बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनादेखि अहिलेसम्म निरन्तर सत्ताको केन्द्रमा रहँदै आउनुभएका विजयकुमार गच्छदार पूर्वदेखि पश्चिम मधेस तराइको भूमिमा वलिष्ठ नेताका रूपमा चिनिनुहुन्छ। पछिल्लो जनआन्दोलनपछि मातृसंस्था नेपाली कांग्रेसबाट बाहिरिनुभएका गच्छदार समीकरण राजनीतिका चतुर र धुरन्धर खेलाडी सावित हुनुभएको छ। वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री रहनुभएका गच्छदारसँग आजको राजनीतिक प्रसंगमा किशोर नेपालको अन्तर्वार्ता :
नेपाली राजनीतिमा तपाईँ साँच्चै एउटा शक्ति केन्द्र हो, हगि?
हो, राजनीतिक शक्ति हुन पुगेछु। म आफैँमा शक्ति केन्द्र होइन तर मलाई शक्ति केन्द्रका रूपमा हेर्न थालिएछ।
अरुले देखेको मात्रै त होइन। तपाईँले पनि त महसुस गर्नुभएको होला नि? ममा शक्ति छ। म सबैलाई मिलाएर लान सक्छु भन्ने त तपाईँलाई पनि त लागेको होला?
शक्ति छ। त्यसैले त अरुले पनि त्यसरी हेरेका होलान्। मेरो आफ्नो जनाधारले गर्दा आर्जेको शक्ति हो यो। मेरो आफ्नो राजनीतिक कमाई त छ नि। मैले आफ्नो संगठन त बनाएको छु नि।
तपाईँ थारु समुदायबाट आए पनि थारुहरूको मात्रै नेता हुनुभएन। सबै नेपालीको नेता हुनुभयो। के अचम्म भयो है, यो?
यसबीचमा परिस्थिति धेरै बदलिएको छ। मैले मेचीदेखि महाकालीसम्मका धेरै राम्रा थारु नेतालाई आफ्नो पार्टीमा सामेल गराएको छु। थरुहट अन्दोलनमा लागेकासम्मलाई मैले जोडिसकेको छु। अहिले सम्पूर्ण नेपालका थारु समुदायले मेरो नेतृत्व स्वीकार गरेको अवस्था छ। नरेन्द्र चौधरी, हरिबाबु चौधरी, शंकरलाल चौधरी जस्ता दिग्गज थारु व्यक्तित्वहरूको साथ मलाई छ।
धेरै मान्छे तपाईँसँग जोडिन आइसके। त्यो सबैलाई थाहा छ। तैपनि विजय गच्छदारले आफ्नो संगठन कुशल शैलीको प्रयोग गरेर सहमतिको राजनीतिलाई अगाडि बढाउन सकेन, हो? तपाईँले पहाडी समुदायले पनि आफूलाई स्वीकार गर्यो भन्नुभयो।
मैले पहाडी भन्ने शब्द भनेको छैन। मैले त नेपाली भनेको हु”। नेपाली त हामी सबै नेपाली नै हौँ।
मैले त्यही भनेको। तपाईँ थारु समुदायको मात्र नेता नभएर सबै नेपालीको नेता हुनुभयो हैन?
मेरो नेतृत्वलाई राष्ट्रियस्तरमै पहिचान गरिएको छ। त्यो हो। यति हुँदाहुँदै पनि मैले मेरा थारु दाजुभाइलाई पछाडि छाडेको छैन। मेरो नेतृत्वमा मैले उनीहरूलाई पनि गोलबन्द नै गर्ने कोसिस गरिरहेको छु। गर्नेछु। उनीहरू पनि मेरो नेतृत्वप्रति गौरव गर्छन्। म मधेसमै जन्मे/हुर्केकाले मधेसी समुदायले पनि मबाट केही अपेक्षा राखेको छ।
सबै समुदायको नाम लिइरहनु भन्दा पनि तपाईँ सबै नेपालीको नेता हुनुभयो कि भएन?
