दलहरुले देशलाई नेतृत्व दिन सकेनन् : थापा

धनगढी- राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता अभियानले निर्माण हुने राष्ट्रवादी प्रजातान्त्रिक शक्तिले नै मुलुकलाई नयाँ दिशानिर्देश गर्ने बताएका छन्। राप्रपा र राजपाको एकता अभियानको सिलसिलामा धनगढी आएका थापाले आयोजित पत्रकार सम्मेलनमा अहिलेका प्रमुख राजनीतिक दलहरु देशलाई नेतृत्व दिन असफल भएको आरोप लगाउँदै नयाँ प्रजातान्त्रिक शक्तिले देशलाई सही दिशामा डोर्‍याउने दाबी गरे। 
पत्रकारहरुको प्रश्नमा उनले दलहरुबीच भएको पाँचबुँदे सहमतिअनुरुप अब सरकारको नेतृत्व गर्ने पालो नेपाली काँगे्रसको हुनुपर्ने बताए। वैशाखमा निर्वाचन सम्भव तुल्याउन सबै दल एकजुट भएर अघि बढ्नुपर्ने र राजनीतिक सहमतिले नै विद्यमान समस्याको समाधान गर्ने उनको भनाइ थियो।
त्यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले दुई पार्टीको एकताको लक्ष्य राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई बलियो पार्दै लैजानु रहेको बताए। गणतन्त्र र राजतन्त्रबीचको मध्यमार्गी बाटो खोज्ने प्रयास भए पनि त्यो सम्भव नभएका कारण अब आफ्नो पार्टी स्पष्टरुपमा गणतन्त्रको पक्षमा उभिएको हो, उनले भने। रासस

Leave a Reply

Your email address will not be published.