महिला हिंसाविरुद्धको अनुगमन समितिले काम सुरु गर्‍यो

काठमाडौं- देशव्यापीरुपमा भएको महिला हिंसाका घटनाहरुलाई महिला हिंसाविरुद्धको अनुगमन समितिले अनुगमन सुरु गरेको छ। आज प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्लको संयोजकत्वमा गठित अनुगमन समितिले त्यस्ता घटनालाई नियन्त्रण गर्नका लागि कडाइपूर्वक अनुगमन सुरु गरेको जानकारी दिइयो। समितिले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट अपहरण गरी भएको बलात्कारको घटना, शिवा हासमीलाई आगो लगाइ कर्तव्य गरी हत्या गरेको घटना, सरस्वती सुवेदी र विन्दुकुमारी ठाकुरको मृत्यु तथा छोरीमैया महर्जनको बेपत्ताका सम्बन्धमा अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने बताइएको छ।
यसैगरी देशव्यापीरुपमा पछिल्ला दिनमा भइरहेका अन्य घटनाका सम्बन्धमा पनि छानबिन गरी प्रतिवेदन सरकारलाई दिने प्रधानमन्त्री कार्यालयका सचिव मल्लले जानकारी दिए।
सचिव मल्लका अनुसार यही पुस १५ गते प्रधानमन्त्री डा बाबुराम भट्टराईको अध्यक्षतामा बसेको लैङ्गिक सशक्तीकरण केन्द्रीय समन्वय समितिको बैठकले महिला हिंसाका सम्बन्धमा जोडिएका कुनै पनि व्यक्ति तथा समूहलाई कडा कारबाही गर्न र उनीहरुलाई कुनै पनि छुट नदिन प्रधानमत्रीले दिनुभएको निर्देशनअनुसार नै कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
वैदेशिक रोजगारीबाट घर फर्केकी एक महिलालाई अध्यागमनका कर्मचारीले जबरजस्ती करणी गरेको र रकम लुटपाट गरेको सम्बन्धमा अध्यागमनका नासु सोमनाथ खनाल र प्रहरी हवल्दार परशुराम बस्नेतविरुद्ध ठगीको मुद्दामा कारबाही चलाइएको र शाखा अधिकृतहरु टीका पोखरेल र रामप्रसाद कोइरालालाई निलम्बन गरी कारबाही गरिएको छ।

घटनामा संलग्न पोखरेल र कोइरालालाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएको छ। सोसम्बन्धी अनुसन्धान गर्नका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले यही पुस १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको समेत सो अवसरमा जानकारी गराइएको थियो। पीडित युवतीलाई सहयोगस्वरुप सरकारले रु एक लाख ५० हजार उपलब्ध गराइसकेको छ।
यसैगरी बर्दियाकी शिवा हासमीको हत्याका सम्बन्धमा पनि उनका दाजु रिजवान अन्सारीले दिएको जाहेरीका आधारमा फरार रिजवान हासमीबाहेक बाबु खान, हसिना हासमी, सिद्धु हासमीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ।

यसैगरी सरस्वती सुवेदीको मुत्युको घटनाका आरोपी कृष्ण प्रसाईं, निजकी श्रीमती सावित्रा र छोरा प्रक्षेपणलाई पक्राउ गरिएको छ। मृतक सुवेदीको शवलाई पुनः परीक्षणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग समन्वय गरी आजै शव परीक्षण गरिने भएको छ।
सो शव परीक्षण महिला अधिकारकर्मी डा रेणु राजभण्डारी र महिला आयोगकी सदस्य मोहना अन्सारीको रोहवरमा गरिने भएको छ। उता बारामा हत्या गरिएकी बिन्दु ठाकुरको हत्याका सम्बन्धमा उनका बाबु रामा ठाकुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र थप अनुसन्धानको प्रतिवेदन आउने क्रममा रहेको छ।
यस्तै गत फागुन १६ गते काठमाडौँ जैसिदेवलबाट बेपत्ता भएकी छोरीमैया महर्जनको घटनाका सम्बन्धमा पनि विस्तृत विवरण सार्वजनिक गर्न गृहमन्त्रालयमार्फत प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकिएको छ।
सो घटनाहरुको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने अख्तियारी प्रदान गरिएको छ। यसैगरी समितिलाई तीन महिनाभित्र महिला हिंसाका सम्बन्धमा ऐन नियम तथा कानुन नै परिवर्तन गर्नुपर्ने भए पनि त्यसको समेत मस्यौदा गर्ने अख्तियारीसमेत प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सो अवसरमा महिला अधिकारकर्मी रेणु राजभण्डारीले अध्यागनको घटनाका सम्बन्धमा सो निकायका महानिर्देशक र निर्देशकलाई पनि कारबाही गर्नुपर्ने बताए। राजनीतिक हस्तक्षेप र दबाबका कारण सरस्वती सुवेदीको हत्याका सम्बन्धमा उचित छानबिन गर्न नसकिएपछि प्रधानमन्त्रीको निर्देशनपछि घटनामा संलग्न भनिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको समेत उहाँले जानकारी दिए।
सो समितिमा लैङ्गिक सशक्तीकरण समन्वय इकाइका सल्लाहकारत्रय सपना प्रधान मल्ल, डा रेणु राजभण्डारी र देवी खड्का, राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारी, प्रधानमन्त्री तथा परिषद्को कार्यालयका सहसचिव रमेश ढकाल, गृहमन्त्रालयका सहसचिव गणेशराज कार्की र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी¬ छन्। रासस

Leave a Reply

Your email address will not be published.