म सबै नेपालीको नेता हो। मैले नारै दिएको छु- ‘हाम्रो देश तराई, मधेस, पहाड, हिमालले बनेको देश हो। हाम्रो अखण्डता सम्पूर्ण भू-भागमा बस्ने नेपालीले बनाएको हो।’ म सबै जातजाति, भाषाभेष भएका नेपालीको नेता हुन चाहन्छु। मेरो धरातल भनेको मधेस हो। त्यो सधैं रहन्छ। म अहिले नै सोलुमा गएर वा नुवाकोटमा गएर चुनाव लड्न त सक्दिन नि।
तपाईँ जानुभयो भने के होला? एकपटक मधेस र पहाड दुवै ठाउँबाट चुनाव लडेर हेर्नुस् न।
मैले म नेपाली कांग्रेसमा हुँदा यो प्रस्ताव राखेको हो। मैले संविधान सभाको चुनाव हुनुभन्दा पहिले नेपाली काँग्रेस पार्टी छाड्नुअगाडि बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकमै भनेको हुँ। मैले उनीहरूलाई भनेको थिएँ- ‘तराईको सेन्टिमेन्ट तपाईँहरू लुज गर्दै हुनुहुन्छ। मैले नेताहरूको नाम नै तोकेर भनेको थिएँ। तनहुँमा चुनाव लड्ने रामचन्द्र पौडेललाई म सुनसरीबाट चुनाव जिताइदिन्छु। के तपाईँ मलाई तनहुँबाट जिताउन सक्नुहुन्छ? आँट गर्नुस्।’ दुर्भाग्यवश नेपाली काँग्रेस मेरो कुरा सुन्न तयार भएन। उहाँहरूले डिसिजन नगर्ने देखेर मैले उहाँहरूलाई भनेर निक्लेको थिएँ- ‘जनताले परिवर्तन चाहिसकेको अवस्थामा तपाईँहरू परिवर्तनको सोचमा पनि हुनुहुन्न। तपाईँहरूले मधेसको मुद्दालाई सिरियस भएर नहेर्ने हो भने कांग्रेस चालीस सिटमा थन्किनेछ।’ आखिर कांग्रेसको सैँतीस सिट न आयो। मेरो कुरा त ठिक सावित भयो नि।
यो सबै कुरालाई एकैछिन थाँति राखेर वर्तमानमा आउँ। तपाईँ जस्तो संगठित, शक्तिशाली, जनतामा भिज्न सक्ने नेता लागेर पनि देशमा सहमति हुन सकेन, किन?अझ मान्छेहरू त सहमतिको बाधक तपाईँ नै हो पनि भन्छन्। त्यो के हो, बताउनुस् न।
विजय गच्छदार त्यति ठूलो शक्तिशाली व्यक्तित्व भइसकेको छैन नेपालको राजनीतिमा। राजनीतिक परिदृश्यमा मेरो महत्व होला, मेरो व्यक्तित्व उभि्एको होला। मप्रति नेपाली जनताका अपेक्षाहरू होलान्। तर, मैले हाम्रो देशका ठूला पार्टी माओवादीका प्रचण्डजी, एमालेका झलनाथजी र काँग्रेसका सुशीलजीलगायतको शीर्ष बैठकमा उहाँहरूलाई नै भन्ने गरेको छु- म सानो पार्टीको, बन्दै गरेको पार्टीको अध्यक्षको नाताले काम गर्दा तपाईँहरूको भन्दा मेरो हैसियत सानो छ। त्यो म बुझ्छु।
तपाईँ सानो पार्टीको ठूलो नेता त हो नि?
त्यो त उहाँहरू आफैँ पनि त्यसो भन्नुहुन्छ, ‘तपाईँको पार्टी सानो भएर के भयो? तपाईँको व्यक्तित्व राष्ट्रिय राजनीतिमा ठूलो भइसक्यो।’ त्यो मेरा लागि गौरवको विषय हो।
सहमति किन हुन सकेन मन्त्रीज्यू?
म सहमतिका लागि वातावरण बनाउनकै लागि नमिलेको कुरा मिलाउन खोजिरहेको छु। नेताहरूको अहं केही कम गर्ने प्रयत्न गरिरहेको छु।
म्यानेज गर्न सक्नुभएन?
