म सहमतिको बाधक होइन, साधक हुँ : प्रधानमन्त्री भट्टराई

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आफू राष्ट्रिय सहमतिको बाधक भएको भनेर गरिएको प्रचार सोह्रैआना गलत भएको बताएका छन्। प्रम निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार गठन गर्न आफू बाधक नभएको दोहोर्‍याए। विघटित संविधान सभाले निर्वाचित गरेको वैधानिक सरकारको नेतृत्व आफैंले गरिआएको बताउँदै प्रधानमन्त्रीले वैधानिकतालाई नै सङ्कटमा पारेर नजाउँ भन्नेमात्रै आफ्नो भनाइ भएको स्पष्ट पारे।
प्रधानमन्त्री भट्टराईले भने, ‘राजनीतिक दलहरूबीच समग्रतामा सहमति नभई आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा हुँदैन। आफ्नो राजीनामा मात्रै निकासको बाटो होइन, पहिले समग्र विषयमा सहमति बन्नुपर्छ।’
आफूले कुनै नयाँ प्रस्ताव नराखेको र समग्र विषयमा सहमति भए पदबाट राजीनामा दिन तयार रहेको भनेर पटकपटक बताउँदै आएको स्मरण गराउँदै उनले कुनै वैधानिक आधार नभई राजीनामा दिएर देशलाई सङ्कटमा पार्न नसकिने धारणा राखे।
पार्टी अध्यक्ष र आफ्नो एउटै धारणा रहेको जानकारी दिँदै उनले भने, ‘पार्टीमा विवाद भएको र आफूले राजीनामा दिन नमानेको भनेर जसरी प्रचार गरियो, यो सोह्रैआना गलत हो, पार्टीमा कुनै पनि विवाद छैन, पार्टीको धारणा एउटै छ।’
वर्तमान सरकारमा नेपाली कांग्रेस र नेकपा(एमाले) सहभागी भएर राष्ट्रिय स्वरुप दिऔँ, निर्वाचनका लागि आवश्यक पर्ने ऐन, नियम कानुन पारित गरौँ, त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार गठन गरौं भन्ने प्रस्ताव आफ्नो विगतदेखिकै भएको समेत उनले जानकारी दिए।
प्रधानमन्त्रीले भने, ‘मेरो सफलता र असफलताको कसी भनेकै संविधान सभाबाट संविधान निर्माण गर्ने र जनताको अधिकार संस्थागत गर्नेमा रहन्छ। म यो प्रक्रियाबाट भाग्न सक्दिनँ, यो प्रक्रिया सुनिश्चित हुने अवस्था आयो भने म जुनसुकै बेला पनि पदबाट हट्न सक्छु।’
पार्टी बैठकमा सहभागी नभएको र पार्टीको निर्णय समेत नमानेको भन्नेमा पनि कुनै सत्यता नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण हिजोको बैठकमा सहभागी हुन नसकेको बताए। पार्टीले आफूलाई फिर्ता बोलाउने भन्ने कुरामा समेत सत्यता नभएको र त्यस्तो आलोकाँचो निर्णय पार्टीले नगर्ने उनको दाबी थियो।

प्रधानमन्त्री भट्टराईले भने, ‘आफू पहिले एमाओवादीको, दोस्रो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र तेस्रो सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको संयुक्त प्रधानमन्त्री छु र समग्रमा गरिने निर्णय नै मेरा लागि मान्य छ। अन्यथा के हल्ला चल्छ र कसले के भन्छ भन्ने कुराले कुनै अर्थ राख्दैन।’
पार्टीले समग्र प्रक्रियाका विषयमा प्रष्ट धारणा बनाएको र पार्टीभित्र कुनै पनि विवाद नभएको बताउँदै उनले भोलि बस्ने पार्टीको बैठकले अझ ठोस निर्णय गर्ने जानकारी दिए।
आगामी वैशाखमा संविधानसभाको निर्वाचन गर्नुपर्दछ भन्नेमा आफू प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक पर्ने ऐन नियमको तर्जुमा, संविधानको संशोधन, संवैधानिक निकायमा गर्नुपर्ने नियुक्ति, सत्य निरुपण तथा मेलमिलाप आयोग र सेना समायोजनमा बाँकी रहेको काम सम्पन्न हुने र राष्ट्रिय सहमतिको सरकारसमेत गठन हुने विश्वास व्यक्त गरे।
केही दिनभित्रै दलहरूबीच सहमति नभए आगामी वैशाखमा निर्वाचन गर्न नसकिने भएकाले विपक्षी दलहरूलाई हठ त्यागेर सहमतिमा आउन प्रधानमन्त्रीले आग्रह गरे। सञ्चारकर्मीहरूको एक फरक जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘पार्टीमा कुनै फरक लाइन छैन, पार्टीको आधिकारिक लाइन भनेकै शान्ति र संविधान हो।’ रासस

Leave a Reply

Your email address will not be published.