यातना दिने पतिविरुद्ध प्रहरीमा उजुरी

गौर- रौतहटका दुई महिलाले साहस गरी आफ्नै पतिको दुर्व्यहारविरुद्ध प्रहरीमा उजुरी गरेका छन्। रौतहट जिल्लाका धरमपुर गाविस–६ घर भई हाल डुमरिया गाविसको नयाँबस्ती टोल–८ बस्ने सुरेश गुप्ताविरुद्ध उनकी श्रीमती बिमा देवीले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएकी हुन्।
बिमाको उजुरीको आधारमा प्रहरीले उनका पति सुरेश र ससुरा सोनेलाल साहलाई पक्राउ गरेको छ। सर्लाही जिल्लाकी बिमा र सुरेशबीच २०६१ साल जेठ महिनामा परम्पराअनुसार विवाह भएको थियो।
कपडाको व्यापार गर्ने सुरेशले रु एक लाख ५० हजार र सुनचाँदी दाइजो स्वरुप लिएर घर भित्र्याएको तीन महिनापछि नै माइती पक्षस“ग थप दाइजो मागेको बिमाले बताइन्। श्रीमान् सुरेश, ससुरा सोनेलाल, सासु सियादेवी साह, जेठाजु सन्तोष साह र जेठानी मञ्जु देवीले आफूलाई दिएको यातनाका कारण २०६२ सालमा गर्भ नै खेर गएको उनको आरोप छ।
दुई छोरी जन्मिँदासमेत आफूमाथिको यातना जारी रहेको बिमाले बताइन्। यसैगरी गौर नगरपालिका–७ बस्ने जोखनी देवीले पनि पति वीरेन्द्र सहनी र ससुरा दशरथ सहनीविरुद्ध कुटपिट तथा शारीरिक र मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्।
वीरेन्द्रले जेठी श्रीमती छँदाछँदै अर्को बिहे गरी दोस्रो श्रीमती घर भित्र्याएपछि ससुरा मिलेर विभिन्न यातना दिँदै घरबाट निकालेको जोखनीले बताइन्।
जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेपछि प्रहरीले बिमाका पति सुरेश, ससुरा सोनेलाल साह तथा जोखनीको पति वीरेन्द्र र ससुरा दशरथ सहनीसहित चारजनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको प्रहरी उपरीक्षक महेशविक्रम शाहले बताए। रासस

Leave a Reply

Your email address will not be published.