तीनवटा दलका ठूला नेतालाई सहमतिमा पुर्याउने मेरो एकदमै ठूलो प्रयास छ। तपाईँले भनेजस्तो केही मानिस मलाई सहमति बिथोल्ने व्यक्तिका रूपमा पनि हेर्छन्। तर, त्यसो होइन। मैले सहमतिका निम्ति अथक प्रयास गरिरहेको छु।
तपाईँ एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ, जसलाई काँग्रेसले आफूसँग भिन्न भएको भाइछोराको रूपमा हेरेको छ। माओवादी पनि तपाईँलाई शक्तिशाली राजनीतिज्ञकै रूपमा हेर्छ। एमाले पनि तपाईँसँग तर्सनुपर्ने अवस्थामा छ। यी तीनैवटा दल मिलेर तपाईँकै नाममा सहमति गरे के हुन्छ?
त्यो ‘म्याग्नानिमिटी’ पनि त हुनुपर्यो। मैले नेताहरूलाई भेट्दा भनेको पनि छु। उहाँहरूले ठूलो छाती देखाउन सक्ने भएको भए म प्रधानमन्त्री हुन सक्थेँ होला। तर यी तीनवटा ठूला पार्टीमा त्यो विवेकशील पक्ष छैन। यी नेताहरुले मसँग तर्सनुपर्ने कुनै कारण नै छैन। म राष्ट्रिय सहमति निर्माण गर्न जस्तोसुकै त्याग गर्न पनि तयार छु। नेपाली काँग्रेसको राजनीति जोगाउन मैले ठूलो भूमिका खेलेको थिएँ, जोखिम उठाएको थिएँ। अहिलेको राजनीतिलाई, शान्ति प्रक्रियालाई निकास दिन पनि मैले ठूलो जोखिम उठाएको छु। मैले मधेसी मोर्चा बनाएर, माओवादीसँग गठबन्धन गरेर राजनीतिलाई निकास दिन कोसिस गरेको हुँ। शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन हामी सफल पनि भयौँ। संविधान निर्माण होस् भनेर नै मैले जेठ १३ गते बिहान राष्ट्रपतिकै अगाडि तीनवटै दलका प्रमुख नेतालाई ‘तपाईँहरू संविधान जारी गर्ने आँट गर्नुस्। म जुनसुकै सहयोग गर्न तयार छु,’ भनेको थिएँ। तर नेताहरुले किन आँटेनन्?
यो अहिलेको समस्याको समाधान गर्न उनीहरूको भूमिका र दायित्व बढी छ। अहिले उहाँहरूको इगोका कारणले सहमति नहोला तर जनताले त समर्थन गर्न सक्छ नि। म सहमतिको केन्द्रविन्दु हुन सक्थें होला। यो उहाँहरूले निर्धारण गर्ने कुरा हो।
तपाईँले तीनवटै पार्टीका नेताहरूलाई बुझ्नुभएको छ। प्रचण्डसँग अन्तरंग सम्बन्ध छ। काँग्रेसका नेताहरूसँग दुःखसुखको सम्बन्ध कायम नै छ। एमालेसँग पनि तपाईँको सम्बन्ध नराम्रो छैन। सत्य भन्दिनुस् न, सहमतिमा बाधक कुन पार्टी हो?
नेपाली काँग्रेसलाई त म एकदमै राम्रोसँग चिन्छु। मेरो जिन्दगीको उपलब्धि र कमाइ के हो भने म इथिक्स, आइडोलोजी र प्रिन्सिपलका आधारमा राजनीति गरेको मान्छे। म त्यसै कारण टिकेको हुँ। नत्र नेपाली काँग्रेसभित्र धेरै ठूला-ठूला नेताहरूको अन्त्य पछिल्ला दिनहरू बडो दुखद्रूपमा भएको छ । गणेशमान, किसुनजी सबैभन्दा ठूलो उदाहरण हो। मेरो पनि जनाधार नभएको भए अघिल्लो पुस्ताका नेतालाई मुला निमोठेझैँ निमोठेर फ्याकिँदिन्थे।
बीचमा मैले कुरा काटेँ। तपाईँले इथिक्सको कुरा गर्नुभयो। तपाईँको स्कुलिङ प्रजातान्त्रिक हो। अहिले तपाईँ एनेकपा माओवादीको नेतृत्वको सरकारमा हुनुहुन्छ। अलिकति कुरा मिलेन नि?
