पटकपटक म्याद थप्ने राष्ट्रपतिलाई प्रश्‍न गर्ने बेला आयो : लेखी

कमला चौधरी, बुटवल- नेपाल अदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले वर्तमान राजनीतिक अस्थिरताको निकासका लाग सर्वपक्षीय, सर्वदलीय गोलमेच सम्मेलनको आवश्यकता रहेको बताएका छन्। मुलुक पछिल्लो समयमा परिर्वतनको बटोतर्फ भन्दा पनि प्रतिगमनको बाटोतर्फ उन्मुख भएको भन्दै अध्यक्ष लेखीले यसका लागि विशेष जनदबाब आवश्यक भएको बताए।

शनिबार आदिवासी जनजाति पत्रकार संघ (अनीज) रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले सरकार कामचलाउ रहेको र साहीअनुसार राष्ट्रपति पनि कामचलाउ बनेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार पूर्णतः असफल भएको टिप्पणी गरे।
पछिल्लो समयमा नयाँ राजनीतिक नेतृत्वको सरकार आवश्यक रहेको भन्दै राष्ट्रपतिले पटक-पटक दलहरुलाई म्याद थप्नुले राष्ट्रपतिप्रतिसमेत प्रश्‍न उठाउने बेला आएको उनले बताए।
दलहरुकै कारण नेपालमा विदेशी हस्तक्षेप बढेको भन्दै नेपाल नागरिक पार्टीका अध्यक्षसमेत रहेका लेखीले कर्नेल लामालाई बेलायत सरकारले पक्राउ गर्नु नेपाली जनता र नेपाल सरकारप्रति हस्तक्षेप भएको र नेपाली राष्ट्रियताप्रति धावा बोलेको धारणा राखे। उनले भने– ‘कर्नेल लामा पक्राउपर्ति खेद व्यक्त गर्छु।’

चार राजनीतिक दलहरु निर्वाचनभन्दा पनि अन्तरिम संविधानको हत्या गरेर २०४७ सालको संविधान व्यूँत्याउने प्रयासमा लागेको उनको आरोप थियो। पछिल्लो समयमा बाबुराम भट्टराई नेतृत्वको सरकालाई राजीनामा गराएर नयाँ सर्वपक्षीय, सर्वदलीय सरकार गठनका लागि कसैको दबाबबाट नभई प्रचण्डको पहलबाट मात्र हुने भन्दै उनले यसका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहल गर्नुपर्ने बताए।
कार्यक्रम आदीवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीका सचिव टेकबहादुर मास्की रानाको सञ्चालनमा भएको थियो।

Leave a Reply

Your email address will not be published.