‘वर्तमान सरकार रहुन्जेल चुनाव र सहमति दुबै हुँदैन’

काठमाडौं- नेपाली कांग्रेस र उपेन्द्र यादव संयोजक रहेको सङ्घीय लोकतान्त्रिक मोर्चा नेपालबीच राष्ट्रिय सहमतिको सरकार गठन, निर्वाचन, सङ्घर्ष र सहकार्यका विषयमा सहमति जुटाएर अघि बढ्नेबारे छलफल सुरु भएको छ। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा भएको सो छलफलमा वर्तमान सरकारको बहिर्गमन गरी राष्ट्रिय चरित्रको सरकार बनाएर निर्वाचनमा जाने र समान विषयमा साझा धारणा बनाएर अघि बढ्नेबारे पनि छलफल भएको छ। सभापति कोइरालासहितका कांग्रेसका नेताहरु पनि सो छलफलमा सहभागी थिए।

मोर्चाका संयोजक उपेन्द्र यादवले यो सरकार रहुन्जेल चुनाव पनि हुँदैन, सहमति पनि हुँदैन र मुलुकले निकास पनि पाउँदैन भन्दै यो सरकार हट्नुपर्छ र संविधान सभाको चुनावमा जानुपर्छ भन्नेमा सहमति भएको बताए।

“अब आन्दोलनमा जानेबाहेक अर्को विकल्प अहिले देखिएन, त्यसका लागि तीन दलको सिन्डिकेट तोडेर आन्दोलनका लागि बृहत् मोर्चा बनाउनुपर्छ,” संयोजक यादवले भने। उनले कांग्रेस र आफ्नो मोर्चाको बीचमा गठबन्धन गर्ने हो भने सङ्घीयता, जनजाति, मधेसका सबालमा व्यापकरुपमा छलफल गरेर निष्कर्षमा पुग्न फेरि कुरा गर्ने सहमति भएको बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले वर्तमान सरकार अविलम्ब हट्नुपर्छ र चुनावमा जानका लागि राष्ट्रिय चरित्रको सरकार बन्नुपर्छ तथा आवश्यक पर्दा सङ्घर्षमा जानुपर्छ भन्नेमा सहमति भएको बताए।
उनले अन्य सहमतिका विषयमा पनि छलफल अघि बढाउनेबारे कुराकानी भएको उल्लेख गरे। प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले पनि संविधानसभाको निर्वाचन गर्नुको विकल्प नरहेको भए पनि सरकार जुनसुकै बहानामा निर्वाचन रोक्ने बाटोमा हिँडेकाले वैशाखको निर्वाचन नहुने बिन्दुमा पुगेकाले अब आन्दोलनबाहेक अर्को उपाय नरहेको बताए।
“आन्दोलनलाई बलियो बनाउन केही अन्य विषयका अन्तरवस्तुमा पनि मोर्चासँग छलफल गर्नेबारेमा सहमति भएको छ,” रिजालले भने। रासस

Leave a Reply

Your email address will not be published.