हैन। म एकदमै प्रजातान्त्रिक मान्छे हुँ। म लोकतन्त्रवादी हुँ। म कम्युनिष्ट होइन। तर अहिले जुन हिसाबमा कन्युनिष्टको उदय भएर आएको छ, त्यसलाई त कसैले नकार्न सक्दैन। गिरिजाबाबुले पनि निर्वाचनबाट माओवादी प्रथम शक्तिको रूपमा आएको कुरालाई त मान्नुभएको थियो नि। उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्यो। त्यसकारण सरकार सञ्चालन एउटा कुरा हो र राजनीतिका मुद्दाहरूमा एक ठाउँमा उभिनु अर्को कुरा हो।
ल ठीक छ। यसमा पछि कुरा गरुँला। मैले तपाईँलाई अघि सोधेको थिएँ। सहमतिको बाधक कुन दल हो? तपाईँ काँग्रेसको व्याख्या गर्दै हुनुहुन्थ्यो।
पार्टीभन्दा माथि उठ्न नसकेको जुन उहाँहरूको बटमलाइन छ, नियत छ, त्यो नै हो सहमतिको बाधक। नेपाली काँग्रेस पार्टीभन्दा माथि उठ्न सक्दै सकेन अहिलेको अवस्थामा। किन चाहियो काँग्रेसलाई सबै कुरा अहिले। काँग्रेस जस्तो पार्टीले त जसको नेतृत्व पनि मानेर चुनावमा जानुपर्ने। किन नेपाली काँग्रेस यहाँ उदार हुन सक्दैन? किन उसलाई आफ्नै नेतृत्वमा चुनाव गराउनुपर्ने? काँग्रेसले सधैँ चुनाव गराउ”दै आएको छ भन्दैमा उसको दावा पुग्ने, अरुको नपुग्ने त हुँदैन। नेपाली काँग्रेस आफ्नो स्वार्थ भन्दा माथि उठ्न सकेन। सबै मुद्दामा सहमत हुने तर कसले सरकारको नेतृत्व गर्ने भन्ने कुरामा सहमत नहुने। त्यहाँनिर नेपाली काँग्रेस बाधक भइरहेको छ। उसले निषेधको राजनीति गरिरहेको छ।
सहमति गर्ने भने पछि अरु पार्टीहरूले पनि त काँग्रेसको कुरा सुन्नु पर्यो नि?
काँग्रेस पुरानो पार्टी हो। उसले सत्ताको कुरा छाडेर, अरु कुरा गरे पनि त मानेकै छ नि उसलाई। सत्ताको कुरा। म नभए हुँदैन भन्ने पनि कतै हुन्छ? बाबुराम भट्टराई नहुने भए काँग्रेस किन हुने? एमालेका साथीहरूले पनि निषेधको राजनीति गरिरहनुभएको छ। उहाँहरू सहमति खोज्नुपर्यो पनि भन्नुहुन्छ र निषेध पनि गर्नुहुन्छ।
त्यसो त छलछामको राजनीति माओवादीले पनि त गरिरहेको छ नि?
त्यसमा म आउँदैछु। माओवादी पार्टी सबैभन्दा ठूलो पार्टी भएकाले उसले ठूलो भाग खोज्नु स्वाभाविक नै हो। उसले नेतृत्व पनि गरिरहेको छ। बाबुरामजीले ‘ल आउनूस्, कुरा गरुँ, म डिग्निफाइड वेमा छोड्न तयार छु’ भन्न पनि नपाउने?
प्रधानमन्त्रीले भनेको त्यो डिग्निफाइड वेचाहिँ के हो?
