राजनीति क्षेत्रको सामाजिक रोगको जटिल शल्यक्रिया गर्न कठिनः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले पुरानो सामन्ती सामाजिक संरचना नहटिसकेका कारण मुलुकमा सङ्क्रमणकाल लम्बिएको बताएका छन्। ललितपुरको धापाखेलमा निर्माण गरिएको सुमेरु सामुदायिक अस्पताल प्रालिको आज उद्‍घाटन गर्दै उनले पुरानो राज्यसत्ता फ्याँकेर नयाँ राज्यसत्ता निर्माणका लागि ठूलै शल्यक्रिया गर्नुपर्ने भएकाले सङ्क्रमणकाल लम्बिएको भन्दै यसमा कुनै व्यक्ति वा पार्टीको दोष नभएको उल्लेख गरे। 
उनले भने, “स्वास्थ्य क्षेत्रमा जसरी जटिल शल्यक्रिया गर्न गाह्रो हुन्छ, त्यस्तै राजनीतिमा देखा परेको सामाजिक रोगको उपचार गर्न कठिन भएको छ, विज्ञानसम्मत ढङ्गले शारिरीक रोगको पहिचान गरिए जस्तै हाम्रो राजनीतिक रोगको पनि सही पहिचान गरेर समाधान खोजिनुपर्छ।”
प्रधानमन्त्री भट्टराईले लोकतन्त्रमा स्वास्थ्य सेवालाई आम नागरिकको मौलिक अधिकारको रुपमा निःशुल्क प्रदान गर्ने नीति राज्यले लिएपनि त्यसको अझै व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै यसका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको बताए।
गाउँ र कुनाकन्दरामा बस्ने बहुसङ्ख्यक जनताले न्यूनतम स्वास्थ्य सेवा पाउन नसकेको र राजनीतिक सङ्क्रमणकै कारण सरकारले केही गर्न नसकेको बताउँदै उनले भने– अब निजी क्षेत्रको सहकार्यमा गाउँसम्म स्तरीय स्वास्थ्य सेवा विस्तार गरिनुपर्छ।
उद्योगमन्त्री अनिलकुमार झाले अझै पनि जनताले सर्वसुलभ स्तरीय सेवा पाउन नसकेको बताउँदै मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सामुदायिक अस्पतालले सक्रिय भूमिका खेल्नुपर्ने बताए। पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य क्षेत्रमा उच्च मुनाफा कमाउने नियत राखिँदा विकृति बढेको हो भने।
सहकारी विभागका रजिस्टार केदार न्यौपानेले सहकारीलाई विभिन्न अभियानको रुपमा गाउँस्तरसम्म पुर्‍याइनुपर्ने खाँचो औँल्याए। सुमेरु अस्पताल प्रालिका सञ्चालक एवम् मेडिकल निर्देशक डा डिबी कार्कीले गुणस्तरीय स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी बनाउन अस्पताल लागि पर्ने प्रतिबद्धता जनाए।
निजी क्षेत्रमा नेपालकै अत्याधुनिक एवम् भौतिक पूर्वाधार र सुविधा सम्पन्न भनिएको ३०० शय्या क्षमताको यो अस्पताललाई हाल १०० शय्याको सञ्चालन गर्न स्वीकृति दिइएको छ। यस अस्पतालमा विभिन्न क्षेत्रका १०० भन्दा बढी चिकित्सकको संलग्नता रहेको बताइएको छ। अस्पताल आफ्नै स्वामित्वको पाँच रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.