स्वतन्त्र व्यक्ति हुँदैन: प्रतिपक्ष, हठ छोड्नुपर्छ: सत्तापक्ष

काठमाडौं- प्रतिपक्षी दलका नेताहरुले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु भनेको राजनीतिमा बेइमानी सिवाय अरु केही नहुने तर्क प्रस्तुत गरेका छन्। उनीहरुले एमाओवादी, वर्तमान सरकार र मधेसी मोर्चाले नै निषेधको राजनीति सुरु गरेको आरोप लगाउँदै सन्तुलनका आधारमा राजनीतिको निकास खोजिनुपर्ने बताएका छन्। 
यो सरकारको नेतृत्वमा चुनावी सरकार गठन नहुने सरकारका व्यवहार र कामले पुष्टि भइसकेको बताउँदै नेताहरुले साधन, स्रोत र पैसालाई भन्दा आदर्श र सिद्धान्तका आधारमा राजनीतिको निकास खोजिनु उपयुक्त हुनेमा जोड दिएका छन्।
उता सत्तापक्षीय दलका नेताहरुले सहमति खोजेको बेलामा सत्तापक्ष र प्रतिपक्षको ध्रुवीकरणले गतिरोध फुकाउन नसक्ने भन्दै प्रतिपक्षको निषेधको राजनीति नै समस्याको मूल जड भएको बताएका छन्।
जुन व्यक्तिमा सहमति हुन्छ त्यसैमा सहमति गरौं, अहिले अडान लिनुको औचित्य छैन सहमतिका लागि दलहरु ललिचो हुनुपर्छ, सत्तापक्षले डा बाबुराम भट्टराई र प्रतिपक्षले सुशील कोइरालाको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्छ भन्ने हठको अब तुक नभएको उनीहरुले बताए।
सो अवसरमा नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईले सुशील कोइरालाको विकल्पमा पार्टीले अर्को नाम नदिने र चुनावी सरकारमा कांग्रेसको विकल्प नरहेको उल्लेख गरे।
एमाओवादीका नेता हरिबोल गजुरेलले सहमतिका लागि सुशील र बाबुराम भट्टराईको नेतृत्व नै भन्ने हठ गर्नुको औचित्य नरहेको तथा स्वतन्त्र व्यक्ति आफ्नो छनोट नभए पनि कसैको नाममा सहमति नभएको अवस्थामा मात्र विकल्पको रुपमा प्रस्तुत गरिएको बताए।
नेकपा (एमाले)का नेता भीम रावलले कुनै नेताको नेतृत्वमा सहमति नहुने हो भने सहप्रधानमन्त्री, पालैपालो नेतृत्व लिने अथवा पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर जान सकिन्छ भन्ने आफ्नो तर्क रहेको बताए।
तराई मधेस लोकतान्त्रिक पार्टीका नेता जीतेन्द्र सुनारले मुलुक अहिले अत्यन्त जटिल र संवेदनशील अवस्थामा पुगेको छ यतिखेर दलीय सहमति आवश्यक छ, सत्तापक्ष र प्रतिपक्षको धु्रवीकरणले अहिलेको राजनीतिक र संवैधानिक गाँठो फुकाउन सक्दैन भने। रासस

Leave a Reply

Your email address will not be published.