अमेरिकामा भएको गोली प्रहारमा २० बालबालिकासहित २७ मारिए

एजेन्सी – एक युवकले अमेरिकाको न्युटाउनस्थित एक स्कुलमा जथाभावी गोली चलाउँदा २० स्कुले केटाकेटीसहित २७ जनाको मृत्यु भएको छ। दुई सेमी अटोमेटिक पेस्तोल चलाएर २६ जनाको ज्यान लिएपछि युवकले आफूलाई पनि गोली ठोकेका थिए। प्रहरीले गोली चलाउने २० वर्षीय एडम लेन्ज रहेको जनाएको छ। उनले स्यान्डी हुक इलिमेन्टरी स्कुलमा गोली चलाएका थिए। दुईवटा कक्षामा गएर अन्धधुन्ध गोली हानेका थिए।

प्रहरीले गोली चलाउने व्यक्तिसँग रहँदै आएका एक अर्का व्यक्तिको शव उनी बस्ने ठाउँमा फेला पारेको छ। गोली चलाउनुको कुनै कारण पहिचान हुन सकेको छैन। गोली चलाउने एडमकी आमा पनि उनको शिकार भएकी छिन्। आमासँगै बस्दै आएका उनले बिहान आमालाई गोली ठोकेर स्कुलतिर गएका थिए। मारिनेमा ७ जना वयस्क छन्।

अमेरिकी राष्ट्रपति वाराक ओवामाले रुँदै यो हत्याकाण्डले आफूलाई विक्षिप्त पारेको जनाएका छन्। अमेरिकामा यसप्रकारको यो दोस्रो ठूलो हत्याकाण्ड हो। सन् २००७ मा भर्जिनियामा यस्तै हत्याकाण्डमा परी ३३ जनाले ज्यान गुमाएका थिए।

Leave a Reply

Your email address will not be published.