डिग्निफाइड वे भन्नाले उहाँलाई अहिले जुन किसिमले अछुतो बनाइएको छ, त्यो विलकुलै गलत छ। उहाँ त निर्वाचित प्रधानमन्त्री हो नि। उहाँ इन्ष्टिट्युसन हो नि। संवैधानिक हैसियत छ। उहाँलाई अछुतो बनाएर जानु ठीक होइन। सबै कुरा बिग्रेको/भत्केको त प्रधानमन्त्रीले मात्र गर्दा होइन नि। उहाँलाई नै संविधान नबन्नुको कारण बनाउने? यो त भएन। हो, सरकारको नेतृत्व गरेकाले केही बढी दोषको भागिदार हुनुहोला उहा”। तर अरुले पनि त्यसको जिम्मा लिने कि नलिने?
प्रधानमन्त्रीले मंसिर ७ गते चुनाव घोषणा गरे पनि त्यो पूरा गर्न सक्नुभएन। उहाँको अहिलेको पोजिसन र राजतन्त्रमा शेरबहादुर देउवाको पोजिसन एउटै भएको छ। शेरबहादुर देउवाले चुनाव गराउन नसक्दा पद त्याग गर्नुपरेको थियो। एउटा मान्छे चुनाव गराउन नसक्दा अक्षम हुने। अर्को मान्छेले चुनाव, सहमति केही पनि गराउन नसक्दा पनि अक्षम नहुने? कामचलाउ सरकार वर्षौँ रहन सक्छ?
सरकार कामचलाउ बनेको भर्खर सात महिना भयो। शेरबहादुर देउवा र अहिलेको सरकारको परिस्थिति फरक छ। शेरबहादुरजीले चुनाव गर्न नसकेपछि चुनाव गराउने एक वर्षपछिको अर्को मिति उहाँले तोक्नुभएको थियो। उहाँ हटेको होइन। आफैँले राजीनामा दिएको होइन। त्यतिबेला राजाले निर्वाचित प्रमलाई हटाएको हो। यसपटक चाहिँ संविधान सभाको निर्वाचन गराउने प्रमले अर्को मिति तोक्नुभयो। नयाँ चुनाव मंसिरमै हुन सक्थ्यो, पार्टीहरूले सहमति गरेको भए।
पार्टीहरूले सहमति गरेको भए कि प्रमले पार्टीहरुलाई सहमतिमा पुर्याउन सकेको भए?
हैन। प्रमको पनि सहमतिमा पुर्याउने दायित्व हो। माओवादीको पनि हो। तर, सरकार एउटा मात्रै फ्याक्टर होइन नि त्यसका लागि। पार्टीहरू पनि त जिम्मेवार छन्।
तपाईँहरुसँग गठबन्धनमा रहेको माओवादी पार्टीका अध्यक्षले के भन्नुभएको छ भने ‘पुस २५ सम्म यसरी नै जाने हो, सहमति त हुँदैन। त्यसैले २६ गतेपछि पुनस्थापनाका लागि प्रस्ताव गरेको छु, सबैले मानेका छन्।’ तपाईँले पनि मान्नुभएको छ?
मेरो यसमा फरक मत छ धेरै अगाडिदेखि। जेठ १४ पछि तुरुन्तै मैले स्पष्ट के भनेको छु भने ‘चुनावको विकल्प छैन। चुनाव नै एकमात्र स्थायी समाधान हो।’ सबै पार्टीहरूमा दुईवटा विचार देखिएको छ। तर म जहिले पनि चुनावकै पक्षमा छु। चुनाव गराउनकै लागि सहमति गर्नुपर्छ। प्रम सहमति गर्न हदैसम्मको लचकता अपनाउन तयार हुनुहुन्छ। उहाँ राजीनामा मेरो खल्तीमै छ भन्दै हुनुहुन्छ। को हुने त नया” प्रम? यसमा सहमति हुनुपर्यो नि त। उहाँले राजीनामा दिएपछि पनि त सहमतिकै प्रम हुने हो।
तपाईँ त धर्मसंकटमा पर्नुभयो। यदि २५ गतेपछि माओवादीले पुनर्स्थापनाको माग उठायो भने तपाईँ चुनावको पक्षमा हुनुहुन्छ। गठबन्धन त टुट्छ नि?
त्यो अवस्थामा पुगिसकेको स्थिति छैन। धेरैवटा विकल्प अझै बाँकी छ। सहमतिमा पुग्नका लागि सत्ता प्राप्तिको उद्देश्य नै बाधक हो अहिले सबै पार्टीका लागि। समस्याको जड भनेकै कसले नेतृत्व गर्ने भन्ने न हो। त्यही होइन? तपाईँ समाधानको खोजीमा दमननाथजी कहाँ पनि पुग्नुभएको थियो। हैन?
