एपीएफ १३ गोलले विजयी

धनगढी- आफ्नो अपराजित यात्रालाई कायम राख्दै विभागीय टोली एपिएफ यहाँ जारी प्रथम महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको आजको खेलमा विजयी भएको छ। स्थानीय रङ्गशालामा आज भएको खेलमा एपिएफले पश्चिमाञ्चललाई १३–० भारी गोलअन्तरले पराजित गरेको हो। एपिएफका लागि अणु लामाले चार, प्रमिला राईले तीन, तेजकुमारी गुरुङले दुई गोल तथा रञ्जना दर्जी, उषा भण्डारी, शोभा कुँवर र अनिता बस्नेतले समान एक एक गोलको योगदान गरेका थिए।

आजको तेस्रो जितसँगै एपिएफ नौ अङ्कका साथ शीर्ष स्थानमा छ। पश्चिमाञ्चलले भने तीनै खेलमा हार बेहोर्दै अङ्कतालिकामा अङ्क जोडन सकेको छैन। आजै भएको दोस्रो खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ४–१ ले पराजित गर्‍यो।
मध्यमाञ्चललाई जित दिलाउन सपना लामा र रोशनी रखायलले दुई दुई गोल गरे भने मध्यपश्चिमाञ्चलका सपना गोलेले १ गोल फर्काइन्। जितसँगै मध्यमाञ्चलले दुई जित र एक हारका साथ अङ्क तालिकामा छ अङ्क जोडेको छ।

भोलिको पहिलो खेल घरेलु टोली सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलबीच र दोस्रो खेल नेपाल पुसिल र त्रिभुवन आर्मीबीच हुनेछ। रासस

Leave a Reply

Your email address will not be published.