोबर्ट्सले आफैँ राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरे। सम्झौता अवधि बाँकी रहँदै नेपाल छोडेका रोबटर््सले अन्तिम समयमा एन्फासँगको सम्बन्धबारे केही नबोली स्वदेश फर्केका थिए।
रोबर्ट्सको कार्यकालले नयाँ प्रशिक्षकका लागि एउटा लक्ष्य प्रष्ट छोडेको छ भन्दा फरक पर्दैन। स्टेफानोस्कीले काठमाडौँ उतर्ने बित्तिकै नेपाललाई दक्षिण एसियाको शीर्ष टोली बनाउने योजना सुनाए। एउटा प्रशिक्षकका रूपमा उनको योजनालाई स्वभाविक मान्नुपर्छ। लक्ष्य निर्धारण गर्नु र लक्ष्य प्राप्ति गर्नु दुई अलग विषय हुन् भन्ने पनि स्टेफानोस्कीले राम्ररी बुझेकै हुनुपर्छ। फिफा वरियातालाई खासै महत्व नदिने पूर्व प्रशिक्षक रोबटर््सको समयमा नेपाल लगभग अधिकांश समय दक्षिण एसियाको शीर्षस्थानमा रहेको थियो।
यो निश्चित छ की स्टेफानोस्कीले आउँदो एक वर्ष नेपाली टोली सम्हाल्दा उनको तुलना रोबर्ट्ससँग हुनेछ। फुटबल भनेपछि हुरुक्कै हुने नेपाली समर्थकको मन जित्ने हो भने स्टेफानोस्कीले नेपाली टोलीबाट विगतको भन्दा पनि उच्च प्रदर्शन र नजिता निकाल्न सक्नुपर्छ। आउने एक वर्षमा नेपालले च्यालेन्जकप छनोट र साफ च्याम्पियसिप खेल्नेछ। विगतभन्दा च्यालेन्जकपको समूह चरणमा केही फेरबदल भएको छ। यसपटक पाँच समूह विभाजन गरिएको छ। हरेक समूहको विजेता र सबै समूहको दुई उत्कृष्ट उपविजेता र च्यालेकजपको आयोजकले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्। त्यसकारण पनि यसपटकको समूह चरण पार गर्न पहिलाभन्दा कठिन छ। फागुन २० बाट दशरथ रंगशालामा शुरु हुने च्यालेन्जकपको छनोटमा नेपालले प्यालेस्टाइन, बंगलादेश र उत्तरी मरियाना आइसल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। स्टेफानोस्कीको नेतृत्वमा नेपालले खेल्ने पहिलो प्रतियोगिता त्यही हुनेछ।
स्टेफानोस्की जस्तै रोबटर््स नेपाल आइपुग्दा यहाँको फुटबलबारे अनविज्ञ नै थिए। रहदा, बस्दा रोबटर््स छिट्टै राष्ट्रिय टोलीसँग घुलमिल भए र टोलीमा जोश भरे। रोबर्ट्सलाई भेट्ने जोकोहीले पनि उनलाई जोशिला मात्रै हैनन् सन्की पनि मान्थ्ये। तर, पनि उनले नेपाल बसुन्जेल नेपाली समर्थकमाझ आशाको संचार गरिरहे। विश्वकप छनोटअन्तर्गत जोर्डनसँग नौ–शून्यको लज्जास्पद हार बेहोरेर फर्केको केही दिनमै त्यही टोलीसँग एक–एकको बराबरी गर्दा धेरैले अघिल्लो हार बिर्सेका थिए। उनको नेतृत्वमा नेपालले १७ खेल खेल्दा ६ मा जित ४ बराबरी र बाँकी हार बेहोरे पनि उनको कार्यकाललाई धेरै फुटबल प्रेमीले सफल मानेका छन्।
रोबर्ट्सले नेपाली प्रशिक्षकले छनोट गरेका ४० खेलाडी मध्येबाट राष्ट्रिय टोलीको अन्तिम छनोट गरेका थिए। यसपटक स्टेफानोस्कीसँग भने आफैँ खेलाडी छान्ने सुविधा छ। ए डिभिजिन लिगको पहिलो चरण अन्तिम–अन्तिमतिर पुगेपछि झन्डै १५ दिनको खेल बाँकी रहेकाले प्रदर्शनका आधारमा प्रारम्भिक खेलाडी छनोट गर्ने अवसर उनलाई छ। अहिलेको अवस्थामा उनले कुनै खेलाडीलाई स्टार मानेर होइन, सबै खेलाडीलाई बराबर नजरले हेर्ने अवसर छ। सम्भवतः उनले यसको पूरा फाइदा उठाउने छन्।
दुई वर्षअघि च्यालेन्जकप खेल्नुअघि नेपालले भुटानसँग पोखरामा दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो। यसपटक पाकिस्तान दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आउनेछ। ‘लिगको प्रदर्शनका आधारमा खेलाडी छनोट गरी पाकिस्तानविरुद्ध खेलका लागि तयारी शुरु गर्नेछौँ’ भन्ने स्टेफानोस्कीको भनाइबाट उनी आउने दिनका लागि तयार भएकोे अनुमान गर्न सकिन्छ।
पहिलो चरणको लिग सकिएको (माघ १२) केही दिनमै पाकिस्तान नेपाल आइपुग्ने भएकोले स्टेफानोस्कीसँग धेरै अवसर हुने छैन। तर, नेपाली समर्थकमाझ पुनः आशाको संचार जगाउन मैत्रीपूर्ण खेल महत्वपूर्ण माध्यम बन्नसक्छ।
स्टेफानोस्की
नेपाल आउनुअघि ३७ वर्षे स्टेफानोस्कीले पोर्टोरिको आइल्यान्डको महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिएका थिए। उनी युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएका ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। अमेरिकाको लर्ड आइल्यान्ड रक राइर्ट्सबाट फुटबल खेलेका उनले झन्डै दशक खेलाडीका रूपमा सक्रिय रहेका थिए। पछिल्लो १५ वर्षदेखि उनी प्रशिक्षणमा सामेल छन्।
सन् १९८२ देखि २००६ सम्म स्टेफानोस्कीले अमेरिकामा युथ फुटबलबाट शुरु गरेर न्युयोर्क आल्फपेक्स वेस्टर्न, इरिस रोभर्स एससी, ब्रिकलेन नाइट्स, इजरिया एससी र लङ आइल्यान्ड रक राइडर्सबाट व्यावसायिक फुटबल खेलेका थिए। उनले अमेरिकी फुटबल महासंघबाट बी लाइसेन्सका साथै नेसनल गोलकिपिङ लाइसेन्स र नेसनल सकर कोचेज एसोसिएसन अफ अमेरिका बाट ‘एडभान्स नेसनल’ कोर्समा डिप्लोमा गरेका छन्।
२००८ यता ट्रोपा नारान्जाले चार च्याम्पियनसिप उपाधि जित्दा स्टेफानोस्की टोलीको प्रशिक्षण टोलीका सदस्य थिए। उक्त टोलीले २००८ मा युएसएल डिभिजन वान कमिस्नर्स कपका साथै सिएफयु क्लब च्याम्पियनसिप लगातार २०१० र २०११ मा जितेको थियो। यसैगरी २०१० मा युएसएसएफ डी टू च्याम्पियनसिप जितेको टोली २०११ को नर्थ अमेरिकी सकर लिगको सेमिफाइनलसम्म पुगेको थियो।
शुक्रबार साभार