मनाङ लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्याङ्दी क्लब विजयी भएको छ। त्रिपरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा मनाङले बाँसबारी फुटबल क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। मनाङका खेलाडी सुजल श्रेष्ठले खेलको पहिलो हाफको ३२औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिए। 
यस्तै मनाङका अर्का खेलाडी अनिल गुरुङले खेलको ३६औँ मिनेटमा थप एक गोल गर्दै अग्रता दोब्बर बनाए भने फेरि सुजलले नै पहिलो हाफको इन्जुरी समय (४५ प्लस १) औँ मिनेटमा एक गोल गर्दै अग्रता तेब्बर बनाए।
यसैगरी बाँसबारीका खेलाडी निरकुमार राईले खेलको ६९ र ८७औँ मिनेटमा दुई गोल गर्दै खेललाई ३–२ मा ल्याए भने मनाङका अर्का खेलाडी अमिर श्रेष्ठले खेलको ७१ औँ मिनेटमा एक गोल थप्दै मनाङलाई ४–२ को जित दिलाए।
एघारौं खेल खेलेको मनाङले २४ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेल खेलेको बाँसबारीको पाँच अङ्क छ। सोही मैदानमा अहिले बौद्ध फुटबल क्लब र मध्यपुर युथ एसोसिएसन क्लबबीच खेल भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.