तपाईँले भर्खरै भन्नुभएको हैन सहमति बनाउन मेरो प्रमुख भूमिका छ। मैले नेताहरूलाई भेट्दै नभेटी कसरी त्यो भूमिका निर्वाह गर्नसक्छु? म सबैलाई भेटिरहेको छु। म शेरबहादुरजीलाई, रामचन्द्रजीलाई, सुशीलजी सबैलाई भेट्छु। उहाँहरू मेरो कुरा पनि सुन्नुहुन्छ। तर निर्णय गर्ने बेलाचाहिँ आफूलाई मात्र केन्द्रमा राख्नुहुन्छ। प्रोब्लेम त त्यहाँ हो नि। एमालेका केपी ओली, माधव नेपाल, झलनाथसँग पनि मेरो कुरा हुन्छ। धेरै राम्रो कुरा हुन्छ। कुरा मेरो सुन्ने, राम्रो भन्ने। तर केही नगर्ने।
दमनजी त तपाईँको वकिल पनि हो। विद्यार्थी आन्दोलनका बेला विराटनगरमा तपाईँको मुद्दा उहाँले नै लड्नुभएको हो। तपाईँको दमनजीसँग के कुरा भयो त?
(हाहा…) अब कुरा के भने। सहमति जुनजुन पक्षका बीचमा हुनुछ, ती सबैको एकदमै मन मिल्नु जरुरी छ। पदीय हैसियतको कुरा पनि मिल्नु जरुरी हुन्छ। त्यसकारण विभिन्न अप्सनहरूको खोजीमा नै म लागेको हुँ। चर्चामा आइरहेकै कुरा हो यो गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्यो भन्ने। सहमति भए काँग्रेस, एमालेलाई कति राम्रो हुन्थ्यो तराई-मधेसमा उहाँहरूका लागि। उहाँहरूलाई संघीयता विरोधी भनेर आरोप लागिरहेको अहिलेको अवस्थामा। अदिवासी, जनजातिबारे नसोच्ने पार्टीका रूपमा प्रचार भइरहेको अवस्थामा सहमतिकै सरकार बनाउनका लागि महन्थ ठाकुर वा गच्छदारलाई नै केन्द्र बनाए सहमति हुन सक्छ नि। तर, मलाई मान्छेहरू सोध्छन्- काँग्रेस र एमालेको किन बुद्धि नपुगेको?
तपाईँ मेरो कुरा पन्छाउँदै हुनुहुन्छ। तपाईँ भन्नूस् न दमनजीसँग के कुरा भयो?
दमनजीको म एकदमै सम्मान गर्छु। उहाँको व्यक्तित्व ठूलो छ। यदि दलबीच सहमति हुन सकेन भने…। जुन सहमति हुने लक्षण मैले देखिरहेको छैन। त्यो नभएपछि मधेसी मोर्चामा पनि त नेतृत्व आउन सक्छ। म आफ्नै नाम किन भन्ने?
भनेपछि तपाईँ दमनजीलाई प्रममा मेरो नाम सिफारिस गरिदिनूस् भन्न जानुभएको?
