दाहाल पार्टी कार्यालय किन जाँदैनन्

किरण भट्टराई, काठमाडौँ- पार्टी कार्यालय कोटेश्वरमा प्रायः आइरहने एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यालयमा नआएको २० दिनभन्दा बढी भइसक्यो। पार्टी कार्यालयमा बैठकका लागि ठूलो हल नै भए पनि एमाओवादीले पार्टी कार्यालयमा बैठक नबोलाएको लामो समय बितिसक्यो।

एकीकृत नेकपा (माओवादी)को केन्द्रीय कार्यालयको विस्तारित बैठक गत शुक्रबार र शनिबार राजधानीको रोयलसिङ्घे होटलमा बस्यो। पार्टीका पूर्व पदाधिकारीहरू रहेको केन्द्रीय कार्यालयको बैठक पनि अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बस्ने गरेको छ।
सेना समायोजन प्रक्रियामा अनमिनको प्रमाणीकरणमा पर्न नसकेका पूर्व लडाकुले आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला हटाउनुपर्ने, स्वेच्छिक अवकाश रोजेका लडाकुसरह आफूहरूलाई पनि राहत रकम दिनुपर्नेलगायतका माग राखी गत मङ्सिर १२ गतेदेखि एमाओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा धर्ना दिइरहेका छन्। अप्रमाणित लडाकुहरूको पार्टी कार्यालयमा धर्नाका कारण सम्भावित दुर्घटना ननिम्तियोस् भनेर एमाओवादीले होटलमा बैठक बसालेको देखिन्छ।

उनीहरूले त्यहाँ धर्ना दिनुका साथै सोही स्थानमै भात पकाएर सामूहिकरूपमा मेसमा खाना खाइरहेका छन् भने राति पनि पाल टाँगेर त्यहीँ सुतिरहेका छन्। अनमिनद्वारा अप्रमाणित चार हजार नौजना लडाकु भए पनि धर्नामा करिब ४०० सहभागी छन्।
गत मङ्सिर १९ गते एमाले निकट युवासङ्घको ज्ञापनपत्र बुझ्न एमाओवादी अध्यक्ष दाहाल पार्टी कार्यालय पेरिसडाँडामा आउनुभएको थियो। सो क्रममा बाहिर धर्नामा बसिरहेका अप्रमाणित लडाकुहरूले आफ्ना माग पूरा हुनुपर्ने भन्दै माओवादी नेतृत्वविरुद्धसमेत नाराबाजी गरेपछि त्यसयता अध्यक्ष दाहाल पार्टी कार्यालय आउन छोड्नुभएको छ।
गत मङ्सिर १ गते पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापना कार्यक्रममा बागलुङका युवक पदम कुँवरले अध्यक्ष दाहाललाई थप्पड हानेपछि त्यस्ता घटना नदोहोरियोस् भनेर एमाओवादी सचेत देखिन्छ। किनकि केही समयअघि एमाओवादी पार्टीबाट अलग्गिएर बनेको नेकपा–माओवादी सम्बद्ध अप्रमाणित लडाकुहरू पनि पेरिसडाँडाको धर्नामा सहभागी छन्।
धर्नामा एमाओवादी र माओवादी दुवै पार्टीमा आबद्ध पूर्व अप्रमाणित लडाकुहरू संयुक्तरूपमा मिलेर बसेका छन्। लडाकुहरू धर्ना बसेयता मङ्सिर १९ गते अध्यक्ष दाहाल एकपटक युवासङ्घको ज्ञापनपत्र बुझ्न आउँदा पेरिसडाँडामा आएयता फेरि दोहोर्‍याएर नआएको आन्दोलनरत बहिर्गमित जनमुक्ति सेनाका संयोजक लेनिन विष्ट बताउनुहुन्छ। त्यस्तै पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई त यसबीचमा एकपटक पनि पार्टी कार्यालय प्रवेश गर्नुभएको छैन।
आफूहरूलाई आवश्यक खाद्यान्नको अभाव भएपछि विगत एक हप्तादेखि एक छाक मात्रै खाना खाएर आफूहरू धर्नामा बसिरहेको संयोजक विष्ट बताउनुहुन्छ। उनले भने– “चिसो मौसमका कारण धर्नामा सहभागी कतिपय बच्चासहितका महिला साथीहरू बिरामी पर्न थाल्नुभएको छ, खानेपानीको अभावमा थुप्रै साथीहरूलाई झाडापखाला लागिरहेको छ।”
युद्धको समयमा योग्य भएका हामी कसरी अयोग्य भयौं भन्दै उनले युद्धका क्रममा घाइते भएका कतिपय घाइते अप्रमाणित लडाकुहरू पनि धर्नामा सहभागी भएको बताउनुहुन्छ। युद्धमा आफूहरूलाई संलग्न गराउने नेताहरूले काठमाडौँमा मोजमस्ती गर्दै घर, गाडी जोड्ने तर आफूहरू खाना पनि खान नपाउने अवस्थामा पनि पार्टीले आवश्यक ध्यान नदिँदा सबै लडाकुहरूमा आक्रोश उत्पन्न भएको विष्टको भनाइ छ।
पार्टी नेताहरू पार्टी कार्यालयमा नआएर होटलमा बैठक बस्न लागेको जानकारी आफूहरूले सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै संयोजक विष्ट अब होटलमा बैठक बसे होटलमै गएर धर्ना दिने तयारी आफूहरूले गरेको जानकारी दिए।
सरकारले गत मङ्सिर २६ गते आफूहरूसँग १० बुँदे सहमति गरे पनि त्यसलाई कार्यान्वयन नगरेको संयोजक विष्ट बताउनुहुन्छ। सरकारले वार्ताको नाममा भित्रभत्रै षड्यन्त्र गरिरहेको आभाष आफूहरूलाई लागेको उनले बताए।
पार्टीका मुख्य नेताहरू पार्टी कार्यालयमा नआए पनि पार्टी प्रवक्ता अग्नि सापकोटा, कार्यालयका मुख्यसचिव हितराज पाण्डेलगायतका सिमित नेताहरू भने पार्टी कार्यालयमा आइरहेका छन्।
एमाओवादी पार्टी कार्यालयका मुख्यसचिव पाण्डेले अप्रमाणित लडाकुको अवरोधका कारण पार्टी अध्यक्ष पार्टी कार्यालय नआएको भन्ने भनाइ सही नभएको बताए। अध्यक्ष दाहाल कामको सिलसिलामा अन्यत्र व्यस्त भएकाले मात्रै पार्टी कार्यालय नआएको उनको भनाइ छ।
पाण्डेले अप्रमाणित लडाकुहरूको माग सम्बोधन भई सम्झौतासमेत भइसकेको बताउँदै भने– “उहाँहरूको माग पूरा गर्ने सहमति भइसक्यो तर त्यो छिटो कार्यान्वयन होस् भनेर दबाब दिनमात्रै उहाँहरू बस्नुभएको हो।” रासस

 

Leave a Reply

Your email address will not be published.