मोर्चाले फेरि भन्यो- भट्टराईकै नेतृत्वमा सहमतीय सरकार

ललितपुर- संयुक्त मधेसी मोर्चाले वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्णय गरेको छ। सानेपास्थित मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को कार्यालयमा आज बसेको मोर्चाको बैठकले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सहमतीय सरकारका लागि पहल गर्ने र त्यो मान्य नठहरिए अन्य विकल्पमा जाने निर्णय गरेको छ।
बैठकले भरसक अहिलेकै प्रधानमन्त्रीको नेतृत्वमा सहमतिको प्रयास थाल्ने, त्यो नभए सत्तारुढ गठबन्धनबाटै विकल्प खोज्ने र दुवैमा सहमति नभए अन्य विकल्पमा जान सक्ने निर्णय गरेको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिए।
उनका अनुसार बैठकले गत संविधानसभा मातहतको राज्य पुनःसंरचना आयोगले प्रस्तुत गरेको १४ प्रदेशको खाकालाई नै आगामी संविधानसभामा लैजाने तथा अब गठन हुने संविधान सभाको कार्यावधि पाँच वर्षको बनाउने निर्णय गरेको छ।
मोर्चाले जुनसुकै व्यक्ति प्रधानमन्त्री बनेपनि तोकिएकै समयमा संविधान सभाको निर्वाचन गराउन नसके उसले पद त्याग्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ। यस्तै संविधान सभा निर्वाचनका लागि २४० निर्वाचन क्षेत्र कायम गर्नुपर्ने र समानुपातिकको हकमा सहमतिको आधारमा निर्णय लिनुपर्ने मोर्चाको प्रस्ताव छ।
त्यसैगरी विस २०६४ को संविधानसभा निर्वाचनमा मतदानमा भाग लिएका मतदातालाई निरन्तरता दिइनुपर्ने र बाँकी उमेर पुगेकालाई पनि सहभागी गराइनुपर्ने मोर्चाले निर्णय गरेको छ। बैठकमा मोर्चा आबद्ध सबै दलका प्रमुख नेताहरु सहभागी थिए। रासस

Leave a Reply

Your email address will not be published.