होइन। सहमतिका लागि के/के गर्न सकिन्छ भनेर राय सुझाव माग्न गएको। उहाँले दलहरूबाटै सहमति हुनुपर्छ भन्नुभयो। उहाँले आफ्नो इच्छा त्यसरी प्रकट गर्नुभएको छैन। बरु मैले नै भने उहाँलाई यदि दलहरूमा सहमति नै भएन भने एउटा स्वतन्त्र व्यक्ति, प्रजातान्त्रिक राजनीति पृष्ठभूमि भएकै व्यक्ति प्रधानमन्त्रीमा चाहिन्छ। स्वतन्त्र व्यक्तिको पृष्ठभूमि राजनीतिक नै हुनुपर्छ।
त्यसो भए, तपाईँ दमनजी खोज्ने। बाबुरामजी देवेन्द्रजी खोज्ने…
मैले भनेको दलबाट हुनै सकेन भने स्वतन्त्र व्यक्तिबाट सरकारको नेतृत्व हुनुपर्छ। कुनै टेक्नोक््रयाट, पुराना सचिव, न्यायाधीश त्यस्तो हुँदैन। राजनीतिक ब्याकग्राउन्ड भएकै मान्छे चाहिन्छ। जो निष्पक्ष हुनसक्छ भनेर सबैले विश्वास गरेको हुनुपर्यो। मैले दमनजीलाई त्यही भनेको हो। तपाईँको पनि नाम चर्चामा छ भनेर पनि भनेँ। तर, उहाँले होइन, दलहरूबाटै सहमति हुनुपर्छ भन्नुभयो। प्रमसँग मेरो जुन दोस्ती छ, त्यो हिसाबमा त मै भइदिए हुन्थ्यो भन्ने उहाँको भित्री इच्छा हुन सक्छ। नबोले पनि त हुन सक्छ। भन्न गाह्रो होला।(हाहा…)
राष्ट्रपतिले दिनुभएको पछिल्लो म्यादभित्र सहमति गर्न सक्नुहुन्न?
त्यो देखिँदैन। त्यो देखिएको छैन। अर्को एउटा समय पनि दिनुपर्ने म देख्छु। यो समयचाहिँ पक्कै निर्णायक छ।
अर्को हप्तासम्ममा त लगभग सबै संवैधानिक निकाय खाली हुन्छन्। देश दण्डहीनताको राम्रै शिकार भइसकेको छ। यो अवस्थामा तपाईँहरूले छिट्टै सहमति गर्न सक्नुभएन भने त राष्ट्रपतिले पनि त केही एक्सन लिनुपर्ला नि?
राष्ट्रपतिको अहिलेको प्रयास नै सबैभन्दा राम्रो र सार्थक एक्सन हो। त्यो संस्थाबाट जुन किसिमको प्रयास भइरहेको छ त्यो जारी रहनुपर्छ भन्ने सबैको मान्यता छ। राष्ट्रपतिले दलबीचको सहमति कार्यान्वयन गर्नुपर्छ। राष्ट्रपतिले अब सहमतिका लागि फेरि केही समय दिनुपर्छ। त्यो समयले भविष्यको राजनीतिलाई निर्देश गर्छ। त्यो निर्णायक समय हुन्छ। यो समयमा अब म पनि कसिएर लाग्छु। सहमतिको बिन्दुमा पुर्याउनु नै पर्छ।
पुनर्स्थापनातिर लाग्नुहुन्न?
सहमति गरेर चुनावमै जानुपर्छ। हाम्रो देशलाई बचाउने हो भने संघीयतासहितको संविधान बनाउन चुनावमै जानुपर्छ।
काँग्रेस, एमाले सबैले संघीयता त मानेकै छन् नि। जातीय संघीयता पो नमानेको हो त?
अब कहाँ जातीय संघीयताको कुरा आएको छ र? बहुजातीय भनेर सबैले मानेकै छन् नि। त्यो जातीय संघीयताको कुरा पनि त्यसै आएको हो।
मधेस राजनीतिको कुरा गरौँ। तपाईँ मधेस राजनीतिको हस्ती हुनुहुन्छ। आफ्नो राष्ट्रिय छविलाई पनि दाउमा राखेर तपाईँ मधेसको राजनीतिमा हाम्फाल्नुभयो। आफू जन्मेको पार्टी पनि छोड्नुभयो। तपाईँले वर्तमान राजनीतिमा प्रवेश गर्नुभएको अवस्था अब रहेन। एक मधेस, एक प्रदेश विस्तारै हट्दै पनि गयो। थरुहटको कुरा पनि आइरहेको छ। राष्ट्रिय राजनीतिलाई केन्द्र बनाएर सोच्दा सबैलाई मिलाएर कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोच बनाउनुभएको छ?
मधेस हाम्रो राजनीतिमा देशको एकदमै शक्तिशाली भागका रूपमा उदाएको छ। त्यो नेपालकै महत्वपूर्ण क्षेत्र हो। मधेसमा नेपालको सर्वाधिक बढी जनसंख्या बस्छ। तर, अहिले पनि त्यहाँ राज्यप्रति वितृष्णा छ। दशौँ वर्षदेखि विभेदमा परेको पीडा छ। त्यो सबैलाई सम्बोधन गर्नु जरुरी छ। काँग्रेसमै हुँदा मैले यो कुरा उठाएको पनि हो। यो कुरा उठ्छ भन्ने मलाई एकदम राम्रोसँग थाहा थियो। सबै जातजाति/भाषाभाषीलाई समेट्न सकेन भने हाम्रो राष्ट्रिय अखण्डता नै धरापमा पर्छ। त्यसकारण म मधेसमा उत्रेको थिएँ।
तर मधेसी नेताहरूले आफूलाई सक्षम सावित गर्न सकेनन्। थुप्रै मधेसी नेता बदनाम छन्। धेरैजना भ्रष्ट भएर गन्हाएका छन्। जति पनि फोहोरी खेल छ, त्यसमा मधेसका नेताहरूको सहभागिता देखिन्छ। किन यस्तो भइरहेको छ?
मधेसवादी दलहरूको धेरै लामो इतिहास छैन। काँग्रेसको ६२ वर्षको इतिहास छ। एमाले वा कम्युनिष्टको भन्नूस् ५० औँ वर्षको इतिहास छ। माओवादी त्यत्रो सशस्त्र द्वन्द्वबाट उठेर आएको पार्टी हो। एकदिनमा बनेका पार्टी होइनन् यी। तर मधेसको त्यस्तो केही पनि छैन, ‘बाई फ्लुक’ बनेका पार्टी छन्। मधेसमा जुन दबेर बसेको पीडा थियो, त्यसको बिष्फोट मधेस आन्दोलनका रूपमा भयो। त्यसपछि मधेसवादी पार्टीहरूको उदय भयो। तर त्यहाँको राजनीतिलाई अब ठीक ट्र्याकमा लगेन भने त्यो नराम्रो हुन सक्छ मधेसका लागि।
प्रचण्ड, सुशील, झलनाथ यी तीनवटै नेता फेल भए भने तपाईँ पनि फेल हुनुहुनेछ। किनकि चौथो नेता तपाईँ हो। होइन?
म फेल हुन्न किनभने जाँचको रिजल्टमा पहिलो, दोस्रो, तेस्रो श्रेणी भएजस्तै म केवल पास मार्कमात्र ल्याउने मान्छे हुँ। डिस्टिंगसन आउँदैन। हुन त डिस्टिंगसन नै आउनुपर्ने हो। तर त्यो सकिएन। यी तीनवटा ठूला पार्टी त फेल हुन्छन् नै।
मानिलिनूस्, तपाईँहरू सबै फेल हुनुभयो भने हामी जनता पनि सबै फेल हुन्छौँ। फेल्ड स्टेट हुन्छौँ हैन हामी?
हामी फेल्ड स्टेट हुँदैनौँ। सरकारबिहीनताको स्थिति त कहिल्यै आउँदैन। बरु कामचलाउ सरकार रहिरहला तर सरकार नै नहुने त हुँदैन।
यदि राष्ट्रपतिले सबैलाई बोलाएर ‘ल यहीँ अहिल्यै कसैको नाममा सहमति गर्नूस्’ भन्नुभयो भने?
राष्ट्रपतिलाई त्यसो गर्ने अधिकार संविधानमा कहीँ कतै उल्लेख छैन। त्यसैले उहाँले त्यो नगर्नुहोला।
घरमा आगो लागेका बेला कसैले पनि संविधान पल्टाएर के लेखेको छ भनेर हेर्दैन नि?
एकचोटी वास्तवमा जसरी पनि संविधानबाट बाहिर त निक्लनु नै पर्छ। चाहे त्यो सहमतिबाट अगाडि बढ्दा नै किन नहोस्। जे गरे पनि संविधानको परिधिलाई तोडेर नै निकास निस्कने हो। निकास सहमतिले नै दिने हो। सहमतिको विभिन्न प्रकार हुन सक्छन्। तर सहमति हुनेमा म विश्वस्त छु।
नागरिक दैनिक साभार